मन्त्रीलाई बालेनको सात दिने अल्टिमेटम- विपन्नलाई छुट नदिने ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्नूस्, नत्र हामी गर्छौँ

मन्त्रीलाई बालेनको सात दिने अल्टिमेटम- विपन्नलाई छुट नदिने ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्नूस्, नत्र हामी गर्छौँ

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले विपन्नलाई छुट सुविधा दिएको विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने चेतावनी दिएका छन्।

महानगरभित्र भएका ६८ स्वास्थ्य संस्थाको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई बुझाउँदै उनले सात दिनभित्र मन्त्रीले नियमन र कारबाही नगरे प्रशासन बन्द गर्ने चेतावनी दिएका हुन्।

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुनमा विपन्न एवं लक्षित वर्गहरूलाई कूल शैय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरू उल्लेख छन्।

महानगरभित्रका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरूसँग लक्षित वर्गलाई उपलब्ध गराइएको छुट सुविधाको विवरण माग गरिएको थियो।

जेठ ६ गते सूचना जारी गरेर छुट सुविधा दिएको विवरण माग्दा समेत ६८ स्वास्थ्य संस्थाले उपलब्ध नगराएको मेयर शाहको भनाइ छ।

प्रमुख शाहले  नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको समेत स्मरण गराएका छन्।

१७ जेठ, २०८०, ०९:३७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।