गिलको कीर्तिमानी शतकमा गुजरात आईपीएलको फाइनलमा, उपाधिका लागि चेन्नईसँग भिड्ने

गिलको कीर्तिमानी शतकमा गुजरात आईपीएलको फाइनलमा, उपाधिका लागि चेन्नईसँग भिड्ने

एजेन्सी : आफ्नै कीर्तिमान तोड्दै शुभमन गिलले प्रहार गरेको शानदार शतक र मोहित शर्माको घातक बलिङमा साविक विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग(आईपीएल) २०२३ को फाइनलमा पुगेको छ।

गुजरातले दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नई सुपर किंग्ससँग भेट पक्का गरेको हो।

जितको लागि २ सय ३४ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बई १८.२ ओभरमा १ सय ७१ रनमा अल आउट भयो। मुम्बईका सूर्यकुमार यादवले ३८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए।

त्यस्तै तिलक बर्मा १४ बलमा ५ चौका र ३ छक्कासहित ४३ तथा क्यामरन ग्रीन २० बलमा २ चौका र २ छक्कासहित ३० रनमा आउट भए।

अन्य कुनैपनि मुम्बईका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर रोहित शर्मा ८, नेहाल वढेरा ४, विष्णु बिनोद ५ र टिम डेविड २ रनमा आउट भए।

गुजरातका मोहित शर्माले २.२ ओभरमा १० रन खर्चेर ५ विकेट लिए। मोहम्मद शामीले ३ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए। राशिद खानले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए। जोशुवा लिटिलले एक विकेट लिए।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो।

गुजरातका युवा ब्याटर शुभमन गिल ६० बलमा ७ चौका र १० छक्कासहित १ सय २९ रनको सानदार शतकीय इनिङ खेले। गिलको यो जारी सिजनको तेस्रो र आईपीएल करिअरको उत्कृष्ट प्रदर्शन हो।

योसँगै उनले नरेन्द्र मोदी स्टेडियममै बनाएको आफ्नो टी-२० स्कोरको कीर्तिमान पनि तोडेका छन्। उनले गत फेब्रुअरीमा न्यूजिल्यान्डसँगकाे तेस्रो टी-२० क्रिकेटमा ६३ बलमा १२६ रन बनाएका थिए।

साई सुदर्शन ३१ बलमा ५ चौका र १ छक्कासहित ४३ रनमा रिटायर्ट आउट भए। हार्दिक पान्ड्या १३ बलमा २ चौका र २ छक्कासहित २८ रनमा नटआउट रहे। ऋद्धिमान शाह १६ बलमा ३ चौकासहित १८ रनमा आउट भए।

मुम्बईका आकाश माधवालले ४ ओभरमा ५२ रन खर्चेर १ विकेट लिए। पियुष चवालाले ३ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए।

फाइनल आइतबार अहमदाबादमै हुनेछ। गुजरातलाई पहिलो क्वालिफायरमा १५ रनले हराउँदै चेन्नई फाइनलमा पुगेको थियो।

१३ जेठ, २०८०, ०६:५१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।