पश्चिम सुर्खेतमा यातायात व्यवसायीको सिण्डिकेट, यात्रु मारमा

पश्चिम सुर्खेतमा यातायात व्यवसायीको सिण्डिकेट, यात्रु मारमा

सुर्खेत : गंगा सलामी सामुदायिक स्वास्थ केन्द्र चौकुने गाउँपालिका–३ शोभानचौरमा कार्यरत स्वास्थ्यकर्मी हुन्। उनी विगत एक महिनादेखि स्वास्थ्य केन्द्रका लागि आवश्यक पर्ने सामग्री लिन पालिकाको केन्द्र गुटुमा आइरहन्छिन्।

कहिले चार घण्टा पैदल हिँडेरै गुटु आउने उनी कहिलेकाहिँ भने ट्याक्टर र सामान लिएर गएका गाडीमा जान्छिन्।

विगत ३५ दिन यता सुर्खेतस्थित यातायात व्यवसायीले पश्चिम सुर्खेतको चौकुने गाउँपालिकासम्म गाडी नपुग्दा आजकल उनको यात्रा पीडादायी बनेको छ।

‘पालिकामा स्वास्थ्य सामग्री लिन आइरहनपर्छ तर ३५ दिनयता यातायात व्यवसायीले बस र हाइस पठाउँदा सास्ती भोग्नुपरेको छ,’ सलामीले भनिन्, ‘कहिले सामान लिएर आएका गाडीमा त कहिल्यै ट्याक्टर भेटिए झुण्डिएर भए पनि जान्छु। त्यहाँ पनि औषधि फुट्छन्। कहिले आफूलाई चोट लाग्छ। केही नभेटिए हिँडेरै जान्छु।’

वीरेन्द्रनगरदेखि विद्यापुरसम्म हाइसमा आएको र त्यसभन्दा अगाडि करिब ५५ किलोमिटर हिँडेरै जान थालेको चौकुने १ धनरासकी लक्ष्मी कठायतले बताइन्। बाटो राम्रो हुँदा—हुँदै गाडी अगाडि नजाँदा तीन दिन पैदल हिँडेर वीरेन्द्रनगर गएको उनले बताइन्।

‘विद्यापुरभन्दा अगाडि गाडी जाँदैन भनेर त्यहि झारीदिन्छन्। घरबाट आउँदा पनि तीन दिन पैदल हिँडेर गाडी छोप्न आउनपर्छ,’ उनले भनिन्, ‘कहिँ सामान लिएर आएका गाडी भेटिए पनि चलेको भाउ भन्दा तेब्बर बढी भाडा भन्छन्। अनि पैदल हिँडेर घर जान लागेको।’

बाटो राम्रो भए पनि बिचौलियाको कमाइ मोहले चौकुनेका नागरिकले यस्तो सास्ती भोग्नुपरेको यचौकुने गाउँपालिका-८ का स्थानीय मानबहादुर श्रेष्ठले बताए।

‘बाटो राम्रो छ तर यहाँ त यातायात व्यवसायीको सिण्डीकेटका कारण नागरिकहरू मारमा परेका छन्,’ श्रेष्ठले भने, ‘निजी गाडी आउने सार्वजनिक किन नआउने? निजीले दुई सय भाडा चलेको ठाउँमा पाँच सय लिन पाएका छन्। यो मिलेमतो र बिचौलियाले दिएको सास्ती हो।’

विगतका वर्षहरूमा गाडी धकेलेर भए पनि चौकुनेमा पुर्याउने व्यवसायीको व्यक्तिगत स्वार्थका कारण नागरिकहरू मारमा परेको चौकुने–६ का रतन विकले बताए। यातायात व्यवसायीहरूको साझा निर्णयले आफूहरू विद्यापुरसम्म मात्रै आउने गरेको चालक प्रेम दाहालले बताए।

‘संयुक्त व्यवसायीहरूको साझा निर्णयका कारण मात्रै हामीले यहाँसम्म ल्याएका छौं। यदि मनोमानी गरे त क्यूँ रोक्का हुन्छ,’ आफैँ गाडी साहु र चालक रहेका दाहालले भने, ‘माथिबाटै जानुपर्ने आदेश आए हामी जान तयार छौं।’

त्यस्तै संयुक्त यातायात व्यवसायी पश्चिम रुटका इन्चार्ज गणेश गुरुङले बाटो बिग्रेको भन्ने सुचनाका आधारमा विद्यापुरभन्दा उता नजाने निर्णय भएकोले गाडी अगाडी जान नसकेको तर्क गरे।

‘बाटोको अवस्था अलि बिग्रेको छ भनेपछि संयुक्त यातायात व्यवसायी समितिले नै निर्णय गरेपछि विद्यापुरसम्म मात्रै गाडी छुटेका छन्,’ इन्चार्ज गुरुङले भने, ‘अब बाटो ठिक छ भनेर फेरि पठाउने निर्णय भएपछि हामी त्यहाँ गाडी पुर्याउँछौँ।’

