अभिनेता शीतल : राजेश हमाल जस्तै देखिन्छन्, तर ‘डुब्लिकेट राजेश’ भन्दा रिसाउँछन्

अभिनेता शीतल : राजेश हमाल जस्तै देखिन्छन्, तर ‘डुब्लिकेट राजेश’ भन्दा रिसाउँछन्

काठमाडौं : टेलिफिल्म,फिल्म र म्युजिक भिडियोमा कुनै समय जमेका नायक थिए शितल केसी।

२०६१ सालमा ‘गहना’टेलिफिल्मबाट अभिनय यात्रा थालेका उनले लगातार ‘वंश','तिमी पुरुष,'भाग्य आ-आफ्नो, 'शंका’ लगायत दर्जनौँ सिरियलमा अभिनय गरेका थिए।

टेलिफिल्ममा चर्चित बनेका केसीले फिल्म ‘जाल', द्वन्द्व','त्रिदेव','हाम्री चेली','आफन्तको माया' र ‘मेरो राजेश दाइ’ लगायतमा अभिनय गरेका थिए। 

उनी अभिनित फिल्म ‘मेरो राजेश’दाइले उनलाई सर्वाधिक उचाइमा पुर्याएको थियो। यही समयमा उनले दोस्रो म्युजिक भिडियो ‘झ्याइँ पारुम् निरुता’गीतमा अभिनय गरे। जसले उनलाई नेपाली दर्शकमाझ थप परिचित गराएको थियो।

सयौँ लोक तथा दोहोरी गीतमा अभिनय गरेका उनै शितल केसी पछिल्लो समय भने गुमनाम छन्। उनी कहाँ छन् ? के गर्दैछन् ? यस्तै विषयमा उकेराकर्मी भोला अधिकारीले गरेको कुराकानीको अंशः

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

अहिले म्युजिक भिडियो तथा टेलिफिल्ममा नै व्यस्त छु। चलचित्र कलाकार संघको सदस्य भएको हुनाले संस्थाको कामले पनि हिँडिरहेको हुन्छु। यस्तै काममा अलमल भइरहेको छु भन्नुपर्यो। 

तपाईं काम गर्दागर्दै हराउनुभयो नि, किन ?

म कहीँ कतै हराएको छैन। नेपालमा नै बसिरहेको छु र मेरो कर्म निरन्तर पनि गरिरहेको छु। सबै कर्म पनि सफल नहुँदा रहेछन्। भूकम्पको समयमा केही समय काममा अवरोध भयो। त्यसपछि पनि निरन्तर मैले काम गरिरहेको छु। 

काम गरिरहेको छु भन्नु भयो,तर बाहिर त देखिएन नि ?

मेरो गीतको मार्केट भएन। आफ्नो भागमा राम्रा गीत नपरेर पनि होला दर्शक स्रोताले रुचाउनुभएन। राम्रो भएको भए त पुरानै लयमा फर्किहाल्थेँ नि। 

अरू कलाकारहरूले झैँ तपाईंलाई पनि कन्ट्रोभर्सी चलाऊँजस्तो लागेन ?

म कर्ममा रमाउने कलाकार हो। कन्ट्रोभर्सी ल्याउनैपर्छ भन्ने छैन र मलाई त्यो मन पनि पर्दैन। त्यो जरुरी पनि छैन। म त्यसरी यो क्षेत्रमा प्रवेश गरेको पनि होइन। 

तपाईंको फिल्म बजारमा प्रवेश कसरी भयो ? 

मैले अभिनय गरेको पहिलो सिरियल ‘गहना’का दर्शक हुनुहुन्छ भने मैले केही भन्नै परेन। किनभने उहाँहरूले थाहा पाइसक्नुभएको छ। ६१ सालमा नेपाल टेलिभिजनबाट एउटा पारिवारिक कथामा ‘गहना’ सिरियल बनेको थियो। त्यसमा निकैपछि मेरो प्रवेश भएको थियो। यो सिरियलमा एक सिन खेल्न गएको थिएँ। खेलेको ३ दिनमा प्रशारण भएपछि दर्शकमाझ चर्चा भयो।

यसैको प्रभावले मैले ‘वंश’ भन्ने सिरियलमा काम गर्ने मौका पाएँ। त्यसपछि त मेरो व्यस्तता बढिहाल्यो। तर, फिल्म खेल्छु,टेलिफिल्म खेल्छु भनेर यो क्षेत्रमा आएको चाहिँ थिइनँ। संयोग मान्नुपर्छ। 

कलाकारले भिडियोमा काम गरेबापत पारिश्रमिक नपाउने गरेको गुनासोहरू आउने  गरेका छन्। के कलाकारिता क्षेत्रमा यस्तो समस्या छ र ? 

