पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चरम लापरवाही, प्राधिकरणसँगै छैन जग्गाधनी पूर्जा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चरम लापरवाही, प्राधिकरणसँगै छैन जग्गाधनी पूर्जा

काठमाडौँः राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा चरम लापरबाही भएको नयाँ तथ्यहरू भेटिएका छन्।

आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन र महालेखापरीक्षकको आर्थिक वर्ष ०७९/८० प्रतिवेदनअनुसार विमानस्थल बनाउँदादेखि नै चरम लापरवाही भएको पाइएको हो। 

विमानस्थलको निर्माण कार्य करिब करिब पूरा भई २०२३ जनवरी १ देखि आन्तरिक उडान सञ्चालन हुँदै आएको छ। उक्त विमानस्थल बनाउँदा जग्गा अधिग्रहण गर्दा संकलन गरेको जग्गाधनी पुर्जा भने नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षित साथ नराखेको पाइएको हो।

उकेरालाई प्राप्त आर्थिक वर्ष ०७८/७९ को अन्तिम लेखापरीक्षण प्रारम्भिक प्रतिवेदनअनुसार नयाँ विमानस्थल निर्माणका लागि २०२८ सालदेखि उपत्यका र सर्वे नापी गरी २०३२ सालको राजपत्रमा प्रकाशित गरी ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

तर जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरे/नगरेको यकिन गर्न आवश्यक लगत प्राधिकरणले अद्यावधिक गरेको देखिएको छैन। 

विमानस्थल निर्माणका लागि थप जग्गा अधिग्रहणका लागि पहिलो चरणमा २०७१ जेठ १६ गते ६२८-०९-०१० क्षेत्रफलमध्ये विजयपुर तर्फको १३२ रोपनीमध्ये ८०.३२ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरेको थियो।

त्यस्तै दोस्रो चरणमा ३७३-०१-०३-० मध्ये ३३५.७९ रोपनी अधग्रहणका लागि सूचना प्रकाशित र तेस्रो चरणमा १२१-११-३० मध्ये १०५.२८ रोपनी अधिग्रहणका लागि सूचना प्रकाशित गरी जम्मा ५२१.३९ क्षेत्रफल जग्गा अधिग्रहणका लागि सूचना निकालिएको थियो। 

र, बाँकी ५६ रोपनी क्षेत्रफल सार्वजनिक बाटो, कुलो, पर्ती आदि रहेको देखिन्छ। १० मिटर आउट पेरिफेरि  रोडको निर्माणका २०७४ असोज २८ मा ५९.४८ रोपनी तथा एप्रोच लाइटिङ वेष्ट ग्लाइड पाथ एरिया मेट्रोलोजिकल बिल्डिङका लागि थप जग्गा आवश्यक परेपछि २०७६ चैत  १० मा ८९.५४ रोपनी जग्गा अधिग्रहणको लागि सूचना प्रकाशित भएको थियो।

हालसम्म अधिग्रहणमा परेको जग्गाहरूको मुआब्जा वितरण कार्य करिब पूर्ण हुने अवस्थामा रहे पनि जग्गाधनी प्रमाणपत्रहरू एकत्रित गरी एउटै प्रमाण बनाई नराखेको देखिएको हो।

अहिलेसम्म केकति जग्गा प्राधिकरणको नाउँमा छ भनी यकिन गर्न नसकिने प्रतिवेदनमा उल्लेख छ। 

सम्पत्ति सुरक्षा नगरेको ठहर 

प्राधिकरणले आफ्नो सम्पत्ति व्यवस्थापन तथा सुरक्षण प्रभावकारी ढंगले गरेको नदेखिएको प्रतिवेदनमा औँल्याइएको छ।

विमानस्थलले ओगटेको जग्गाको अतिक्रमण नेपाल नागरिक उडड्यन प्राधिकरणको सम्पत्तिअन्तर्गत पोखरा विमानस्थल, नागरिक उडड्यन प्राधिकरणको नाउँमा ११५६-१०-१-०.५ रोपनी जग्गा रहेको देखिन्छ भने सो जग्गाको पूर्ण भोगचलन प्राधिकरणले नगरेको भेटिएको हो। 

२०६८ असार १९ गते पोखरा नागरिक उड्डयन कायर्यलयले कर्पोरेट निर्देशनालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयलाई भोगचलनको विवरण पठाएको थियो। 

सो विवरणमा विमानस्थलको जग्गाको मुस्ताङ चोकमा रहेको पार्टी प्राथमिक विद्यालयबाट करिब २ रोपनी जग्गा अतिक्रमण भएको, सोही एरियाको विमानस्थलको जग्गामा सुकुमबासीले सानो छाप्रो बनाई बस्दै आएको देखिएको छ।

त्यस्तै विमानस्थल सञ्चालन हुँदाका बखतदेखि हालसम्म पोखरा उद्योग वाणिज्य संघबाट नागढुंगा एरिया विमानस्थलको जग्गामा एउटा आर्ट ग्यालरी निर्माण गरेको र सोही क्षेत्रमा आमा समूहबाट एक किरयापुत्री भवन साथै प्रतीक्षालय जबरजस्ती निर्माण गरेको पनि उल्लेख गरेको छ। 

त्यस्तै नजिकको जग्गामा जनप्रिय स्कुलबाट अस्थायी खेल मैदानको रूपमा प्रयोग गरेको तथा सोही नजिक २०६० सालमा मेयर हर्क गुरुङको सालिक स्थानीय नगरपालिकाबाट जबर्जस्ती राखिएको, विमानस्थल वरिपरिका बासिन्दाबाट आफ्ना घर निर्माण तथा अन्य निर्माणका क्रममा स्थायी संरचना सिमानाभित्र बनाई अस्थायी संरचनाका लागि विमानस्थलको जग्गा प्रयोग गर्ने, फोहोर विमास्थल क्षेत्रमा फाल्ने गरेको गरेको र ३१४ किता नम्बर चोरसाँघु एरियामा २०४६/४७ सालदेखि नै सेती गंगाछेउमा करिब १०० देखि १५० रोपनीमा कथित सुकुमबासीको अनधिकृत बस्तीसमेत बसेको उल्लेख गरेको छ। 

सम्पत्ति जोगाउन ठोस योजना प्राधिकरणले नबनाएको ठहर 

२०२३ जनवरी १ बाट सञ्चालनमा आएपश्चात् पुरानो पोखरा विमानस्थलबाट हुने आन्तरिक उडानहरू नयाँ विमानस्थलबाट हुने गरेका छन्।

नयाँ विमानस्थल सञ्चालनमा आएपछि पुरानो विमानस्थलबाट हाल अल्ट्रालाइटजस्ता मनोरञ्जनात्मक उडानहरूलाई मात्र निरन्तरता दिइएको छ। 

प्रतिवेदनमा भनिएको छ, ‘नयाँ विमानस्थलको निर्माण कार्य सुरु गर्ने बेलादेखि नै नयाँ विमानस्थल सञ्चालनमा आएपश्चात हालको पोखरा नागरिक उड्डयन कार्यालय क्षेत्रभित्र रहेको जग्गा, भवन, रन-वे तथा अन्य उपकरणको व्यवस्थापन के कसरी गर्ने हो भनी योजना बनाई तयारी अवस्थामा रहनुपर्नेमा कुनै योजना नबनाएकाले हालसम्म सो विमानस्थलको उपयोगबारे कुनै ठोस निर्णय प्राधिकरणबाट नभएको देखिन्छ।’

१५ जेठ, २०८०, १६:३९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।