तीन हजार धरौटीमा छुटिन् अध्यक्षलाई थप्पड हान्ने उपाध्यक्ष

तीन हजार धरौटीमा छुटिन् अध्यक्षलाई थप्पड हान्ने उपाध्यक्ष

सुर्खेत : जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्षलाई थप्पड हानेपछि पक्राउ परेकी उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी)आठ दिनपछि रिहा भएकी छन्।

आइतबार जिल्ला प्रशासन कार्यालय जुम्लाले मल्ललाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा तीन हजार रुपैयाँ धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी प्रल्हाद कार्कीले जानकारी दिए।

‘असार ३१ गते जाहेरी परेपछि त्यहि दिन पक्राउ गरेका थियौँ। अनुसन्धान सकेर अभियोजन सरकारी वकिलको कार्यालयमा बुझायौं,’ डिएसपी कार्कीले भने,  ‘त्यहाँबाट अभियोजन जिल्ला प्रशासनमा गएपछि आइतबार तीन हजार धरौटी तिरेर उहाँ छुट्नुभयो।’

गत असार ३१ गते दिउँसो उपाध्यक्ष मल्लले गाउँ कार्यपालिकाको बैठकमा अध्यक्ष दानबहादुर बुढालाई मनोमानी गरेको भन्दै थप्पड हानेकी थिइन्।

अध्यक्ष बुढाले सोही दिन नै जिल्ला प्रहरी कार्यालय जुम्लामा आफुलाई कुटपिट गरेको भन्दै अभद्र व्यवहार सम्बन्धी जाहेरी दर्ता गराएपछि तत्कालै मल्ललाई प्रहरीले पक्राउ गरेको थियो।

त्यसपछि प्रहरीले मागेअनुसार जिल्ला प्रशासन कार्यालयले पाँच दिन म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उपाध्यक्ष मल्लले आफूमाथि भएको अत्याचार सहन नसकेर हातपात गर्न बाध्य भएको प्रतिक्रिया दिएकी थिइन्।

अध्यक्ष बुढा नेपाली कांग्रेसबाट र उपाध्यक्ष मल्ल एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधि हुन्।

८ साउन, २०८०, १९:०९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।