कलाकारितामा पारिश्रमिक सरकारी रेट जस्तो ठ्याक्कै हुँदैन। निर्माता र कलाकारबीच आपसी सम्झौतामा हुने कुरा हो। अर्को कुरा सबै कलाकारहरू डिमाण्डेड पनि छैनन्।

डिमाण्डेट कलाकारहरूले पनि सम्झौताअनुसार पारिश्रमिक पाएका छैनन् भने अरूको के होला । यस्ता समस्याहरू कुराकानीबाटै समाधान भएका छन्। 

अभिनेताको हिसाबले अहिलेको फिल्मी बजारलाई कसरी हेर्नुभएको छ? 

समाज परिवर्तनदेखि लिएर अहिलेका लाइफ स्टाइल परिस्थिति र परिवेशअनुसार परिवर्तन भइरहेका छन्। नेपाली चलचित्र क्षेत्र पनि परिवर्तन भइरहेका छन्। कलाकारदेखि लिएर अहिले टेक्नोलोजी पनि परिवर्तन भएका छन्। हाम्रा पालामा खेल्ने कथा र अहिलेकोमा निकै फरक छ। त्यो बेलामा बनेका फिल्महरूलाई त्यही बेलाका कथाहरू सुहाएका थिए। 

मैले बजारको कुरा गरेको नि

अहिलेको फिल्म बजार खुम्चिएको पाउँछु। त्यो बेलामा रमाइलो गर्ने कुनै बाटो नै थिएन। फिल्म हल धेरै थिए, दर्शकको भीड नै हुन्थ्यो। अहिले सिनेमा घर सपिङ मलमा आएर खुम्चिएको छ। अहिले दर्शक नेपाली फिल्म मात्र हेरेर बस्दैनन्। यसकारण अहिले मौलिक कथामा फिल्म बनायो भने चल्छ नत्र डुबिन्छ। 

अहिलको समयमा फिल्म नचल्नुमा कसको बढी हात छ,निर्देशक,कलाकार र फिल्मको कथामा ? 

यही भन्ने छैन। हामीले दर्शकको मनोभावलाई बुझेर फिल्म बनाउन सके चल्छ। यदि बुझ्न सकेनौँ भने चल्दैन। कुनै समय राजेश हमाल दाइले सानो रोल खेल्दा पनि फिल्म चल्थ्यो। अहिलेको समयमा चलेकै स्टारले फिल्म खेल्दा पनि चल्दैन।समयअनुसार बुझेर फिल्म बनाउन सके चल्छ। 

राजेश हमालको कुरा निकालिहाल्नुभयो,तपाईंलाई राजेशको भाइ भनेर दर्शकले चिन्ने गरेका छन्,कस्तो लाग्छ? 

मलाई त राम्रो लाग्छ। राजेश हमाल जस्तो व्यक्तित्वसँग मेरो नाम जोडिनु त खुसीको कुरा हो। तर म डुब्लिकेट राजेश भने हैन। डुब्लिकेट राजेश भन्दा चित्त दुख्छ। डुब्लिकेट भनेको त राजेशदाईको नक्कल गर्ने हो नि। मैले नक्कल गरेको छैन।अहिले त दर्शकले शितल भनेर नै चिन्न थाल्नुभएको छ। 

अन्त्यमा नेपाली दर्शकका लागि अबको कोसेली के आउँदैछ ? 

अहिले नयाँ फिल्म ‘छोडी नजाऊ’ को थालनी हुन लागेको छ। यसको गृहकार्यमा व्यस्त छु। यो फिल्मका साथसाथमा म्युजिक पनि हुन्छ।

६ साउन, २०८०, १४:५०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।