अब एनआरएनले पनि नेपाली नागरिकता पाउने,राजनीतिक र प्रशासनिक हक भने नपाउने

अब एनआरएनले पनि नेपाली नागरिकता पाउने,राजनीतिक र प्रशासनिक हक भने नपाउने

काठमाडौँ : विदेशी नागरिक बनेका गैर आवासीय नेपालीले चाहेमा राजनीतिक र प्रशासनिक हक नपाउने गरी नेपाली नागरिकता पाउने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि संविधानमा रहेको  गैर आवासीय नेपालीलाई नागरिकता लिने कानुनी बाटो खुलेको हो।

अब वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिई पछि विदेशी मुलुकको नागरिकता लिएका गैर आवासीय नेपालीले चाहेमा नेपाली नागरिकता बनाउन सम्भव भएको हो।

नेपालको संविधानमा राजनीतिक र प्रशासनिक अधिकार नपाउने गरी गैर आवासीय नेपालीलाई नागरिकता दिने उल्लेख भए पनि सो अनुसार कानुन नबन्दा यो सम्भव थिएन।

नागरिकता ऐन अनुसार विदेशी नागरिक बने लगत्तै नेपाली नागरिकता स्वतः निष्क्रिय हुने भए पनि लुकिछिपी नेपाली नागरिकता नत्यागी आवश्यक परेमा प्रयोग हुँदै आएको केही घटनाले पुष्टि गरेको थियो।

अब निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेस गरेर गैर आवासीय नेपालीको हक अनुसार नेपाली नागरिकता बनाउन पाउने छन्।

यसैगरी विदेशी मुलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण, नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्र पेस गरेपछि एनआरएनले नेपाली नागरिकता पाउने छन्।

एनआरएनको हकमा पाउने नागरिकताले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाइन्छ। तर राजनीतिक र प्रशासनिक अधिकार प्रयोग गर्न रोकेको छ।

विधेयक प्रमाणीकरण भएपछि अब नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले समेत तत्कालै नागरिकता पाउने छन्। सो नागरिकताको प्रकार वंशज नभई अङ्गीकृत हुनेछ। 

१७ जेठ, २०८०, ०१:२९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।