चलचित्रकर्मीको आक्रोशः १० वर्षदेखि बन्न नसकेको फिल्म सिटीलाई मात्र बजेट,अरूलाई खोइ ?

चलचित्रकर्मीको आक्रोशः १० वर्षदेखि बन्न नसकेको फिल्म सिटीलाई मात्र बजेट,अरूलाई खोइ ?

काठमाडौंः १० वर्षअघि दोलखामा अन्तर्राष्ट्रिय ‘फिल्म सिटी’ निर्माणको घोषणा गरिएको थियो।

तत्काललीन सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले फिल्मसिटी निर्माण गर्न भन्दै दोलखाको लाँकुरीडाँडालाई रोजेका थिए। 

उनले सबै प्रक्रिया पूरा गरेर प्रस्तावित त्यो समयमा फिल्म स्टुडियोका लागि तत्काल दुई करोड बजेटसमेत विनियोजन गरिएको बताएका थिए।

फिल्म सिटी लागि भनेर सो क्षेत्रमा पर्ने १५ सय रोपनी जग्गा र आसपासलाई फिल्म सिटी बनाउने प्रस्ताव गरिएको थियो।

लामोसाँघु-जिरी सडक खण्डमा रहेको खरिढुंगा बजारबाट ६ किलोमिटर सडक हुँदै पुगिने ठाउँमा फिल्म सिटीको निर्माणका लागि काम बढाइएको थियो। जुन काम अहिले पनि चलिरहेको छ। 

गत वर्ष १६ पुसमा चलचित्र विकास बोर्डका अध्यक्ष अध्यक्ष केसी, सदस्य राज कटुवाल, सञ्चालक तथा व्यवस्थापन समिति संयोजक मदनदास श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह-सचिव उत्तरकुमार खत्री, मन्त्रालयका उपसचिव तथा बोर्ड सदस्य श्रीधर ज्ञवालीलगायत जम्बो टोली फिल्म सिटीको अनुगमन तथा छलफल’ गर्न दोलखा पुग्यो।

अनुगमनमा पुगेको फिल्म सिटीको प्रगति हुँदैछ भन्ने सन्देश बोकेर टोली काठमाडौँ फर्किएको थियो। 

आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले फिल्म सिटी निर्माणका लागि सार्वजनिक तथा निजी मिलेर इन्डोर स्टुडियो दोलखा र बनेपामा गर्ने बताएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक-निजी साझेदारीमा दोलखा र बनेपामा इन्डोर फिल्म स्टुडियो बनाउने घोषणा गरेका हुन्। फिल्म सिटी निर्माण घोषणाको १० वर्षसम्म पनि सरकार अझै घोषणामा नै अल्झिरहेपछि फिल्मकर्मीमा निराशा छाएको छ। 

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का नबन्ने फिल्म सिटीको घोषणाले काम नहुने बताउँछन्। यस पटकको बजेटले फिल्म क्षेत्रलाई समेट्न नसकेको भन्दै उनले दुखेसो पोखे। 

भने,‘बजेट भाषणमा निराशाबाहेक केही छैन। नेपाली फिल्म क्षेत्रलाई शासकहरूले सौतेनी व्यवहार गरेका छन्।'

फिल्म सिटीका लागि बजेट छुट्याए पनि कहिले बन्छ त्यो टुंगो कहिल्यै लाग्न नसकेको उनले निराशा पोखे। 

'त्यो पनि कहिले बन्ने थाहा छैन। हामीले चलचित्र विकासका लागि विभिन्न योजनाहरू दिएका थियौँ। त्यो कुराले कतै स्थान पाएन,’ खड्काले भने। 

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला पनि फिल्म क्षेत्रलाई सरकारले पूर्ण रूपमा बेवास्ता गरेको भन्दै दुःखी भए। 'बजेटले फिल्म सिटी बन्ने र पर्यटनलाई अलिकति समेटेको छ। त्योबाहेक अरू केही छैन,' उनले भने, 'सरकारले चलचित्र क्षेत्रका धेरै कुरा समेट्न दिएको सुझावलाई बेवास्ता गरेको छ।'

