डा. सबिनाको उपचार अनुभव : ‘तपाईंकै अनुहारभरि चायापोतो रहेछ डाक्टरसाप, मेरो के ठीक पार्नुहुन्छ ?’ भनेपछि...

डा. सबिनाको उपचार अनुभव : ‘तपाईंकै अनुहारभरि चायापोतो रहेछ डाक्टरसाप, मेरो के ठीक पार्नुहुन्छ ?’ भनेपछि...

काठमाडौंः प्राडा. सबिना भट्टराई सिनियर छाला, यौनरोग तथा सौन्दर्य विशेषज्ञ हुन्।

व्यक्तिको छाला तथा यौन रोगको औषधि उपचार मात्रै हैन, व्यक्तिलाई थप सुन्दर बनाउने समेत ज्ञान र सीप छ उनीसँग।

बिरामीको छाला उपचार गर्नु र चमक बनाउनु उनको दैनिकी हो। सयौँ बिरामीको उपचार गरिसकेकी उनी उपचार क्रममा भेटेका केही पात्रहरू भने कहिल्यै भुल्दिनन्। 

भारतको कलकत्तामा सबिना एमबीबीएस अध्ययनरत थिइन्। त्यसबेला करिब १६ वर्षकी युवती अस्पताल आइपुगिन्।सडक दुर्घटनामा परेकी उनको खुट्टाभरि घाउ भएको थियो। आर्थिक अवस्था अत्यन्तै कमजोर भएकी युवतीसँग पैसा अभावका कारण ढिलो अस्पताल पुगेकी थिइन्। 

कलकत्ताको त्यो गर्मीमा अस्पताल आइपुगेकी उनको दायाँ खुट्टाको घाउ पाकेर कुहिन लागिसकेको थियो। उनी हिँड्न पनि नसक्ने भइसकेकी थिइन्। अवस्था यतिसम्म दर्दनाक भइसकेको थियो कि, उनको खुट्टामा किरा नै परिसकेको थियो। 

ती युवतीको उपचारको जिम्मा सबिनालाई आयो। उनले उपचार सुरु गरिन्। घाउबाट किरा निकालिन्। उनले दैनिक ती युवतीको उपचार गरिरहिन्। करिब ३ हप्ता उपचार गरेपछि ती युवतीको घाउ ठिक भयो। र, उनी डिस्चार्ज भएर घर फर्किइन्। 

केही दिनपछि अस्पताल जाँदा युवतीले सबिनालाई भेटिन्। त्यतिबेलासम्म उनको घाउ निको भइसकेको थियो। फलोअपमा पुगेका बेला ती युवतीले डा. सबिनालाई जुत्ता उपहार दिइछिन्।

सुरुमा त आर्थिक अवस्था कमजोर भएकी युवतीले जुत्ता ल्याउँदा आफूलाई अहसहज लागेको डा. सबिनाले बताइन्। तर  तर, ती युवतीले आफ्नै हातले बनाएको भन्ने थाहा पाएपछि भने उनले स्विकार गरिन्। युवतीले कृतज्ञ भएर जुत्ता ल्याइदिएको घटना डा. सबिना कहिल्यै भुल्दिनन्। 

त्यसो त उपचारपछि ठिक भएर धेरै बिरामीहरूले उनलाई उपहार ल्याइदिने गरेका छन्। तर यो जुत्ताको घटना भने उनको जीवनमा अविस्मरणीय भएर बसेको छ।

दीर्घ रोगको समस्या भएकाहरू पटकपटक फलोअपका लागि उनीकहाँ आइरहन्छन्। जसले गर्दा बिरामीहरूसँग चाँडै घुलमिल हुने गरेको उनी सुनाउँछिन्। यसले बिरामीसँग आफ्नो सम्बन्ध आत्मीय र पारिवारिक बन्ने गरेको उनलाई भान हुन्छ। 

'तपाईंकै चायापोतो रहेछ मेरो के ठिक गर्नुहोला र?' भनेपछि...

