विदेशी फिल्म किन्ने बहानामा फैलँदै हुन्डी कारोबार, करोडमा किनिन्छ फिल्म तर देखाइन्छ लाख

विदेशी फिल्म किन्ने बहानामा फैलँदै हुन्डी कारोबार, करोडमा किनिन्छ फिल्म तर देखाइन्छ लाख


काठमाडौँ :  विदेशी चलचित्र जाँच(सेन्सर) सिफारिस २०७९-८० को तथ्याङ्क अनुसार ६८ वटा विदेशी फिल्म सेन्सर भए। जसमा अधिकांश हिन्दी रहेका छन् भने अङ्ग्रेजीपछि जापानी,भोजपुरी र कोरियन फिल्म रहेका छन्। 

विदेशी फिल्ममा नेपालमा बलिउड फिल्मको राज छ। पछिल्लो समय दक्षिण भारतीय फिल्मको प्रभाव समेत बढ्दो छ। भारतमा निर्माण भएका फिल्मको नेपालमा प्रदर्शन अधिकार लिन नेपालका फिल्म वितरकहरूबिच तीव्र प्रतिस्पर्धा समेत छ। उनीहरूले नेपाली फिल्म निर्माण गर्दा लाग्ने रकम भन्दा उच्च रकम तिरेर भारतीय फिल्मको नेपालमा प्रदर्शन अधिकार लिने गरेको देखिन्छ।

पुष्पा फिल्मसम्मको रेड १० देखि १५ लाख भारतीय रुपैयाँ थियो। स्टारकास्टका आधारमा बलिउडका फिल्मको मूल्य डेढ करोड रुपैयाँसम्म पर्छ। अहिले दक्षिण भारतीय फिल्मको नेपाल प्रदर्शन अधिकार एक करोड माथि नै पर्छन्। तर चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा महँगोमा किनिएको फिल्मको मूल्य ३० लाख भारतीय रुपैयाँ मात्र हो

किनकि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सटहीमा यो भन्दा बढीको सुविधा दिन्न। विदेशी फिल्म किन्दा विदेशी मुद्राको सटहीको सिफारिस चलचित्र विकास बोर्डले गर्छ।

फिल्म लिनकै लागि नेपालमा फिल्म वितरक कम्पनी खोलेकाहरूले हुन्डीमार्फत फिल्म खरिद गर्ने गरेका यही तथ्याङ्कले नै देखाउँछ। तर राज्यको सम्बन्धित निकाय मौन छ।

नेपालमा भारतमा निर्मित फिल्मका वितरकहरूले बढीमा ३० लाख भारुमा फिल्म ल्याउने गरेकोमा खरिद प्रक्रियामा पूर्णता देखाए पनि बाहिर अर्कै डिल हुने गरेको विकास बोर्डकै सदस्यहरू नै बताउँछन्। उनीहरू खरिद मूल्यमा विश्वस्त देखिएनन्।

बोर्डका एक सदस्यले भने,‘बोर्डमा अहिले प्रदर्शन रोकिएको फिल्म आदिपुरुष ३० लाख भारुमा ल्याइएको उल्लेख छ। तर,यो एक करोडभन्दा बढी मूल्यमा नै ल्याएको देखिन्छ। उनीहरूले आधिकारिक रूपमा ३० लाख देखाएका छन्। राज्यको अन्य निकायले छानबिन नगरी हामीले मात्र केही गर्न सक्ने अवस्था छैन।’ 

नेपालमा विदेशी फिल्म ल्याउने कम्पनीहरू

नेपालमा फिल्म वितरण गर्ने अधिकांश काम श्री ए एट फिल्म्स् प्रालि,एप्पल इनटरटेन्नमेन्ट प्रालि,श्री व्यङ्कटेश इन्टरटेनमेन्ट प्रालि, द टी फक्स फिल्मस्, श्री सूर्यदेव फिल्म,सिंहदेवी प्रोडक्सन प्रालि र बटरफ्लाई फिल्म्स् देखिन्छन् छन्। 

यसमा ए एट र व्यङ्कटेश इन्टरटेनमेन्टले बढी भारतीय फिल्महरू ल्याउने गरेको देखिन्छ। यी दुवै कम्पनी उद्धव पौडेल परिवारको हो। यसले गत वर्ष सम्शेरा, लालसिंह चड्डा, रक्षा बन्धन, लाइगर, ब्रम्हास्त्र, कान्तारा, दृष्यम-२, पठान, भोला, दशहरा, द केरला स्टोरी र आदिपुरुष ल्याएको देखिन्छ।

