सीसीटीभी फुटेज पच्छ्याउँदै प्रहरी पुग्यो सुनको सिक्री लुट्ने ग्याङसम्म, चोरीको बाइकमा घुमेर थुत्थे घाँटीको सिक्री (भिडियोसहित)

सीसीटीभी फुटेज पच्छ्याउँदै प्रहरी पुग्यो सुनको सिक्री लुट्ने ग्याङसम्म, चोरीको बाइकमा घुमेर थुत्थे घाँटीको सिक्री (भिडियोसहित)

काठमाडौँ : असार १ गते बिहान योग सिकेर फर्कँदै गरेकी सरस्वती खतिवडाको सुनको सिक्री लुटियो। उत्ति नै बेला छिमेकीहरू भेला भए, प्रहरीलाई खबर गरे।

लुटेराहरू मोटरसाइकलमा आएका थिए। १ तोलाको सिक्री लगाएकी खतिवडाको घाँटीबाटै चोरले सिक्री लुछेका थिए। ‘हामी तीन जना एकसुरले हिँडिरहेका थियौँ,’ अपराध प्रहरी महाशाखा बानेश्वरमा भेटिएकी उनले भनिन्,‘चोरले सिक्री तानेछ, म त लड्न पुगेछु। पछि छिमेकी भेला भएर प्रहरीलाई खबर गर्यौँ।’ खतिवडाको सिक्री टोखा नगरपालिका वडा नम्बर ६ मा ग्राण्डी अस्पताल नजिकबाट लुटिएको थियो,एकाबिहानै। समय थियो, ५ बजेर ५५ मिनेट। 

त्यो दिन खतिवडाको मात्रै सिक्री चोरिएन। काठमाडौँ महानगरपालिका वडा नम्बर २६ कपुरधारास्थित रमा पाण्डेको पनि घाँटीको सुनकै सिक्री चोरियो। ४ बजेर ४० मिनेट जाँदा मर्निङ वाकमा निस्किएकी उनको पनि घाँटीबाटै लुटेराले सिक्री थुतेर लगेका थिए, खतिवडाकै चोरी गरेकै शैलीमा। 

पाण्डेको सिक्री चोरी गर्न आएकाहरू मोटरसाइकलमा सवार थिए। उनीहरू सामाखुसीतर्फ गएको सीसीटीभी फुटेजमा देखिएको छ। सीसीटीभी हेर्दा रेड हर्न कलेज र नवसंगम मोडमा हरियो रंगको हेल्मेट लगाएको अघि बस्ने र पछाडि बस्नेले कालो हुँडी लगाएको देखिएको थियो। त्यही बाइकले ४ बजेर ४० मिनेट जाँदा पाण्डेको सिक्री चोरी खतिवडाको सिक्री चोर्न ग्राण्डी पुगेको देखिन्छ। 

सीसीटीभी क्यामेराको फुटेज हेर्दा कालो रङको हुडी, कालो रङको ट्राउजर र कालै फित्ता भएको चप्पल लगाएको पुरुषले पैदल र हरियो रङको हेल्मेट, कालो ज्याकेट,खरानी रङको पाइन्ट र सेतो जुत्ता लगाएको अर्को पुरुषले केटीएम डुक मोटरसाइकल तीव्र गतिमा चलाएको देखिएको छ। उनीहरू सामाखुसीतिर गएको सीसीटीभी फुटेजमा दृश्य छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीले दुई जना व्यक्तिले श्रंखलाबद्ध रूपमा २० दिनभित्र ८ जना महिलाको सुनको सिक्री चोरिएको बताए। उनले भने, ‘दुई व्यक्ति धेरैजसो हुलिया, बाइक उही, नम्बर फेरेर, हेल्मेट फेरेर तर लुट्ने कपडा भने उस्तै लगाएका टोलीले सुनको सिक्री लुटेको देखियो। हामीले सीसीटीभी फुटेज हेर्दै जाँदा लुट्नै शैली पनि उस्तै देखिएको छ। ८ जनालाई एकै तरिकाले लुटेको पाइयो।’ 

उनका अनुसार त्यो समूह एक दिन मात्रै चोरी गरेर बसेको देखिएन। असार महिनाको २० दिनमा ८ जनाको सिक्री चोरेको यस समूहले असार ३ गते ५ बजेर ५५ मिनेट जाँदा रेखा घिमिरेको सिक्री पनि उसै गरी चोरेको थियो। हेल्मेटको रङ उही र सिक्री चोर्नेको लुगाको रङ पनि उस्तै (कालै) देखियो भने अघिल्लो व्यक्तिले कपडा फेरेको देखियो। 

