रुपन्देहीका १६ मध्ये १३ पालिकाले ल्याए १३ अर्ब बढीको बजेट (ग्राफिक्ससहित)

रुपन्देहीका १६ मध्ये १३ पालिकाले ल्याए १३ अर्ब बढीको बजेट (ग्राफिक्ससहित)

बुटवल : रुपन्देहीका १६ मध्ये १३ पालिकाले आइतबार आगामी आर्थिक वर्षको बजेट ल्याए।

हरेक वर्ष असार १० गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार रुपन्देहीका १३ पालिकाले १३ अर्ब ४० करोड ५६ लाख बजेट ल्याए।

तर, रोहिणी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकाले भने आन्तरिक विवादका कारण बजेट प्रस्तुत गर्न सकेनन्।

जिल्लामा सबैभन्दा बढी तिलोत्तमा नगरपालिकाले २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाँको बजेट ल्याउँदा सबैभन्दा कम मर्चवारी गाउँपालिकाले ४४ करोड २० लाखको बजेट प्रस्तुत गरेको छ।

तिलोत्तमाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा प्रस्तुत बजेटमा चालु खर्च १ अर्ब ६ करोड २४ लाख ५० हजार र पुँजीगत खर्च १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार राखिएको छ।

तिलोत्तमाले चालु आर्थिक वर्षको भन्दा ६६ करोड ५ लाख ५६ हजार रुपैयाँले बढाएर बजेट ल्याएको हो। चालु आर्थिक वर्षको बजेट २ अर्ब ७ करोड ७८ लाख ८३ हजार छ।

बजेटमा आन्तरिक राजस्वतर्फ ४५ करोड २४ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको छ। यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड ९१ लाख ४४ हजार ५ सय २९ रुपैयाँ प्राप्त हुने लक्ष्य लिइएको उपप्रमुख चौधरीले बताइन्।

आन्तरिक आयतर्फ चालु वर्षभन्दा ६६ लाख बढी उठाउने अपेक्षा गरेको बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलाई जोड दिइएको उपप्रमुख चौधरीले बताइन्।

बजेटमा स्वास्थ्यमा १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिंचाइमा ३ करोड २३ लाख ५१ हजार, भवन, सहरी विकास र पूर्वाधारमा २ अर्ब १५ करोड ९५ लाख विनियोजन प्रस्ताव गरिएको छ।

यस्तै युवा, खेलकुद तथा मनोरञ्जनतर्फ ७३ लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ३ करोड ६५ लाख ५९ हजार बजेट विनियोजना गरिएको छ।

नगरबासीको तीव्र विकासको उत्कृष्ट चाहनालाई आत्मसाथ गरी सबै क्षेत्रको समतामुलक विकासलाई दृष्टिगत गरी बजेट तयार पारिएको उपप्रमुख चौधरीले बताइन्।

बुटवले उपमहानगरपालिकाले २ अर्ब ३६ करोड, देवदह नगरपालिकाले १ अर्ब ७ करोड, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ८२ करोड ९९ लाख, सैनामैना नगरपालिकाले १ अर्ब १० करोड, सिद्धार्थनगर नगरपालिकाले १ अर्ब १३ करोड बजेट प्रस्तुत गरेका छन्।

त्यस्तै, ओमसतिया गाउँपालिकाले ४७ करोड ६६ लाख, सियारी गाउँपालिकाले ६१ करोड ५० लाख, गैडहवा गाउँपालिकाले ८२ करोड, कञ्चन गाउँपालिकाले ५१ करोड ३८ लाख बजेट प्रस्तुत गरेका छन्।

जिल्लाको मायादेवीले ७३ करोड २७ लाख बजेट प्रस्तुत गर्दा शुद्धोधन गाउँपालिकाले ५८ करोड ५६ लाख बजेट प्रस्तुत गरेको छ।

११ असार, २०८०, १९:१५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।