डा. सबिनाले अर्को त्यस्तै उपचार प्रसंग उप्काइन्। उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छाला तथा यौन रोग विषय अध्ययनरत थिइन्।

डा. सबिना अस्पतालको ओपीडीमा बसिरहेकी थिइन्। करिब ३५ वर्षकी महिला आइपुगिन्। अनुहारमा चायापोतो आएर पिरोलिएकी ती महिलाले डा. सबिनाको मुहारमा अझ बढी चाया देखिन्। 

डाक्टरकै अनुहारमा चायापोतो देखेपछि ती महिलाले दिक्क मानिन्। अनि भनिन्, ‘आइहालेँ। निको हुने भएको भए त आफ्नै निको पार्नुहुन्थ्यो होला। तपाईंकै यस्तो कालै छ, मेरो के निको पार्नुहुन्थ्यो होला। त्यही पनि आइहालेँ अब औषधि लेखिदिनुहोस्।’

महिलाको कुरा सुनेर सबिनाको मन चसक्क बिझ्यो। सबिनाले ती महिलालाई सम्झाइन्। त्यसबेला गर्भवती थिइन् सबिना।हार्मोनका कारण उनको अनुहारमा चायापोतो आएको थियो। गर्भावस्थामा चायापोतो आउनुलाई स्वाभाविक रूपमा लिइन्छ। 

तर, उपचारका लागि आइपुगेकी ती महिलाको अनुहारमा चायापोतो आउनुको कारण भने फरक थियो। उनको उपचार पनि सम्भव थियो। डा. सबिनाले केही औषधि लेखिदिइन्। तर, ती महिलाले पत्याएकी थिइनन्, निराश हुँदै ओपीडीबाट बाहिरिइन्। 

बेलुकी अस्पतालबाट फर्केपछि डा. सबिनाले घर पुगेर आफ्नो अनुहार हेरिन्। उनले आफ्नो अनुहारमा साँच्चिकै चायापोतोले ढाकेको पाइन्। तर, उनी निश्चित समयपछि आफूमा आएको चायापातो हट्नेमा विश्वस्त थिइन्।

ती महिलाले त्यस्तो बचन लाए पनि अहिले भने आफूकहाँ 'तपाईंको जस्तै बनाइदिनु न' भन्दै धेरै व्यक्तिहरू आउने गरेका डा. सबिना बताउँछिन्। 

'असुरक्षित यौनसम्पर्कपछि कलेज ड्रेसमै उपचारका लागि आइपुग्छन्' 

आजभोलि यौन संक्रामक रोग लागेर उपचारका लागि आउनेहरू पनि बढ्न थालेका डा. सबिना बताउँछिन्। त्यसमा पनि किशोरावस्थाका बढी हुने गरेका उनको अनुभव छ। जुन देख्दा सबिना दुःखी हुन्छिन्। 

कक्षा ११/१२ कक्षा पढ्ने कतिपय विद्यार्थी यौन रोगको समस्या लिएर कलेज ड्रेसमै आउने गरेका उनले भेटेकी छन्। तर यसरी कलेज ड्रेसमै युवायुवती असुरक्षित यौन सम्पर्क गरेर उपचारका लागि आउँदा भने पीडा हुने बताउँछन्। 

'कतिपय त चिनजानकै साथीहरूका छोराछोरीसमेत यौन रोगको समस्या लिएर आउँछन्,' डा. सबिना भन्छिन्। 

उपचार गर्न आएका कतिपय किशोरकिशोरी तथा युवायुवतीले त बुवाआमालाई नभनिदिनू है समेत भन्ने गरेका उनी बताउँछिन्। 

'चिकित्सकीय धर्मले बिरामीको स्वास्थ्य अवस्थाबारे गोप्य राख्दिन्छु, तर छोराछोरीले असुरक्षित यौन सम्पर्क गरी गलत बाटोमा लागेकै कारण यौन रोगको समस्यामा पर्ने गरेको देख्दा भने दुःख लाग्छ,' सविना भन्छिन्। अभिभावकलाई उनीहरूका छोराछोरीको अवस्था भन्न नपाउँदा भने डा. सविनालाई नरमाइलो लाग्छ। 

आजकाल युवायुवतीमा असुरक्षित यौन सम्पर्कका कारण धेरै समस्या देखा पर्न थालेको डा. सबिनाको बुझाइ छ। जसका कारण यौनाङ्ग वरिपरि घाउ आउने, पिप आउनेजस्ता गनोरियाको संक्रमण बढी देखिने गरेको उनले बताइन्। 

त्यसैगरी उनीहरूमा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) का कारण यौनाङ्गमा मुसा पनि आउने संक्रमण देखिने गरेको सविनाले सुनाइन्। यो समस्या समाधान गर्न विद्यालय तहमा नै प्रभावकारी शिक्षा दिनुपर्ने उनको सुझाव छ। 