यिनै दुई जनाले असार १३ गते टोखा नगरपालिका वडा नम्बर ३ मा माया डंगोलको सुन पनि उसैगरी चोरी गर्यो।

प्रहरीले घटनास्थलनजिकै रहेको निर्माण​​​​​ ​ सामग्री सप्लार्यसको सीसीटीभी क्यामेरा फुटेज हेर्दा प्रहरी अचम्ममा पर्यो। किनभने असार ३ गते जुन कपडा लगाएको मान्छेले सिक्री तानेको थियो, सोही व्यक्तिले यसमा पनि सिक्री तानेको देखियो। समय पनि आसपास पौने ६ बजे। 

सिक्री लुट्ने क्रम रोकिएको छैन। असार १९ गते टोखा नगरपालिकाकै वडा नम्बर ४ की गंगा राना मगरको सिक्री ४ बजेर ५० मिनेट जाँदा लुटियो। अगाडि बस्नेको हेल्मेट कालो रङको भए पनि बाइक उही केटीएम डुक र पछाडि बस्नेले कालो रङको हुडी लगाएको थियो। 

१९ गते मगरको सिक्री चोरेका यी दुई जनाले २० गते नै टोखा नगरपालिका वडा नम्बर तीनमा बस्ने शेर्पा पेट्रोल पम्प नजिक रीता श्रेष्ठको उसै गरी सिक्री चोरेको थियो। समय पनि उस्तै, पौने ५ बजे।

चाँगल पुगी प्रहरीले सीसीटीभी फुटेज हेर्दा पौने ६ बजे सरस्वती डंगोलको सवा एक तोलाको सिक्री चोरी भएको देखियो।यहाँ असार १ गते जुन हेल्मेट प्रयोग गरिएको थियो त्यही प्रयोग गरेको देखियो। त्यही आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरिसकेको छ।

पक्राउ पर्नेमा रविन दमाई सिक्री लुट्ने मुख्य अभियुक्त हुन् भने रवि विश्वकर्मा बाइक चलाउने साथी। उमेश क्षत्री, राहुल माझी र श्रीकान्त माइती भने लुटेको सिक्री बेच्ने काममा संलग्न भएको पाइएको प्रहरीले बताएको छ। 

हिरासतमै बनाएका थिए लुट्ने योजना 

प्रहरीले अनुसन्धान गर्दा यो समूहले २० दिन टोखा नगरपालिका र काठमाडौँ महानगरपालिकाका टोखासँगै जोडिएका वडाहरूमा लुटेको देखिएको छ।

सुरुवातमा प्रहरीले बुढानिलकण्ठको पार्क भिलेज होटलमा नजिक रविन दमाईलाई पक्राउ गरेको थियो। दमाईले आफ्नो बयानमा मुख्य योजनाकार उमेश क्षत्री, मोटरसाइकल चलाउने रवि विक, पछाडि बस्ने दमाइ र लुटेको सुन बिक्री गर्न सहयोग गर्ने माझी रहेको बताएका थिए। लुटपाटको सिक्री भने न्युरोडको एक सुनचाँदी पसलमा बिक्री गर्दै आइरहेको खुलेको छ। 

लुटेराले लुटपाटमा प्रयोग गरेको चोरीको बाइक

प्रहरीका अनुसार दमाई मोटरसाइकल चोरी तथा सिक्री लुटपाट घटनामा पटकपटक पक्राउ परी मुद्दा चलेका व्यक्ति हुन्। क्षत्री मोटरसाइकल चोरीमा पक्राउ परी धरौटीमा छुटेका हुन्। उनी तारेख धाउँदै छन्। 

दमाई र क्षत्रीबीच वैशाखमा भेट भएको देखिन्छ। दमाई यही वैशाखमा ४ तोलाको रानीहार लुटपाट गरी हिरासत पुगेका थिए भने क्षत्री मोटरसाइकल चोरी आरोपमा हिरासत पुगेका थिए।

बानेश्वरको प्रहरी वृत्तको हिरासतमा पुगेका उनीहरू पछि रवि विक र उमेश माझीसँग परिचित भएका थिए र उनीहरूले त्यहीँबाट लुटपाट गर्ने योजनासमेत बनाएको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

उनीहरूले प्रयोग गरेको मोटरसाइकलसमेत चोरीको भएको अनुसन्धानको क्रममा खुलेको छ।

२४ असार, २०८०, १७:३१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।