ताला फोडेपछि अखिल क्रान्तिकारीले भन्यो– बालेन्द्र ! तिमीले ठूलो मूल्य चुकाउनुपर्छ

ताला फोडेपछि अखिल क्रान्तिकारीले भन्यो– बालेन्द्र ! तिमीले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं : सत्तारुढ माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले शैक्षिक संस्थाहरूको कमिसन लिएर आफूहरूले लगाएको ताला खोलेको आरोप लगाएका छन्।

शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी संगठनका केन्द्रीय सचिव प्रशुन कार्कीले मेयर बालेनले शैक्षिक माफियाहरुसँग साँठगाठ गरेर आफ्नो संगठनसँग द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका हुन्।

उनले भने, ‘खबरदार बालेन्द्र राजासँग नडराएको क्रान्तिकारी कमजोर छैन, तिमीले ठूलो मूल्य चुकाउनुपर्छ।’

गरिब, जेहेन्दार र अल्पसङ्ख्यकहरूलाई छात्रवृत्ति दिनुपर्छ भन्ने मुद्दा सफल गराएको र सोही अनुसार १० प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था भएको र त्यसविरुद्ध कोही पनि जानु घातक हुने उनको भनाइ छ।

संगठन काठमाडौं जिल्ला समिति इन्चार्ज यादव ढुङ्गानाले काठमाडौंभित्रका विद्यालयहरूले दिने १० प्रतिशत छात्रवृत्तिको नामावली प्रकाशित गर्ने मागलाई बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको धारणा राखे।

आन्दोलनलाई बेवास्ता गरेको बताउँदै उनले भने, ‘संगठनलाई वार्तामा नबोलाई बालेनले महानगर पुलिस लगाएर ताला फोडे अब यसको परिणाम भयानक हुन्छ। गरिब र जेहेन्दार विद्यार्थीहरूलाई दिइने छात्रवृत्ति पारदर्शी हुनुपर्छ भन्दा बीचमा मेयरसाब आउनुहुन्छ, के अब हामीसँग निहुँ खोज्नु नै भएको हो त?’

२ असार, २०८०, १७:४८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।