भुटानी शरणार्थी प्रकरण : साना फरार मात्रै फन्दामा, दोस्रो चरणको अनुसन्धान सुस्त

भुटानी शरणार्थी प्रकरण : साना फरार मात्रै फन्दामा, दोस्रो चरणको अनुसन्धान सुस्त

काठमाडौँ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपित केशव तुलाधर पक्राउ परे।

अभियोग लागेलगत्तै फरार उनी पाको न्युरोडमा रहेको डेगा बचत तथा ऋण सहकारी संस्थाका सीईओ हुन्।

उनी पहिलो चरणकै अनुसन्धानमा खुलेका व्यक्ति हुन्। उनले अमेरिका लैजाने भन्दै असुलेको डेढ करोड रकम सहकारीको खातामा देखिएको थियो। त्यही सहकारीमा काम गर्ने एक जनाले नक्कली भुटानी बनेर अमेरिका जान सहकारीको खातामा ३५ लाख रुपैयाँसमेत हालेको खुले पनि तुलाधर फरार थिए। 

उनी भारत पुगेका थिए। भारतमा लुकेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई असार २७ गते पक्राउ गर्यो। कार्यालयले उनलाई काठमाडौँको सानो भर्याङबाट पक्राउ गरेको दाबी गरेको छ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनलाई ठगी तथा संगठित अपराध कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ।

पहिलो चरणको अनुसन्धानमा १६ जना थुनामा गएका थिए। १२ जना फरार र २ जना धरौटीमा रिहा भएका थिए।

प्रहरीले केही दिन अगाडि सोही प्रकरणमा पहिलो चरणकै अनुसन्धानमा संलग्न देखिएका आशीष बुढाथोकी पक्राउ परिसकेका छन्। 

फरारहरूमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार इन्द्रजितका छोरा निरज, अशोक पोख्रेल, धिरेन राई, मोहन राई, दीपा हुमागाईं,  सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जनकुमार खरेल र राजेश अर्याल फरार छन्।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, आङटावा शेर्पा, शमशेर मियाँ र हरिभक्त महर्जन पुर्पक्षका लागि थुनामा गए।

टंक गुरुङ र लक्ष्मी महर्जन भने क्रमशः १० लाख र ५ लाख धरौटीमा रिहा भए।

उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार चार वटा कसुरमा २८ करोड ८१ लाख रुपैयाँ विगो, ठगीको रकम फिर्ता र कैद सजाय मागदाबीसहित मुद्दा दर्ता भएको थियो।

के भइराखेको छ दोस्रो चरणको अनुसन्धान ? 

प्रहरीले तीन महिना लगाएर अनुसन्धान गर्दा पनि पोलिएकाहरूबारे अनुसन्धान सकिएन। पक्राउ परेकाहरूको बयानबाट उच्च तहका अधिकारी र केही बिचौलियाको नामसमेत पोलिएको थियो। केहीको अडियोसमेत बाहिरियो। तर उनीहरूलाई प्रतिवादी बनाइएन। 

पोलिएकाहरूको नाम प्रतिवादीमा नरहेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीहरूबारे दोस्रो चरणमा अनुसन्धान गरेर पूरक प्रस्तावित राय ल्याउन निर्देशन दियो। सम्बन्धित प्रहरी कार्यालयले समेत दोस्रो चरणको अनुसन्धान सुरु गरिएको दाबी गरेको थियो।

असार २ मा थुनछेक बहस सकिएको थियो। त्यसैलाई आधार मान्ने हो भने पनि दोस्रो चरणको अनुसन्धान सुरु भएको लगभग एक महिना टेक्यो। यो बीचमा पहिलो चरणमै फरार रहेका दुई जना पक्राउबाहेक थप उपलब्धि देखिएको छैन।

दोस्रो चरणको अनुसन्धानमा को को ?

