प्रभु बैंकका ऋण विभाग प्रमुख पोखरेलमाथि बिचौलियामार्फत ऋणीसँग कमिशन असुलेको आरोप

प्रभु बैंकका ऋण विभाग प्रमुख पोखरेलमाथि बिचौलियामार्फत ऋणीसँग कमिशन असुलेको आरोप

काठमाडौँः ऋणको प्रक्रियामा रहेका एक ग्राहकसँग प्रभु बैंकका डेपुटी चिफ एक्जुकेटिभ अफिसर्स  मणिराम पोखरेलले ऋण उपलब्ध गराएबापत बिचौलियामार्फत ५ प्रतिशत कमिशन लिएको आरोप लागेको छ। 

एक बचतकर्ताले जग्गा राखेर ५० लाख ऋण निकाल्ने प्रक्रिया स्वीकृत गराउन सहयोग गरेबापत उनले विचौलियामार्फत पाँच प्रतिशत कमिशन लिएको आरोप लागेको हो। 

एकनारायण देवकोटाले ग्राहकलाई मणिरामको सम्पर्क पुर्याएको देखिन्छ। देवकोटाले ऋण स्वीकृत गराउन अनामनगरको एक रेष्टुरेन्टमा मणिरामसँग भेट गराएका र छलफलमा उनीसहितले कमिशन मागेका ती ऋणीले बताए। 

'म आपतमा थिएँ त्यो बेलामा। सबै प्रक्रिया पूरा गरे पनि शाखाले ऋण दिइरहेको थिएन,' ती सेवाग्राहीले उकेरासँग भने, 'उनीहरूले ४ लाख ६ हजारको चेक काट्न लगाए। ऋण स्वीकृत भएपछि अर्कैको नाममा चेक साटियो।'

ती ऋणीले उकेरालाई उपलब्ध गराएको २०७७ पुस ८ गतेको चेकअनुसार तीन वटा चेकमार्फत ४ लाख ६ हजार रुपैयाँ काटेको देखिन्छ।

सो चेक गीता पौडेल देवकोटाको नाममा साटिएको थियो। गीता एकनारायणकी श्रीमती हुन्। बैंकबाट ऋण स्वीकृत गराउन कमिशन लाग्ने र सो कमिशन दिन राजी हुने हो भने ऋण स्वीकृत हुने प्रस्ताव एकनारायणले राखेका थिए।

छलफलमा सँगै रहेका पोखरेले 'एकनारायणजीले भनेअनुसार गरे हुन्छ' भनेपछि उनी कमिशन बुझाउन राजी भएका थिए। 

ऋणीले नारायणगढ शाखामा आवेदन दिएका थिए। यस्तो प्रस्तावपछि पहिला हुन्न भन्ने शाखा प्रमुखले फटाफट प्रक्रिया अगाडि बढाए। ४९ लाख ऋण स्वीकृत भएपछि त्यसबापत कमिशन भनेर उनीहरूले चेक कटाउन लगाए। 

चेक कटाउँदा चेक पाउनेको नाम खाली राखेर पैसा भर्न लगाएका ती ऋणी बताउँछन्। 'पहिलो चेक एक लाख ९६ हजारको काटियो। अर्को एक लाख ५० हजारको काट्न लगाए,' उनले भने।

तेस्रो चेक भने ७० हजारको काटिएको थियो। तीनै चेक गीताको नाममा साटिएको उनले बताए। 

यसबारे जिज्ञासा राख्दा पोखरेलले आफूलाई यसबारे जानकारी नै नभएको दाबी गरे। उनले प्रभु बैंकमा आउनुअघि एकनारायणसँग चिनजान भएको तर प्रभुमा आएपछि उनीसँग भेटघाटै नभएको दाबी गरे।

तर ती सेवाग्राहीका अनुसार पोखरेलसहित अनामनगरमा तीन वर्ष अगाडि भएको छलफलमा एकनारायण सँगै थिए।

उकेराले गरेको सोधखोजमा समेत यी दुवैबीच निकट सम्बन्ध रहेको देखिएको छ। 

उनीहरू अनामनगरको एक रेष्टुरेन्टमा प्रायः भेट गर्ने, ऋण आवश्यक परेकाहरूलाई एकनारायणले त्यही रेष्टुरेन्टमा ल्याउने र पोखरेलसहित मिटिङ गराउने गरेको देखिएको छ। 

‘तपाईंले भनेपछि बल्ल थाहा पाउँदैछु। ३३ वर्ष बैंकिङ करियरमा यस्तो घुस लिने त मैले सोच्दा पनि सोचिनँ,’पोखरेलले दाबी गरे, ‘त्यतिबेला म एजीएम थिएँ। मैले गैरकानूनी काम गरेको छैन। अब मेरो नाममा अरूले नै लिएको भए थाहा छैन।’ 

यो घटनामा प्रमुख बिचौलिया देखिए एकनारायण। उनी पहिला बैंकिङ क्षेत्रमै काम गर्थे। उनले ऋण माग्न आउनेसँग कमिशन माग्ने र बैंकका उच्च अधिकारी भेटाएर सेटिङ मिलाउने गरेको घटनाक्रमले देखाउँछ।

एकनारायणको फेसबुक प्रोफाइलमा लाइन्स क्लबको सभापति भएको उल्लेख छ भने गीता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स नेपालकी ब्रान्च हेड रहेको उल्लेख छ। 

एकनारायणसँग घटनाबारे जिज्ञासा राख्दा उनले २०६९ सालदेखि नै प्रभु बैंकका पोखरेलसँग कुनै कुराकानी नभएको दाबी गरे। 

‘म आफैं सप्लायर हो। हाम्रो बैंक खातामा रकम आइरहेका हुन्छन्, उपत्यका बाहिरबाट,’उनले भने, ‘यस्तो घटिया काम मैलेचाहिँ गर्दिनँ।’

१४ जेठ, २०८०, १६:५३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।