वीरेन्द्रनगरको बजेट : दुई सय महिलालाई राेजगारी, उपमहानगरमा स्तर वृद्धि गर्न राजश्व सुधार

वीरेन्द्रनगरको बजेट : दुई सय महिलालाई राेजगारी, उपमहानगरमा स्तर वृद्धि गर्न राजश्व सुधार

सुर्खेत : कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बढाएर बजेट ल्याएको छ।

आइतबार १३औं नगर सभामार्फत नगरपालिकाले तीन अर्ब दुई करोड ६१ लाख ८९ हजार ९६७ रुपैयाँ बजेट ल्याएको हो।

यो चालू आर्थिक वर्षको भन्दा झण्डै एक अर्ब भन्दा धेरै हो। चालु आर्थिक वर्षमा नगरले एक अर्ब ९४ करोड ११ लाख १२ हजार पाँच सय रूपैयाँको बजेट ल्याइएको थियो।

आगामी वर्ष वडा कार्यालय सञ्चालनका लागि पुँजीगतसहित १९ करोड ३८ लाख विनियोजन गरिएको छ भने नगरस्तरीय कार्यक्रमका लागि ३८ करोड ५९ लाख विनियोजन गरिएको छ।

वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले पेश गरेको बजेटमा नगरको शैक्षिक उन्नत्ति र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखिएको छ।

नगरपालिकाले गतवर्ष निर्माण गरेको १० वर्षे कार्ययोजनलाई प्राथमिकतका साथ कार्यानन्वयन गरेर साक्षर नगर र रोजगारयुक्त जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ। यसका लागि ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हब’ भन्ने कार्यक्रम अघि सारिएको छ।

यसैगरी विद्यार्थी र शिक्षकको अनुपात मिलाएर पठनपाठनलाई गुणस्तरीय बनाउनका लागि ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक’ विगतको प्रतिवद्धतालाई प्रभावकारी ढंगले कार्यन्वयन गर्ने बजेटमा उल्लेख छ।

वीरेन्द्रनगरलाई उपमहानगरमा स्तर वृद्धि गर्नका लागि राजश्व सुधारको कार्यक्रम पनि अघि सारिएको बजेटमा ढकालले उपमहानगरका लागि अपुग हुने राजश्व वृद्धि गर्नका लागि आगामी आर्थिक वर्षलाई राजश्व सुधारको वर्षको रूपमा प्रस्ताव गरेकी छन्।

‘यस आर्थिक वर्षलाई राजश्व सुधारको वर्षको रूपमा लिई नगरलाई आत्म निर्भर तथा स्व–निर्भर तर्फ लगिनेछ’ प्रमुख ढकालले प्रस्तुत गरेको नीतिमा उल्लेख छ।

नगरको गौरवको आयोजना, भेरी पम्पिङ
प्रमुख ढकालले चुनावमा उम्मेदवार हुँदा घोषणा पत्रमा उल्लेख गरेको भेरी लिफ्टिङ मार्फत वीरेन्द्रनगरवासीलाई खानेपानी सुविधा पुर्याउने प्रतिवद्धतालाई नीति कार्यक्रममा प्राथमिकताका साथ समेटेकी छन्।

नगरपालिकाको राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त जनसंख्या र नगरको आन्तरिक तथ्यांकका आधारमा विकासका योजनाहरू निर्माण गरिने उल्लेख भन्दै हालको सिटी बसपार्कलाई विस्तार गरेर ‘कर्णाली बसपार्क’ बनाइने बताइएकाे छ।

उत्पादन र बजारीकरण वर्ष
२७२ बुँदामा समेटिएको वीरेन्द्रनगरको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षलाई ‘उत्पादन तथा बजारिकरण वर्ष’को रुपमा अघि बढाइने उल्लेख गरिएको छ। नगरवासीलाई शून्य भोकमरी र खाद्य सम्प्रभुत्ता कायम गर्दै कुपोषण रहित स्वास्थ्य नगरबासी बनाउने लक्ष्य राखिएको छ।

कृषि व्यवसायको माध्ययमबाट विपन्न पिछडिएको वर्गका महिलाहरूको जीवनस्तर सुधार तथा आयआर्जनमा वृद्धिका लागि महिलाहरूलाई कृषि समूहमा आवद्ध गराई व्यावसायिक खेती गर्नका लागि कृषि समूह निर्माण कार्य अभियानको रूपमा सञ्चालन गरी मेयरसँग महिला कृषक कार्यक्रमलाई निरन्तरता दिई २०० महिलालाई स्वरोजगारमा आवद्ध गरिने भनिएको छ।

नगरपालिकाले बाँझो जमिनलाई जमिनलाई निरुन्तसाहित गरेर उत्पादन बढाउनका लागि जमिन बाँझो नराखौँ, सक्नेलाई खेती गर्न दिऊँ भन्ने अभियान चलाउने भएको छ।

हेलो मेयर 
नगरबासीको गुनासो तथा समस्या सुनेर तत्काल समाधानका लागि पहल लिन नगरपालिकामा हेलो मेयर कार्यक्रम सञ्चालन गरिने भएको छ।

नीति कार्यक्रम बाचन गर्दै मेयर ढकालले सेवाग्राहीलाई उच्च प्राथमिकतमा राखी उनीहरुलाई गुनासोलाई तत्काल सम्बोधन गर्न यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको बताइन्।

नीति कार्यक्रममा उल्लेख भए अनुसार नगरपालिकामा पैसा नलाग्ने फोन नम्बर राखेर यो सेवा प्रदान गरिनेछ।

१० असार, २०८०, १९:४६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।