पहिलो चरणको अनुसन्धानमा पूर्वउपप्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म थुनामा पुगे। दोस्रो चरणको अनुसन्धानको सूचीमा पनि प्रभावशालीहरू नै छन्। पक्राउ बिचौलियाहरूबाट पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापा, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपाने, प्रहरी प्रतिवेदनमा उल्लेख भएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यका सचिव राजेश्वर स्थापित, पूर्वप्रधानमन्त्री ओलीका सल्लाहकार डा. अजयक्रान्ति शाक्यको नाम पोलिएको छ। 

आरोपीहरूले बयानमा नेपाली कांग्रेसकी सांसद आरजु राणा अनि मञ्जु खाँणको नाम नलिए पनि यी दुवैले पैसा लिएको अडियो क्लिप बाहिरिएको थियो। आरजुले सो क्लिपबारे अनुसन्धान गर्न प्रहरीमा निवेदन दिइन्। निवेदनअनुसार अनुसन्धानमा सो क्लिपमा रहेको एक आवाज अहिले कारागारमा रहेका सन्देश शर्मासँग मिल्यो। यसले मञ्जु र आरजु समेत दोस्रो चरणको अनुसन्धानमा तानिने देखिन्छ। 

के गर्दैछ प्रहरी ?

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँ संलग्न छन्। फरार अभियुक्तको खोजी र दोस्रो चरणमा संलग्नहरूविरुद्ध प्रमाण संकलनमा दुवै कार्यालय संलग्न देखिन्छन्। 

अनुसन्धानको पाटोमा कार्यालय सक्रिय देखिएको छ भने अभियोजन र प्रमाणमा जिल्ला प्रहरी कार्यालय। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूसँगको अनौपचारिक कुराकानीमा अहिले पहिलो चरणमा फरार रहेकाहरूको पक्राउ र दोस्रो चरणमा पोलिएकाहरूको संलग्नताबारे प्रमाण संकलनको काम सँगसँगै भएको देखियो। 

दोस्रो चरणमा पोलिएकाहरूलाई पैसा लिएको आरोप लागेको छ। नैनकलाले गृहमन्त्रीको सरकारी क्वाटरमा एक करोड लिएको, अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राइले गृहमन्त्रालयभित्रै गाडीको डिकीमा पैसा राख्न लगाएको र मञ्जु र आरजुलाई समेत पैसा दिएको दाबी गर्दै आएका थिए। 

अहिले प्रहरी ती दाबीलाई थप बलियो बनाउन सक्ने प्रमाणको खोजीमा संलग्न देखियो। तर हालसम्म अनुसन्धानमा अनुसन्धान पहिलो चरणबाट उल्लेखनीय रूपमा अगाडि बढेको भने देखिएन। 

कार्यालयका प्रमुख डा. मनोज केसीले नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने प्रकरणको दोस्रो चरणको अनुसन्धान जारी रहेको मात्र प्रतिक्रिया दिए। 

'अनुसन्धान जारी छ। अहिले हामी सबै पक्षलाई केलाउँदै अनुसन्धान अगाडि बढाइरहेका छौँ', उनले भने।

'प्रहरीले फरार खोज्दा सानाठूला भनेर हेर्दैन : डा. मनोज केसी,एसएसपी

बिहीबार पक्राउ परेका व्यक्ति कस्ता हुन् ?

बुधवार पक्राउ परेका व्यक्ति पहिलो चरणको अनुसन्धानमै खुलेका व्यक्ति हुन्। उनी संलग्न रहेको सहकारीको खाता नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहले प्रयोग गरेको देखिएपछि हामीले खोजी गरेका थियौँ। उनी यस अगाडि नै अभियुक्त बनिसकेका थिए। 

कहाँ गएका रहेछन् ?

पहिला हामीले खोज्दा फेला परेनन्। अनुसन्धानमा उनी भारत गएको देखियो। उनी कहाँ जान्छन्, कोसँग सम्पर्कमा छन् भन्ने निगरानी राख्दा नेपालमा देखिएपछि असार २७ गते पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइसकेका छौँ। 

फरार १२ जनामध्ये साना मात्र समातिए। गृहमन्त्रीका छोरा अनि सुरक्षा सल्लाहकारका छोरा त समातिएनन् नि ? 

फरार खोज्दा प्रहरीले साना अनि ठूला भनेर खोज्दैन। सबै फरार हाम्रो खोजीमै छन्। पक्राउ पर्छन्। 

पहिलो चरणमा पोलिएकाहरूमाथि दोस्रो चरणको छानबिन कहाँ पुग्यो ?

अहिले हामी सबै पक्षलाई केलाउँदै अनुसन्धान अगाडि बढाइरहेका छौँ

२८ असार, २०८०, १६:३३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।