विहानभरीको रस्साकस्सीपछि राष्ट्रपतिको उपस्थितिमा यसरी चल्नेछ संयुक्त बैठक

विहानभरीको रस्साकस्सीपछि राष्ट्रपतिको उपस्थितिमा यसरी चल्नेछ संयुक्त बैठक

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

संसद सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा राष्ट्रपतिबाट अपराह्न ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उल्लेख छ। त्यसका लागि दुवै सदनका सांसदलाई अपरान्ह २:४५ बजेभित्र सदनमा प्रवेश गरिसक्न भनिएको छ।

सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गरिसकेका छन्। जहाँ उनले दलहरूबीचको खिचातानीले संवैधानिक संकट हुने अवस्था नआओस् भन्दै सचेत समेत गराएका छन्।

‘राजनीतिक दलहरुबीच सहमति नहुँदा संसदका बिजनेश प्रभावित हुने देखिएको छ,’ सभामुखको भनाई उदृत गर्दै सभामुखको सचिवालयले भन्यो, ‘संवैधानिक संकट हुने अवस्था नआओस्।’

संसदको संयुक्त बैठक सकेपछि साँझ ६ बजे प्रतिनिधि सभाको बैठक सुरू हुनेछ, जहाँ प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको प्रतिसहित राष्ट्रपतिलाई धन्यवाद दिन प्रस्ताव टेबुल गर्नेछन्।

त्यसपछि कार्यव्यवस्था समितिले तयार गरेको तालिका अनुसार नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

साँझ बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।

त्यसपछि सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नेछन्।

सभामुखले ‘सम्माननीय राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्वत् २०८१ जेठ १ गते मंगलबारका दिन गर्नुभएको सम्बोधनको लागि प्रतिनिधि सभाको यो बैठक सम्माननीय राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ’ भन्ने व्यहोरा पढेर सुनाउनेछन्।

मंगलबारकै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिएका छन्।

यद्यपि नेपाली कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने बाहेक अन्य सम्पूर्ण संसदीय कामकारबाही ठप्प पार्ने तयारी गरेको छ। मंगलबार प्रधानमन्त्रीसँगको भेटपछि कांग्रेसले संसदीय दलको बैठक बसेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नदिने बताएको थियो।

जेठ १, २०८१ मंगलबार १४:२०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।