कुष्ठरोगीलाई छुन डर लाग्थ्यो

चिकित्सा विषय अध्ययन गर्ने क्रममा उनलाई कुष्ठरोगीलाई छुन भने डर लाग्थ्यो। तर, यस्ता कैयौं रोगको पहिचान पञ्जासमेत नलगाई छालामा छोएर तथा छामेर नै पत्ता लाग्ने डा. सबिनाले सुनाउँछिन्। पढाउने क्रममा समेत विद्यार्थीहरू यस्ता सरुवा रोग भएका बिरामीलाई छुन डराउने गरेका उनी बताउँछन्। 

चिकित्सा शास्त्रका कैयौं विद्यार्थी कुष्ठरोगी आए उपचार गर्नबाट भाग्ने गरेका उनले देखिकी छिन्। 

तर, सुरक्षित भएर छुँदा तथा उपचार गर्दा त्यति सजिलै कुष्ठरोग नसर्ने उनी बताउँछिन्। व्यक्तिमा कुष्ठरोगको संक्रमण भए पनि यो रोगको लक्षण देखिन दश १० लाग्ने डा. सबिनाको भनाइ छ।  

कक्षा ३ सम्म अमेरिकामा अध्ययन

२०३० मा काठमाडौंमा जन्मिएकी सविना बुवाको अध्ययन सिलसिलामा अमेरिका पुगिन्। सबिनाको पढाइ अमेरिकामा नै सुरु भयो। त्यसपछि नेपाल फर्केर उनी सेन्टम्यारिज विद्यालयमा कक्षा ३ मा भर्ना भइन्। २०४६ सालमा त्यहीँबाट उनले एसएलसी दिइन्। पढाइ अब्बल थियो उनको। 

उनले मोर्डन इन्डियन स्कुलबाट प्लस टु गरिन्। त्यो बेला सो स्कुल ललितपुरको सानेपामा थियो। 

सबिनालाई डाक्टर बन्ने रहर थियो। उनले जगदम्बा गुठीको छात्रवृत्तिमा भारतमा एमबीबीएस अध्ययन गर्ने मौका पाइन्। अनि सन् १९०३ मा भारतको कलकत्ता मेडिकल कलेजमा पुगेर एमबीबीएस भर्ना भइन्। सन् २००० मा उनी एमबीबीएस अध्ययन सकेर नेपाल फर्किइन्। 

त्यसपछि उनी जागिरको खोजीमा लागिन्। र एकदिन जागिर खोज्ने सिलसिलामै त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा पुगिन् त्यहाँ डाक्टरको आवश्यकता थियो। उनले त्यहाँ मेडिकल अधिकृतका रूपमा करारमा एक वर्ष काम गरिन्। 

त्यही बीचमा डा. सबिनाको विवाह भयो। उनले एक वर्ष ओम अस्पतालमा पनि काम गरिन्। 

त्यसपछि उनले थप अध्ययन थालिन्। सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २००३ मा स्नातकोत्तर तहको छाला तथा यौन रोग विषयमा एमडीका लागि भर्ना भइन्।

सन् २००५ मा उनको एमडी अध्ययन पूरा भयो। उनले त्यहाँ पनि छात्रवृत्तिमा अध्ययन गरिन्। छात्रवृत्ति अध्ययन गरेबापत ५ वर्ष उनले बीपीमै काम गर्नुपर्ने थियो। त्यहाँको करार अवधि सकिएपछि पनि उनले बीपीमै थप दुई वर्ष काम गरिन्।

धरानमा बस्दा नै उनका दुई जना छोरा जन्मिए। १० वर्ष धरान बसाइपछि सन् २०१२ मा उनी काठमाडौं फर्किइन्। 

काठमाडौं फर्केपछि सहप्राध्यापकका रूपमा डा. सबिना काठमाडौं मेडिकल कलेजमा जागिरे भइन्। जहाँ बिरामीको उपचार मात्र नभई चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने पनि काम भयो।

बढुवा भएर उनले प्राध्यापकको उपाधि प्राप्त गरिन्। सो मेडिकल कलेजमा उनले उपप्राचार्य (भाइस प्रिन्सिपल) को भूमिकामा रहेर समेत करिब ६ वर्ष काम गरिन्।

उनले दुई वर्षअघि काठमाडौं मेडिकल कलेजको जागिर छाडिन्। हाल उनी लभाना स्किन एण्ड हेयर क्लिनिकलगायतमा कार्यरत छिन्। 

अनुहारको चायापातो हटाउने, पिम्पल हटाउनेलगायत छालाजन्य समस्याको उपचार गर्नु तथा व्यक्तिलाई थप सुन्दर बनाउनु उनको दैनिकी हो। 

२७ जेठ, २०८०, १७:३९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।