जसरी पनि बिदेसिने ध्याउन्नमा कलाकार : पाए झुकेर, नपाए लुकेर

जसरी पनि बिदेसिने ध्याउन्नमा कलाकार : पाए झुकेर, नपाए लुकेर

काठमाडौं : नेपालमा भविष्य छैन भन्दै बिदेसिने कलाकारको कमी छैन। उनीहरू जसरी पनि विकसित देश छिर्ने र उतै बस्ने मेसो मिलाइरहेका छन्। 

यसरी विदेश पलायन हुने नेपाली कलाकारहरूको सूची लामै छ। नेपालमा भविष्य नभएको भन्दै उनीहरू कोही एक्लै त कतिपय सपरिवार विदेश पलायन हुने गरेका छन्। उनीहरू धेरैजसो अमेरिका, क्यानडा,अष्ट्रेलिया जाने गरेका पाइएको छ।

अमेरिकाको भिसा नलागे उनीहरू क्यानडा र अष्ट्रेलिया पस्ने गरेका छन्।

एक साताअघि मात्र चर्चित लोकदोहोरी गायक, सर्जक तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बिजीले नेपाल छाडे। 

अष्ट्रेलिया निवासी प्रेमिकासँग विवाह गरे गरेर उनी अष्ट्रेलिया हान्निए। गत मंगलबार आफ्नै गृहजिल्ला स्याङ्जा निवासी शर्मिला श्रेष्ठसँग उनले लगनगाँठो कसेका हुन्। 

दुई देशकदेखि गायन क्षेत्रमा रहेका बिजी लामो समयदेखि शर्मिलासँग प्रेममा थिए। बिजी फिल्म लेखकसमेत हुन्। उनले लेखेको फिल्म ‘परदेशी २’ प्रदर्शनको तयारीमा छ। 

बिजी अष्ट्रेलिया उडेको केही दिनअघि मात्रै लोक तथा दोहोरी गीतका नृत्य निर्देशक शिव विक पनि परिवारसहित अमेरिका उडे।

नेपाली लोक तथा दोहोरी गीतमा भिडियोको सुरूवात गरेका विक पछिल्लो समय भने फुर्सदिला थिए। उकेराकर्मीसँगको कुराकानीमा उनले नेपालमा भविष्य नरहेको र भविष्य खोज्न बिदेसिनुपरेको सुनाए।

‘नेपालमा कुनै कदर इज्जत मान सम्मान नै छैन। ३० वर्षभन्दा बढी समय नेपाली फिल्म तथा म्युजिक भिडियोमा नै बिताएको छु। अग्रज के हो सिनियर को हो? यहाँ कोही कसैलाई मतलब छैन,’ उनले भने, ‘त्यसैले यो क्षेत्रबाट टाढा हुने निर्णय गर्दै अमेरिका उडेँ।’

४ हजारभन्दा बढी नेपाली म्युजिक भिडियोमा निर्देशन गरिसकेका उनले तीन दशक त म्युजिक भिडियोमा एकछत्र राज गर्न सफल थिए। विकले अमेरिकामा पनि डान्स कल्चर खोल्ने सोच बनाएका छन्।

‘आफूले जानेको कला यही हो। यहाँ रहेका नेपालीलाई म डान्स नै सिकाउने छु, ‘उनले भने, ‘यहाँ पनि नेपाली कला संस्कृतिलाई प्रोत्साहन दिने मेरो योजना हो।’ 

तपाईं अमेरिकामा नै रहने हो भन्ने उकेराको प्रश्नमा विकले भने, ‘एक-दुई वर्षपछि परिवारलाई सेटल गरेर नेपाल आउजाऊ गर्ने योजना छ।’

संगीत क्षेत्रमा आफूले कमाउनेभन्दा बढी गुमाएको विकले बताए।

भने,‘नेपाली म्युजिक लाइनमा यतिका वर्ष काम गरे तर, यही क्षेत्रमा काम गर्दा-गर्दै पनि चितवनमा रहेको पुर्ख्यौली सम्पत्ति ९ कट्ठा बेचेर गुजारा चलाउनुपरेको थियो।’

