अनुदार बन्दै प्रतिपक्षी दल, विपक्षमा बोल्नेलाई हतोत्साहित गर्ने रणनीति

अनुदार बन्दै प्रतिपक्षी दल, विपक्षमा बोल्नेलाई हतोत्साहित गर्ने रणनीति

काठमाडौं : संसदीय अभ्यासमा सत्ता पक्षका सांसद् मात्र हैन प्रतिपक्षका सांसदमाथि पनि प्रश्न उठ्छ नै यदि कुनै गम्भीर घटनाको आरोपी हुन् भने।

तर प्रतिपक्षमा रहेका दुई दलका सांसदहरूको व्यवहार आफू वा आफ्ना नेतामाथि प्रश्न उठाउनेलाई हतोत्साहित गर्ने देखियो। पहिलो घटना राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेको।

लामिछानेले अमेरिकी नागरिकको कानूनी हैसियत त्यागेको निस्सा (प्रमाण) नबुझी नागरिकता सक्रिय गराएको, राहदानी दुरूपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर अनि चितवन-२ को उपनिर्वाचनमा उनको उम्मेदवारी नै अवैध भएको भन्दै दुई मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

त्यही प्रसङ्ग नेपाली कांग्रेसका सांसद्ले संसद्मा उठाउँदा लामिछानेले नियमापत्ति जनाउँदै रेकर्डबाटै हटाउन माग गरे। अदालतमा विचाराधीन विषयमा संसद्मा बोलेको भन्दै आपत्ति मात्र जनाएनन्, सामाजिक सञ्जालमा एकपछि अर्को मुद्दा हालेर इरिटेट बनाएको भन्दै घण्टीले बजाउने चेतावनी दिए।

उनै रवि अनि उनका दलका सांसदहरूले अन्य दलका सांसद अनि विचाराधीन विषयमा निर्धक्क बोल्दा अन्य दलका सांसद्ले अवरोध गरेका छैनन्। तर, आफ्नै बारेमा प्रश्न उठ्दा सह्य भएन। प्रतिवाद मात्र गरेनन्, संसदको रेकर्डमै नराख्न माग गरे।

शुक्रबार एमालेका सांसदहरू रवि भन्दा एक कदम अगाडि बढेर आफ्नो पार्टीका संसदीय दलका नेता तथा अध्यक्ष केपी ओलीविरुद्ध उठेको प्रश्नको प्रतिवादमा संसद् अवरुद्द गरे।

प्रसङ्ग पशुपति मन्दिरको जलहरीमा भएको अनियमितताको थियो। जुन घटना न नयाँ हो न औपचारिक छानबिनमा नपरेको विषय नै।

ओली प्रधानमन्त्री हुँदा पशुपति मन्दिरको मुर्तिमा भएको जलहरी पुरानो भएको भन्दै बदलियो। जलहरी बदल्दा अनियमितता भएकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्योु। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा बदमासी भएको उल्लेख छ।

त्यहीबारे शुक्रबार संसद् बैठकमा सिन्धुली-२ बाट निर्वाचित माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल(राजन)ले प्रश्न गरे। संसद् बैठकमा उनले ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा पित्तलको जलहरी हालिएको विषय उठाए।

उनले ओलीको प्रधानमन्त्रीकालमा उठेका यति-ओम्नी प्रकरण, नेपाल एयरलाइन्सको वाइडबडी खरिद घटना, स्वास्थ्य सामग्री खरिदमा भएको २ अर्बको भ्रष्टाचारको विषय समेत उठाए।

‘त्यतिमात्र होइन, पशुपतिनाथमा सुनको जलहरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएर गरेका भ्रष्टाचारहरूका सयौँ यस्ता काण्ड छन्’, उनले भने।

उनले उठाएका सबै विषय विवादित र अख्तियारमा पुगेको तर नटुंगिएको विषय हुन्। तर, एमालेका सांसदहरूले उनको भनाइको प्रतिवाद गर्दै संसद्को वेल घेराउ गरे। संसद् चल्न दिएनन्। सांसद् दाहालको भनाइ संसद्को रेकर्डबाट हटाउनसमेत माग गरे।

एमाले सांसदको अवरोधपछि सभामुख संसद बैठक केही समय स्थगित गर्न बाध्य भए।

१२ जेठ, २०८०, १४:५३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।