एप्पलले हलिउडका फिल्महरू ल्याउने गरेको देखिन्छ। यसले कहिलेकाहीँ हिन्दी फिल्म पनि ल्याएर प्रदर्शन गर्छ। नकिम उद्दिन यसका प्रमुख हुन्। द फ्ल्यास, स्पाइडरम्यान,इभिल डेड राइज लगायत केही हिन्दी फिल्म समेत ल्याउने गरेको देखिन्छ।

नेपालका हलमा भोजपुरी फिल्म २ लाख देखि ५ लाखसम्ममा किनेर ल्याउने गरेका छ। भारतमा बनेको फिल्मको एकमुष्ट वितरण अधिकार किनिन्छ। नाफा-घाटा वितरककै कै। जानकारका अनुसार अङ्ग्रेजी फिल्मको वितरण अधिकार बक्स अफिसमा उठेअनुसारको कमिसनमा आधारित हुन्छ।

यसले भारतमा बन्ने फिल्मको नेपाल वितरण अधिकार किन्ने उच्च जोखिममा देखिन्छन्। फिल्म बबाल चले मनग्ने आम्दानी हुने तर फिल्म नचल्दा घाटा आफैँले बेहोर्नुपर्ने।

महँगा फिल्म किनेर ल्याउने गरेका उनीहरूले राम्रै कमाइ गरेका देखिन्छ। गत वर्षमा नेपाली फिल्मपछि दोस्रो नम्बरमा कन्नड फिल्म ‘केजीएफ २’ परेको थियो। फिल्मले १९ करोड २९ लाख रुपैयाँ कमाइ गरेको थियो। यो फिल्मको टिकट ६ लाख ७७ हजार ६ सय ९९ वटा बिक्री भएको विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ। 

नेपालको बक्स अफिसमा भोजपुरी र कोरियन फिल्मको कमाइ भने कमजोर छ। गत वर्ष नै रिलिज भएको भोजपुरी फिल्म ‘मेन्टर आशिकी’को व्यापार नेपालमा ९१ हजार रुपैयाँ मात्रै रहेको छ। 

बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सर्वाधिक व्यापार गर्ने नेपाली पाँच र हिन्दी फिल्म

स्वदेशी पाँच फिल्म

कबड्डी ४ : द फाइनल म्याच

‘रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४- द फाइनल म्याच’ वर्षकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो। यो फिल्मको ७ लाख ६६ हजार ७ सय टिकट बिक्री भएको थियो। टिकट बिक्री भएबापत यो फिल्मले २१ करोड ३८ लाख १३ हजार ४ सय ६२ रुपैयाँ ग्रस व्यापार गर्न सफल भयो।

यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायत कलाकारको अभिनय छ। बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्मलाई दर्शकले अत्यधिक मन पराएका थिए। 

छक्का पञ्जा ४

गत फागुन १९ देखि प्रदर्शन भएको फिल्म ‘छक्का पञ्जा ४’ले १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। बोर्डको विवरणअनुसार ६ लाख ८ हजार ४ सय २ टिकट बिक्री भएबापत १६ करोड रुपैयाँभन्दा बढी रकम कलेक्सन गरेको हो। 

हेमराज बिसी निर्देशित फिल्ममा दीपकराज गिरी,दीपाश्री निरौला,केदार घिमिरे,नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बास्तोला, रमेश बुढाथोकी लगायतको अभिनय छ। 

प्रेम गीत ३

प्रदीप खड्का अभिनीत फिल्म ‘प्रेम गीत’ व्यापारमा तेस्रो स्थानमा परेको छ। बोर्डको विवरणअनुसार फिल्मले नेपाली भाषामा २ लाख ६९ हजार ७ सय ४४ टिकट बिक्री भएबापत ७ करोड ७० लाख ३५ हजार ५ सय ५८ रुपैयाँको व्यापार गरेको थियो।

यस फिल्मले हिन्दी भाषामा पनि प्रदर्शन गरेको थियो। जसमा ८३ हजार १ सय ४४ टिकट बिक्री भएबापत २ करोड २७ लाख २९ हजार ३ सय ६७ रुपैयाँको ग्रस व्यापार गरेको छ। 

सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा र शिव श्रेष्ठ लगायतको अभिनय छ। 

महापुरुष

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘महापुरुष’ चौथो स्थानमा छ। यस फिल्मले २ लाख ४७ हजार ५ सय १७ टिकट बिक्री भएबापत ७ करोड ३८ लाख ९० हजार ६ सय ७० रुपैयाँको ग्रस व्यापार गरेको थियो। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, नरेश पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइलीलगायत कलाकारले अभिनय छ। फिल्मलाई रवीन्द्र सिंह बानियाँले लगानी गरेका छन्। 

दुई नम्बरी

बोर्डको विवरणअनुसार दीपेन्द्र के लामाको निर्देशनमा तयार भएको फिल्म ‘दुई नम्बरी’ सर्वाधिक व्यापार गर्ने फिल्मको पाँचौँ नम्बरमा रहेको छ। यस फिल्मको १ लाख ४१ हजार ६ सय ३९ टिकट बिक्री भएको थियो। जसबापत ३ करोड ८४ लाख ७३ हजार ५ सय २० को ग्रस कलेक्सन फिल्मले गरेको छ। 

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुष्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन्। अहिले यो फिल्मलाई हङकङका विभिन्न स्थानमा च्यारिटी गरिरहेको छ। 

विदेशी फिल्म

केजीएफ च्याप्टर २’

प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ को हिन्दी डबले नेपालमा १९ करोड २९ लाख २३ हजार ७५८ रुपैयाँ कलेक्सन गर्यो।  पिरियड एक्सन ड्रामा फिल्ममा यशराज, सञ्जय दत्त, श्रीनिधि शेट्टी, रविना टण्डन, प्रकाशराजलगायत कलाकारको मुख्य भूमिका छ। 

पठान

गत माघ ११ गते रिलिज भएको ‘पठान’को नेपालमा लाइफटाइम कलेक्सन १३ करोड २७ लाख ९१ हजार ३६० रुपैयाँ छ। दुई करोड ५० लाख नेपाली रुपैयाँमा खरिद गरेको भनिएको यो फिल्मबाट वितरकले झन्डै दुई करोड मुनाफा गरेका थिए। फिल्ममा शाहरूख  खान र दीपिका पादुकोण र जोन अब्राहिमको मुख्य भूमिका छ। 

अवतार : द वे अफ वाटर’

जेम्स क्यामरुन निर्देशित ‘अवतार: द वे अफ वाटर’ले नेपालबाट ८ करोड ३० लाख ६७ हजार ८८६ रुपैयाँ क्रस गरेको छ। फिल्मको २ लाख ८६ हजार ६७४ वटा टिकट बिक्री भएको थियो। गत पुस १ गते रिलिज भएको फिल्मलाई नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले खरिद गरेको थियो। नेपालमा हलिउड फिल्ममध्यै सर्वाधिक कमाइ गर्ने फिल्मसमेत बनेको छ। 

जापानिज फिल्म ‘वान पिस रेड’ 

नेपालमा प्रदर्शनमा आएको ‘वान पिस रेड’ सन् २०२२ मा जापानी बक्स अफिसमा सबैभन्दा बढी कमाउने फिल्म हो। एनिमे सिरिजका फ्यान र दर्शकलाई लक्षित गर्दै नेपाल रिलिज भएको यो फिल्मले ८ करोड १० लाख ४ हजार ३२८ रुपैयाँ क्रस गरेको छ।  

नेपाली युवामाझ यो फिल्म अत्यधिक रोजाइमा परेको थियो। यसलाई नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले खरिद गरेको थियो। 

ब्रमास्त्र पार्ट वान : शिव 

आयन मुखर्जीद्वारा निर्देशित फिल्म ‘ब्रमास्त्र पार्ट वान: शिव’ले नेपालमा ४ करोड ४७ लाख ५ हजार ८८३ कमाइ गरेको छ। बोर्डको तथ्यांकअनुसार सर्वाधिक कमाई गर्नेमा विदेशीमा यो पाँचौँमा रहेको छ। 

यस फिल्ममा अमिताभ बच्चन,रणवीर कपुर,आलिया भट्टलगायत कलाकारले अभिनय गरेका छन्। 

७ असार, २०८०, ०८:५७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।