‘सालको पात टपरी हुने’, ‘त्यो मान्छेले हेरेको हेर्यै छ’, ‘चरी जेलैमा’, ‘चिटिकै भाछु रे’, ‘ह्यापी तिहार ह्यापी तिहार’ लगायत चर्चित गीतमा उनको निर्देशन छ। 

विकले फिल्मका गीतमा समेत नृत्य निर्देशन गरेका छन्। ‘प्रसाद’, ‘आई एम सरी’, ‘धुँवा यो नशा’, ‘धुम-२’ र ३ का गीतहरूमा उनले नृत्य निर्देशन गरेका छन्।

त्यस्तै ‘मेरी बास्सै’का कलाकार मधु आचार्य (चुल्ठे)पनि सपरिवार अमेरिका लागेका छन्।

लामो समयदेखि हास्य विधामा कलाकारिता गरिरहेका उनी जेठको पहिलो साता अमेरिका उडेका हुन्।

टेलिफिल्म ‘मेरी बास्सै’मा कलाकार मात्र नभई व्यवस्थापकको जिम्मामा समेत रहेका उनले केही म्युजिक भिडियोमा समेत काम गरिसकेका छन्।

सात वर्ष यो क्षेत्रमा लागेका उनी अन्ततः परदेशिए। अमेरिका पुगे पनि केही वर्षपछि नेपाल आएर मेरी बास्सै खेल्ने चाहना भने आफूले राखेको उनको भनाइ थियो। 

अघिल्ला पुस्ताका कलाकार सरोज खनाल, रमेश उप्रेती, जल शाह, दिलीप रायमाझी, अरुणिमा लम्साल, ऋचा घिमिरे,राजबल्लभ कोइराला, जीवन लुइँटेल, बाबु बोगटीलगायत नाम चलेका धेरै कलाकारले उतै बस्नेगरी देश छाडिसकेका छन्।

केही पनि बेलाबेलामा आउजाऊ गर्ने गर्छन्। तर त्यसले नेपाली कला क्षेत्रलाई खासै योगदान दिएको देखिँदैन। 

नेपालमा नाम चलेका र नचलेका अधिकांश कलाकार वैधानिक तथा अवैधानिक दुवै बाटोबाट बाहिरिएका छन्। धेरैजसो तयारीमा छन् भने कतिपय जान नपाएर बसेको बताउने गर्छन्। 

वैधानिक बाटोबाट जान नपाएकाहरूले विदेशमा हुने विभिन्न कार्यक्रम सहभागी भएर उतै (विदेश) लुक्ने गरेका पाइएको छ। यसरी लुक्नेहरूमा नव-कलाकारहरू बढी छन्। 

पलायन हुनु रोग नै बन्यो

कलाकारहरू बिदेसिनु रोग नै बनेको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला बताउँछन्। सरकारले राष्ट्रिय चलचित्र उद्योग प्रवर्द्धन गर्न नसक्दा यस्तो अवस्था आएको उनले बताए। 

‘यसैपालिको बजेटले विदेशी चलचित्रलाई पक्षपोषण गर्ने काम गर्यो,' निरौला भन्छन्, ‘राष्ट्रिय चलचित्रलाई हेर्दै हेरेन, चलचित्र नचलिरहेको अवस्था र रोजगार नपाइरहेको हुँदा मान्छे जहाँ रोजगार हुन्छ,जहाँ जीवन सुरक्षित हुन्छ त्यहीँ जाने त हो।’

सरकारले चलचित्र नीति राम्रो ल्याइदिए र २०२६ सालमा बनेको चलचित्र ऐनलाई परिष्कृत गर्दिने हो भने पनि कलाकार पलायन रोक्न सकिने उनको विश्वास छ। यसका अतिरिक्त सरकारले कलाकारको सामाजिक सुरक्षाको ग्यारेन्टी पनि गर्दिनुपर्ने उनले बताए। 

‘वर्षौं यही क्षेत्रमा बिताएका कलाकारको हात लाग्यो शून्य छ। कलाकारले वैकल्पिक रूपमा जीवन धान्न बिदेसिन बाध्य भएका हुन्। प्रतिभावान् नागरिक विदेश पलायन भए राष्ट्रलाई नै घाटा हुन्छ। यो पछि राष्ट्रिय समस्याको विषय आउँछ’, निरौलाले भने।

२७ जेठ, २०८०, १९:२४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।