उपभोक्ता समितिको साढे ६ लाख लिएको आरोप लागेका वडाध्यक्षलाई समाउन सकेन प्रहरीले, अन्य दुई जना मात्र पक्राउ

उपभोक्ता समितिको साढे ६ लाख लिएको आरोप लागेका वडाध्यक्षलाई समाउन सकेन प्रहरीले, अन्य दुई जना मात्र पक्राउ

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्षसहित ३ जनाको समूहले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै परेको उजुरीमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

शनिबार ३ बजे सुशील गुरुङ र बलिराज शाहीलाई वीरेन्द्रनगरबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरिक्षक एवं प्रवक्ता लक्ष्मण बहादुर शाहीले जानकारी दिए।

शाहीका अनुसार जनप्रतिनिधि भएकोले वडाध्यक्ष विनोदसिंह विष्टलाई भोलि (आइतबार) अदालत खुलेपछि पक्राउका लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।

‘हिजोदेखि हामीले छलफलका लागि आउनुहोस् भनेर भन्यौं। तर, उहाँहरूले आउँछु भनेर आलटाल गरेर लुक्ने, भाग्ने प्रयास गर्नुभयो, आज प्रहरीले ३ बजे दुई जनालाई पक्राउ गरेको छ,’ शाहीले भने, ‘जनप्रतिनिधि भएकोले वडाध्यक्षको विषयमा आइतबार अदालत खुलेपछि पक्राउ गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउँछौं।’

पक्राउ परेका दुई जनाले वडा अध्यक्षलाई दुई लाख रुपैयाँ नगद दिएको स्वीकारेको प्रवक्ता शाहीले बताए।

‘पक्राउ परेका दुई जनाले साढे ६ लाख मध्ये वडाअध्यक्षलाई दुई लाख रुपैयाँ दिएको स्वीकारेका छन्। त्यस्तै चार लाख रुपैयाँ सुशील र ५० हजार रुपैयाँ बलिराज आफैंले लिएको स्वीकारेका छन्,’ उनले भने, ‘के का लागि किन दिए भन्ने विषयको विस्तृत कुरा अनुसन्धानपछि खुल्नेछ।’

गत बिहीबार दिउँसो वडा नम्बर ३ को खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम जबरजस्ती लुटेर लिएको भन्दै समितिका पदाधिकारीले त्यसै दिन जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए।

यता वडाअध्यक्ष विष्टले भने वडाका भौतिक पूर्वाधार समिति संयोजक एवं सरसफाइ तथा फोहरमैला व्यवस्थापन समितिका संचालक बलिराज शाहीलाई सोधपुछका लागि प्रहरीले बोलाएर दुर्व्यवहार गरेको भन्दै प्रेस विज्ञप्ति निकालेका छन्।

उनले विज्ञप्तिमा लेखेका छन्, ‘आर्थिक लेनदेनसँग नजोडिने कानुनी नीतिमा टेकेको प्रहरी प्रशासनलाई वीरेन्द्रनगर नगरपालिकाको न्यायिक समितिसँग सम्बन्धित उपभोक्ता समिति र भुक्तानी लिनुपर्ने व्यवसायीबीच लेनदेनको विषयमा यति धेरै चासो किन भयो? यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’

यस घटनाको  विषयमा वडाध्यक्ष विष्टलाई सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन्।

प्रवक्ता शाहीले भने आफ्ना प्रहरी अधिकारीबाट त्यस्तो कुनै दुर्व्यवहार युक्त  कार्य नभएको बताएका छन्। आफूमाथि लागेको आरोपबाट मुक्त हुन वडाअध्यक्ष विष्टले यो प्रपञ्च रचेको उनको भनाई छ।

वडाध्यक्ष विष्ट कहिले  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिवलाई मुक्का हानेर त कहिले आफ्नै वडा सदस्यहरूसँग विवाद गरेर चर्चामा आउने गरेका छन्। विवादकै कारण उनले अहिले पनि वडाको काम वीरेन्द्रनगर नगरपालिकाको एउटा कोठाबाट गरिरहेका छन्। 

यो पनि

२३ असार, २०८०, १६:५७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।