संसद खुलाउन सभामुखसहित बसेको बैठक निष्कर्षविहीन, प्रधानमन्त्रीले मागे थप समय

संसद खुलाउन सभामुखसहित बसेको बैठक निष्कर्षविहीन, प्रधानमन्त्रीले मागे थप समय

काठमाडौँ : सभामुख देवराज घिमिरे र तीन दलका शीर्ष नेताबीच संसद खुलाउन भएको छलफल बिनानिष्कर्ष टुंगिएपछि प्रधानमन्त्री एक घण्टाका लागि समय मागेका छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरी संयन्त्र बनाउनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेपछि तीन सभामुखसहित तीन दलका शीर्ष नेता बैठकमा जुटेका थिए। 

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको छलफलमा नेताहरूबीच सहमति हुन सकेन। 

आजको छलफलमा प्रधानमन्त्री प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिए।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शीर्ष नेताहरूबीच छलफल सकारात्मक रहे पनि बिनानिष्कर्ष टुंगिएको बताए।

‘आजै अपराह्न साढे ३ बजे नयाँ बानेश्वरमा फेरि शीर्ष नेताहरूबीच बैठक गर्ने गरी अहिले उठेका छौं,’ लेखकले भने, ‘प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेबारे नै कुराकानी भयो। सूचना टाँसेर आजै अपराह्न ४ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गर्ने कुरा पनि भएको छ।’

दलहरू सहमतिमा नपुगेका कारण सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेका लागि सारिएको छ। यसैबीच प्रधानमन्त्री प्रचण्डले गठबन्धनभित्र आन्तरिक छलफल गर्न भनी एक घण्टाको समय मागेका थिए। 

२२ साउन, २०८०, १५:०२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।