सुर्खेतस्थित विभिन्न यातायातहरूलाई मर्ज गरेर पछिल्लो समय संयुक्त यातायात व्यवसायी समिति बनाइएको छ। महिना महिनामा समितिको नेतृत्व चयन हुन्छ। पश्चिम क्षेत्रको बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका लागि वीरेन्द्रनगरबाट विभिन्न समयमा ११ वटा साना ठूला गाडीहरू छुट्ने गरेका छन्।

सुर्खेतको पश्चिम क्षेत्र बराहताल गाउँपालिकाको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडेसम्म, खम्बागाडेदेखि पञ्चपुरी-९ विद्यापुरसम्म र विद्यापुरदेखि चौकुने-४ बल्देसम्म तीन खण्डमा मदन भण्डारी राजमार्ग अन्तर्गत काम भइरहेको छ।

यातायात व्यवसायीले पञ्चपुरी-९ विद्यापुरसम्म मात्रै सेवा दिँदा चौकुने गाउँपालिकाका नागरिकहरू यातायात सेवाबाट बञ्चित भएका छन्। बड्डीचौर खम्बागाडे सडकखण्ड भन्दा अझै राम्रो हुँदा पनि व्यवसायीको उपेक्षाले नागरिकले तीन दिन बढी पैदल यात्रा गरेर प्रदेश राजधानी जानुपर्ने बाध्यता रहेको चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोलाले बताए।

‘खासगरी प्रदेश राजधानीबाट एक सय किलोमिटर टाढा रहेको चौकुने भौगोलिक अवस्थाले दुर्गम छ। यहाँ साउन र भदौ महिनामा भोकमारीसमेत हुन्छ,’ उपाध्यक्ष बास्तोलाले भने, ‘त्यति मात्रै है १, २, ३ नम्बरबाट आउने मानिसहरूका लागि पालिका पनि टाढा छ। यातायात व्यवसायीले सडकको बहाना बनाएर यहाँका नागरिकलाई धोका दिएका छन्। यो राम्रो होइन्।’

चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक (विवश)ले बाटोमा कुनै खराबी नभएको बताए। त्यस्तो अवस्था भए पालिकाले हरबखत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दा पनि व्यवसायीको निजी स्वार्थका कारण यातायातमा चौकुनेवासीले समस्या भोग्न परेको उनले बताए।

‘गाडी आउन यहाँसम्म केही समस्या छैन। केही समस्या भए पनि पालिकाको डोजर र टिप्पर लगाएर पनि सहज गरौंला भनेर बारम्बार भनेका छौं। तर, बिचौलियाले महँगोमा लिन पाएपछि यस्तो अवस्था आएको हो,’ अध्यक्ष विकले भने, ‘निजी गाडी र बोलेरो, टिप्पर आउन सक्ने यातायात व्यवसायीका गाडी मात्रै नआउनुले पनि प्रष्ट बुझाउँछ की यहाँ व्यक्तिगत स्वार्थ बढी छ। बिग्रेका ठाउँमा हामीले बनाएका छौँ।’

उनले बिचौलिया र दलालका कारण चौकुनेमा आउने अन्य यातायातलाई समेत व्यवसायीले सिण्डिकेट लगाएको त्यसको प्रभाव बिरामी, सुत्केरी र उपभोक्तामा परेकोले यसको समाधान तर्फ नियामक निकायले पनि सोच्नुपर्ने बताए।

विद्यापुरदेखि बल्देसम्मको २२ किलोमिटरमा यातायात जान कुनै असहज नभएको ठेकेदार कम्पनी मोतिदान कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि अभिनय घिमिरे बताए। उनका अनुसार १६ किलोमिटर सडकखण्डमा साइड क्लिएर, ह्यूम पाइप हाल्ने काम सकिएको र २०८१ असारसम्म ग्राभेल बिच्छाइनेछ।

​​​​​​​सम्झौता मितिभन्दा अगावै आयोजना सम्पन्न गर्नेगरी कम्पनीले काम अगाडि बढाएकोे उनले बताए।

‘बाटोमा कुनै समस्या छैन। हामीले केही ठाउँमा अवरोध भए पनि तत्काल सञ्चालन गछौँ,’ प्रतिनिधि घिमिरेले भने, ‘हाम्रा टिप्पर र गाडीहरू मज्जाले चलिरहेका छन्। बाटो बिग्रेपछि त हामीलाई पनि समस्या हुन्थ्यो नि!’

२०४८ सालदेखि कहिले बाटो नबनेर त कहिले बाटो बनेर पश्चिम सुर्खेतका नागरिकले यातायात क्षेत्रमा सास्ती भोग्दै आएका छन्।

१७ साउन, २०८०, २२:०६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।