सेती जलविद्युत आयोजनाको ९० प्रतिशत काम सकियो

सेती जलविद्युत आयोजनाको ९० प्रतिशत काम सकियो

कास्की : कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।

वि. सं २०७७ भदौदेखि निर्माण सुरु भएको विद्युत आयोजनाको हालसम्म ९० प्रतिशत काम सकिएको आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ।

आयोजना माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको छ। आयोजनाको  सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन निर्माण तर्फका सबै काम अन्तिम चरणमा पुगेको कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए।

उनका अनुसार ढिलोमा आगामी मङ्सिरभित्रमा आयोजना सम्पन्न भएर व्यावसायिक रुपमा विद्युत उत्पादन हुनेछ।

स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाट नै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको उनले जानकारी दिए।

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने योजना छ।

सेती जलविद्युत आयोजनामा रु पाँच अर्ब लगानी रहेको छ। यसमा रु तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्। अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आईपीयो जारी गरेर पूरा गरिने आयोजनाले जनाएको छ।

२१ जेठ, २०८०, ०७:४४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।