विकासका काम सके पनि चौकुने गाउँपालिकाले भुक्तानी नदिएको गुनासो, अध्यक्ष भन्छन्, 'असारे विकासले समस्या'

विकासका काम सके पनि चौकुने गाउँपालिकाले भुक्तानी नदिएको गुनासो, अध्यक्ष भन्छन्, 'असारे विकासले समस्या'

सुर्खेत : विकास निर्माणका कामहरू सम्पन्न गरिसकेपछि पनि चौकुने गाउँपालिकामा भुक्तानी नपाएको गुनासो आउन थालेको छ।

कर्णाली प्रदेश सरकार र स्थानीय पालिकाले सञ्चालन गरेका विकास निर्माणका काम सम्पन्न गर्दा पनि पालिकाले भुक्तानी नदिएको भन्दै उपभोक्ता समिति र निर्माण कम्पनीले असन्तुष्टि व्यक्त गरेका छन् ।

‘मैले पालिकाबाट तीन वटा जति आयोजनाको काम गरेको छु। वैशाखमा सम्झौता गरेर असार १९ गते काम सम्पन्नको फाइल बुझाएका थियौं। तर, अहिलेसम्म भुक्तानी भएको छैन,’ निर्माण व्यवसायी लालमणि धमलाले भने।

‘सबै आयोजनाहरू गरेर मेरो करिब ६० लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ। पहिला सहकारी र समूहबाट ऋण गरेर सामग्री ल्याएर काम गरियो। विश्वास दिलाउन खाली चेक पनि दिइयो। अहिले उनीहरू मुद्दा हाल्छौं भनेर धम्क्याउँछन्,’ उनले दुःखेको पोखे।

व्यवसायी धमलाले साहुहरूले कतिबेला घर घडेरी र मेसिनहरू लिने भन्ने चिन्ता जागेको भन्दै छिटोभन्दा छिटो यो समस्या समाधान गर्न पालिकासँग अनुरोध गरे।

त्यस्तै काम सकिए पनि भुक्तानी नपाएको कालापानी, तल्लो गगनपानी चाहाबोट डाँडा खानेपानी उपभोक्ता समिति चौकुने-१ का अध्यक्ष तर्कबहादुर तिरुवाले सुनाए। उनका अनुसार यो योजना प्रदेश सरकारअन्तर्गत १६ लाख रुपैयाँको हो। 

तिरुवा भन्छन्, ‘जेठ ११ गते यो योजनाको सम्झौता भयो। दिनरात नभनी मान्छे लगाएर एक महिनाभित्र काम सम्पन्न गर्यौं। असार १९ गते पालिकामा फाइल बुझाएका थियौं। कामदारले पैसा पाएका छैनन्। सामान पनि उधारो ल्याएका छौं।’

‘गाउँपालिकाबाट भुक्तानी पनि भएन। यो उहाँहरूको बेवास्ताका कारण समस्या भएको हो। उता साहुले घरजग्गा हडेप्छौं भनेर फोन गरिरहेका छन्। गरेको कामको भुक्तानी गर्न पालिकालाई के समस्या भयो?’ उनले थपे।

धमाला र तिरुवा मात्र होइन, चौकुनेका दर्जन बढी उपभोक्ता समिति र निर्माण कम्पनीको काम गरेको भुक्तानी हुन सकेको छैन।

यता चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराम परियारले अगाडि फाइल नआएर असार मसान्तमा मात्रै आएपछि भुक्तानीमा समस्या भएको बताए। कर्मचारीहरूले रातदिन काम गर्दा पनि ती फाइलहरू हेर्न नसकिएको र भुक्तानीको निश्चित समय सीमा रहेको हुँदा समस्या भएको बताए। 

अधिकृत परियार भन्छन्, ‘सम्झौता मितिमा फाइल आएनन्। असारको अन्तिममा तीन/चार दिन अगाडि मात्रै चार सयको हाराहारीमा फाइलहरू आए। त्यसपछि हामीले रातदिन नभनी काम गर्यौँ। एक घण्टामा ३०/४० फाइल हेर्दा पनि सबै फाइलको काम गर्न सकिएन।’

‘प्रदेशका योजनाहरूको रिपोर्ट पठाउनुपर्ने, पालिकाका अन्य कामहरू पनि गर्नै पर्यो। २४ गतेसम्म मात्रै भुक्तानीको म्याद त्यसमा पनि बेलाबखतमा सूत्रले धोका दिने जस्ता समस्या आएपछि महत्वपूर्ण आयोजनाका भुक्तानी रोकिएका हुन्,’ उनले थपे।

८० प्रतिशत योजनाको भुक्तानी सम्पन्न भए पनि २० प्रतिशत भुक्तानी हुन नसकेको परियारले बताए। उनका अनुसार करिब ५ करोडको हाराहारीमा बजेट भुक्तानी हन नसकेको हो।

चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले भने उपभोक्ताको चरम लापरबाहीका कारण भुक्तानी हुन नसकेको बताए।
समयमा सम्झौता गरे पनि हतार हतार गरेर असारमा काम सम्पन्न गर्ने प्रवृत्तिका कारण यो समस्या देखिएको उनले बताए।

‘सम्झौता मंसिरमा गरेका छन्। काम असार अन्तिममा आएर गर्छन्। अनि हतार हतारमा अनुगमन गरिदिन पर्यो भनेर कुनै समय सीमा नै नराखी आउनुहुन्छ, सिस्टम नै बन्द भएपछि हामीले अनुगमन गरेर मात्रै के गर्ने?’ विकले भने।

‘प्रदेशबाट बजेट ढिलो गएका केही बाहेक अन्य ९० प्रतिशतको भुक्तानी रोकिनुको कारण उनीहरूकै लापरबाही हो। सम्झौताअनुसार काम गरेर समयमा फाइल बुझाए यो समस्या आउँथेन,’ उनले थपे।

यो समस्या समाधानका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेकाले केही समयमा यसको निष्कर्ष निस्कने अध्यक्ष विकको भनाइ छ।

२६ असार, २०८०, १४:२७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।