सांसद सिंहको आरोपः प्रधानमन्त्रीले गृहमन्त्रीलाई काम गर्न दिएनन्, म कतिचोटि सर्ट खोल्नु ?

सांसद सिंहको आरोपः प्रधानमन्त्रीले गृहमन्त्रीलाई काम गर्न दिएनन्, म कतिचोटि सर्ट खोल्नु ?

काठमाडौँ : स्वतन्त्र सांसद अमरेश सिंहले संसदमा भ्रष्टाचारका फाइल खुले पनि गृहमन्त्रीले काम गर्न नपाएको प्रति गुनासो गरेका छन्। 

आज प्रतिनिधिसभा बैठकमा उनले भने, 'आज खुसी लाग्या छ कि तीनदलीय सिन्डिकेटबाट संसदले मुक्ति पाएको छ। जनताले मुक्ति पाएका छन्। जनताको सवाल उठाउन पाइएको छ।'

उनले थपे, 'यो भ्रष्टाचारको फेहरिस्त यस्तो छ कि भ्रष्टाचारको फाइल खुल्छ, माथि पुग्न पुग्न लाग्दा बन्द हुन्छ, गृहमन्त्रीज्यु यहीँ हुनुहुन्छ।' 

सांसद सिंहले भुटानी शरणार्थी र सुन तस्करीबारे सदनमा प्रश्न उठाए। उनले सोधे, ‘के भुटानी प्रकरणमा त्यति मात्र थियो इन्भल्प ? के सरकारको संलग्नता हुनेबित्तिकै बन्द गर्नुपर्ने ? के ललिता निवासको कानमा सर्वोच्च अदालतले आदेश दिनैपर्ने ? आखिर सर्वोच्च अदालतको आदेश दिनुभन्दा पहिला सीआईबीकहाँ थियो। भर्खर सांसदहरू सरकारको दुहाई गर्दै हुनुहुन्थ्यो। 

नेपाली गरिब किन भए ? नेपाली युवा पलायन किन भए ? उनले प्रश्न गरे। 

'जब कुनै घटना हुन्छ तीन दलको बैठक हुन थाल्छ घटनाभन्दा पहिला किन बैठक हुँदैन ? तीनदलीय शीर्ष नेताको चाहे सुनकाण्ड होस् चाहे भुटानी शरणार्थी काण्ड होस् चाहे ललिता निवास काण्ड होस् त्यतिबेला एकदम गहन छलफल हुन थाल्छ। र संसद अवरुद्ध हुन्छ। अनि यहाँ बोल्न पाइँदैन।’ 

अनि बाध्य भएर संसदमा सर्ट खोल्नुपरेको उनले बताए। भने, अब कतिचोटि सर्ट खोल्ने ? कि जनताको आवाजलाई।' 

उनले गृहमन्त्रीतर्फ लक्षित गर्दै भने, ‘कि गृहमन्त्रीको नियतमा शंका छैन, तर गृहमन्त्रीलाई काम गर्न दिने वातावरण छैन,’ सरकारले गृहमन्त्रीसमेत काम गर्न नदिएको उनले आरोप लगाए।

नेपालमा पहिलोचोटि भ्रष्टाचारको मामलामा केही व्यक्तिहरू जेल गएको उनले बताए। आफू चारचोटि संसद् हुँदा पहिलो पटक यसरी भ्रष्टाचारी जेल गएको भन्दै पहिला तैं चुप मै चुपमा भ्रष्टाचारी लुकाएको उनले बताए। 

'यहाँ सर्वदलीय भ्रष्टाचार छ। हाम्रा सांसदहरूले दुहाइ दिँदै भनेका छन् यहाँ सम्पत्ति शुद्धीकरण छ, तर म दाबाका साथ भन्छु अहिले सत्ताधारी पार्टीको प्रधानमन्त्री हुँदा ४० जनामाथि मुद्दा चलाउन फाइल लिएर जाँदा भोलि सम्पत्ति शुद्धीकरणको डीजीको सरुवा भएको छ, के सम्पत्ति शुद्धीकरण कति न्यायिक छ हामी बुझ्दैनौँ ? सीआईबी कति न्यायिक छ हामी बुझ्दैन ?' 

२३ साउन, २०८०, १८:१४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।