पूर्वराजाविरुद्ध कर्णालीबाट खनिए तीन दलका नेताः जनतालाई जिस्क्याए डाँडा कटाउने चेतावनी

पूर्वराजाविरुद्ध कर्णालीबाट खनिए तीन दलका नेताः जनतालाई जिस्क्याए डाँडा कटाउने चेतावनी

सुर्खेतः शनिबार कर्णाली प्रदेशमा नागरिक अभिनन्दनका लागि वीरेन्द्रनगर पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई लिएर कर्णालीका प्रमुख तीन दलको ध्यानाकर्षण भएको छ।

विशेषगरी कर्णाली प्रदेश सभामा प्रतिनिधत्व गर्ने सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूको एउटै स्वर देखिएको छ।

प्रदेश सरकारको आयोजनामा सोमबार ‘१६ औँ गणतन्त्र दिवस’ मनाउने कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एमालेले मन्तव्यको केन्द्रविन्दुमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राखे।

शनिबार पूर्वराजा शाह वीरेन्द्रनगरमा आयोजित अभिनन्दन कार्यक्रममा सहभागी भए। त्यसको अघिल्लो दिन शुक्रबार प्रदेश सभामा समेत राप्रपा सांसद र गणतन्त्र पक्षधर सांसदहरूबीच संसदमै भनाभनको स्थिति सिर्जना भएको थियो। 

सम्बोधनका क्रममा पूर्वराजा शाहले अहिलेका राजनीतिक दलहरूबाट देश संकटमा धकेलिरहेको र देशप्रति दलहरूको प्रेम नभएको अभिव्यक्ति दिएका थिए।

उक्त विषयलाई लिएर आइतबारको संसदमा पनि प्रमुख दलका नेताहरूले संसदमा कुरा उठाए। सोमबार गणतन्त्र दिवसको अवसरमा पनि नेताहरूले मन्तव्यका क्रममा नै पूर्वराजाको विषयमा नै टिप्पणी गर्दै मुख्यमन्त्री राजकुमार शर्मा, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र प्रतिपक्षी दलका नेता यामलाल कँडेलले आक्रोश पोखे। 

‘जनतालाई जिस्क्याएर भ्रम छरे, डाँडा कटाइन्छ’

मुख्यमन्त्री शर्माले गणतन्त्रमाथि धावा बोल्नेहरूलाई डाँडा कटाउनुपर्ने चेतावनी दिए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला अभिव्यक्तिप्रति संकेत गर्दै भने, ‘विभिन्न कारण अहिलेको व्यवस्थाप्रति प्रश्न उठाउने कामहरू भइरहेको बताए।  

मुख्यमन्त्री शर्माले गणतन्त्रको विकल्प राजतन्त्र नहुने बरु समाजवाद हुनसक्ने बताए।

‘देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरू एक ठाउँमा हुने गरेका छन्। यो व्यवस्था दशकौं लामो संघर्षको जगबाट आएकाले हो,’ मुख्यमन्त्री शर्माले भने, ‘यसरी जनतालाई जिस्क्याएर भ्रमित बनाए डाँडो कटाउन नपरोस्। पाखातिर नै राम्रोसँग बसे हुन्छ।’ 

उनले कर्णाली र समग्र देशलाई आर्थिक समृद्धितर्फ लैजान संकल्प र एकता चाहिएको हुँदा गणतन्त्र दिवस मनाउनुको सार्थकता पनि यही भएको बताए। 

‘गणतन्त्रको विकल्प पश्चगमन हुन सक्तैन, राजतन्त्र हुन सक्तैन। बरु, समाजवाद हुन सक्ला,’ शर्माले भने, ‘जनताको लामो संघर्ष, महान् जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनको तागतका कारण अहिलेको व्यवस्था आएको हो।’ 

‘गणतन्त्रको विकल्प, राजतन्त्र हुन सक्दैन’ 

नेपाली कांग्रेस संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले गणतन्त्रको विकल्प, राजतन्त्र र प्रजातन्त्रको विकल्पमा श्री ३ हुन नसक्ने बताए। 

मन्तव्यको सुरुमै पूर्वराजालाई इंगित गर्दै उनले भने, ‘पछाडि फर्केर जाने हो भने श्री ५ बाट श्री ३ मा जानुपर्ने होला, यो कुरामा सबैले ध्यान दिनुपर्ने हुन्छ। हिजो एउटा प्रधानपञ्चविरुद्ध बोल्यौँ भने पनि जेलको कठघरामा जानुपर्थ्यो। आज हामी तिनै जनता हौँ, प्रधानमन्त्रीको फोटोमा कुकुरको फोटो, मुख्यमन्त्रीको फोटोमा गधाको फोटो राख्यौं भने पनि हामी भन्ने गर्छौं, यो त प्रजातन्त्र हो, गणतन्त्र हो, त्यसैले गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन।’ 

विगतमा बीपी, पुष्पलाल र पछिल्लो चरण प्रचण्डले आन्दोलन र संघर्ष नगरेको भए नेपाल यो स्थितिमा नपुग्ने उनले दाबी गरे। 

‘बाकस थापेर जनताका बीचमा आउनुस्’

नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले पूर्वराजालाई चेतावनी दिँदै राप्रपाको अध्यक्ष बन्न सुझाव दिए। उनले राप्रपाका नेताहरूलाई ज्ञानेन्द्र शाहलाई अध्यक्ष मानेर अघि बढ्न अनुरोध गरे। 

‘हिजो हामीले जसरी गणतन्त्र प्राप्तिका लागि लडिरहेका थियौं, आज फेरि गणतन्त्रमाथि प्रश्न उठिरहेको छ। एउटा व्यक्ति, एउटा पार्टी विशेषको गल्तीले हामीले प्राप्त गरेको गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, बहुदलीय व्यवस्थाको विकल्प निरंकुशतन्त्र हुन सक्तैन।’ 

सुध्रिएर अघि बढ्न सके मात्रै गणतन्त्रलाई जनताको जीवनसँग संस्थागत गर्न सकिने नेता कँडेलले बताए।
ज्ञानेन्द्र शाहजस्ता बेलाबखत आएर कहिले हिन्दू धर्मका नाममा त कहिले केका नाममा झुण्डहरूले देशलाई पछाडि धकलेको नेता कँडेलको आरोप छ। 

उनले अहिलेका राजनीतिक दलहरूले राम्रो काम गरिरहेका छैनन् भन्ने लागेको भए पूर्वराजा  शाहलाई बाकस थापेर जनताका बीचमा आउनसमेत आग्रह गरे।

१५ जेठ, २०८०, २२:४०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।