बजेटमा फिल्मी उद्योगलाई प्रोत्साहन गर्ने खास कुरा नआएको उनको भनाइ थियो। ‘अहिलेसम्म भारतीय तथा विदेशी चलचित्र प्रदर्शनबाट आएको करमा चलचित्र विकास बोर्ड चलिरहेको छ। त्यसलाई चाहिँ आत्मनिर्भर बन्नुपर्छ भन्ने कुरामा हामीले जोड दिएका थियौँ। त्यो पनि भएन। नीति तथा कार्यक्रममा आउला कि भनेका थियौँ त्यो पनि आएन,’ उनी निराश भए। 

वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पनि बजेटमा फिल्मकर्मीलाई बेवास्ता गरेको बताए। 

उकेराकर्मीसँगको कुराकानीमा उनले भने, 'कुनै पनि चलचित्रकर्मीले राष्ट्र र राष्ट्रियता भावनात्मक हिसाबले फिल्म निर्माण गर्न चाहन्छन् भने त्यस्ता निर्मातालाई प्रोत्साहनस्वरूप सरकारले अलिकति लगानी गरिदिनुपर्छ भन्ने मेरो धारणा हो।’

सरकारले बजेटमा चलचित्र क्षेत्र नसमेटेको प्रति चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले पनि चित्त दुखाएका छन्।

केही दिनअघि मात्रै उनीहरूको समूहले आगामी बजेटमा चलचित्र क्षेत्र समेट्न सरकारलाई ज्ञापनपत्र बुझाएका थिए। त्यो बुझाएको ज्ञापनपत्र उनलाई यतिबेला भने व्यर्थै लागेको छ।  अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमा काभ्रे र दोलखामा फिल्म स्टुडियोबाहेक अन्य नअटेप्रति उनको आक्रोश छ। 

अघिल्ला वर्षहरूमा बजेट प्रस्तुत हुनुअघि चलचित्रकर्मीलाई परामर्शका लागि बोलाउने गरिए पनि यसपटक सरकारले पूरै बेवास्ता गरेको पराजुलीको आरोप छ। 

सामाजिक सञ्जालमार्फत उनले अहिलेको बजेटलाई बहिष्कारै बहिष्कार लेखेका छन्। उनले लेखेका छन्, ‘चलचित्र क्षेत्र नसमेटिएको बजेट हामीलाई न लौरो, न हतियार। न हर्ष ,न बिस्मात। बरु बहिष्कारै बहिस्कार।’ 

फिल्म सिटीको अवस्था कस्तो छ ?  

श्रेष्ठ फिल्म सिटी निर्माणका संयोजकसमेत हुन्। राजनीतिक उथलपुथलका कारण फिल्म सिटी बन्न ढिलाइ भएको उनले बताए। यसको कुरा उठेको एक दशक भए पनि जग्गा प्राप्त भएपछि काम भने केही वर्षअघिबाट मात्रै थालनी भएको उनले जानकारी दिए। 

दोलखामा निर्माणधीन फिल्म सिटीमा अहिले पिच बाटो, बिजुली,खानेपानी,रेस्टुरेन्ट तथा पाहुना घरसमेत निर्माण भई प्रवेशद्वार निर्माण भइसकेको श्रेष्ठले उकेरासँग बताए।

बागमती प्रदेशबाट छुट्याइएको बजेटबाट एउटा प्रशासनिक भवन,एउटा सांस्कृतिक संग्रहालय भवन,गेष्ट हाउसका साथै रेस्टुरेन्ट बनिसकेको र अन्तिम रूप दिन बाँकी रहेको उनले जानकारी दिए। 

श्रेष्ठका अनुसार यो काम अघिल्लै सरकारको पालामा बनिसक्नुपर्ने थियो। तर, तत्कालीन प्रधानमन्त्री केपी ओलीले 'त्यो दोलखामा घाम पनि लाग्दैन, पानी पर्ने र हुस्से लाग्ने गर्छ। त्यस्तो ठाउँमा फिल्म सिटी हुँदैन' भनेर मिडियाबाजी गरेपछि निर्माणमा ढिलाइ मात्र होइन, बन्ने नबन्ने दोधारमा पुगेको थियो। 

ओलीको पालामा दोलखामा फिल्म सिटीको सम्भावना नरहेको भन्दै फिल्म स्टुडियोमात्र बनाउने घोषणा गरिएको थियो। 

तर यस पटक प्रदेश सरकारले दोखलामा फिल्म सिटी समेटेकाले काम द्रुतमार्गमा हुन सक्ने श्रेष्ठ बताउँछन्। 

१७ जेठ, २०८०, २०:४४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।