मेचीनगर डेंगु बढ्यो, नगरपालिकाले थाल्यो ‘लार्भा खोज र नष्ट गर’ अभियान

मेचीनगर डेंगु बढ्यो, नगरपालिकाले थाल्यो ‘लार्भा खोज र नष्ट गर’ अभियान

मेचीनगर : झापाको  मेचीनगर नगरपालिकाले डेंगु संक्रमण फैलन नदिन ‘लार्भा खाेज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ।

पछिल्लो समय झापासहित देशैभर फैलिँदै गएको डेंगु रोगको संक्रमण नगरमा फैलन नदिन नगरपालिकाले लार्भा खाेज र नष्ट गर अभियान सञ्चालन गरेको हो।

नगरपालिकाले शुक्रबार मेचीनगर-६ स्थित काँकरभिट्टा बजारसहित विभिन्न टाेलहरूबाट सरसफाइ गरेको हो। यो अभियान नगरको १५ वटै वडामा सञ्चालन हुने मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा (निरौला)ले जानकारी दिइन्।

मेचीनगर-७ ले बिहीबार (हिजो) प्यारीभिट्टाको नयाँ बसपार्क, वडा कार्यालय, मेचीनगरको प्रवेश मार्ग र नगरपालिकाको कार्यालय परिसरलगायत सार्वजनिक स्थलहरूमा सरसफाइ गरेको थियो।

मेचीनगर-७ का वडाध्यक्ष प्रल्हादमणी ओलीको संयोजनमा वडा क्षेत्रका सार्वजनिक स्थल सरसफाइ अभियान सञ्चालन गरिरहेको छ। सरसफाइ अभियानको अगुवाइ स्थानीय हाकिम तिम्सिनाले गरिरहेका छन्।

केही सातादेखि नगर क्षेत्रमा उच्च ज्वरो आउने, आँखा पाक्ने रोग, डेंगु लगायतका बिरामी बढिरहेका छन्।

१९ साउन, २०८०, २१:००:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।