रेशम चौधरीविरुद्धको रिट आनन्दमोहन भट्टराईको इजलासमा, १४ नम्बरमा पालो

रेशम चौधरीविरुद्धको रिट आनन्दमोहन भट्टराईको इजलासमा, १४ नम्बरमा पालो

काठमाडौं : टीकापुर घटनामा दोषी रेशम चौधरीको सजाय मिनाहा गर्ने राष्ट्रपतिको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलासमा परेको छ।

भट्टराईको इजलासमा परे पनि पालो भने १४ नम्बरमा परेको छ। १३ वटा मुद्दाको सुनुवाइ सकेपछि मात्र उक्त रिटमा सुनुवाइ हुनेछ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्वारा चौधरीको सजाय मिनाहा गर्ने निर्णयविरुद्ध टीकापुर घटनाबाट पीडित शारदा कडायत बोहोराले मंगलबार सर्वोच्चमा रिट दर्ता गरेकी थिइन्।

कडायत टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन्। उनले राष्ट्रपतिको कार्यालय र रेशम चौधरी लगायतलाई विपक्षी बनाएकी छन्।

जिल्ला, उच्च र सर्वोच्च अदालतबाट जन्मकैद सजाय सुनाइएका चौधरी डिल्लीबजार कारागारमा थुनामा थिए। अदालतको फैसलाअनुसार चौधरी २०९४ साल फागुन १३ गतेसम्म जेलमा बस्नुपर्ने थियो। तर राष्ट्रपतिको निर्णयअनुसार चौधरी सोमबार नै रिहा भइसकेका छन्।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मीको  मृत्यु भएको थियो। यसै क्रममा एक बालकको निर्ममतापूर्वक हत्या गरिएको थियो।

१७ जेठ, २०८०, ११:२३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।