थ्री टेस्ला विवादमा कम्पनीको दाबी : सिभिलले २२ करोड ७६ लाखमा किनेको एमआरआई मेसिन नयाँ हो

थ्री टेस्ला विवादमा कम्पनीको दाबी : सिभिलले २२ करोड ७६ लाखमा किनेको एमआरआई मेसिन नयाँ हो

काठमाडौः निजामती कर्मचारी (सिभिल) अस्पतालले करिब २२ करोड ७६ लाखमा किनेको थ्री टेस्ला एमआरआई मेसिन नयाँ नै भएको जवाफ दिएको छ। 

मेसिन पुरानो भएको शंका गरिएपछि कम्पनीले जवाफ पठाएको अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलले जानकारी दिए। 

मेसिन उत्पादक कम्पनी ‘सिमेन्स हेल्थकेयर’लाई २०७९ चैत १९ गते (२०२३ अप्रिल २) मा अस्पतालले खरिद गरेको एमआरआई मेसिनका विषयमा प्रस्ट गरिदिन पत्र लेखेको थियो। 

आफैँ पत्र लेखेर सोही मितिमा नै जर्मनीको सिमेन्स हेल्थकेयरलाई सीधै इमेलमार्फत पत्र पठाएका डा. पौडेलले बताए। ‘त्यही दिन नै इमेल गरेको हो,’ उनले भने।

अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. पौडेलले पत्र पठाएपछि मेसिन उत्पादक कम्पनी ‘सिमेन्स हेल्थकेयर’ले २०८० वैशाख ४ गते ‘अप्रिल १७, २०२३’ मा अस्पताललाई जवाफी पत्र पठाएको देखिन्छ। 

कम्पनीले नेपाली एजेन्ट (इष्टवेष्ट कन्सर्न) मार्फत नभई सीधै अस्पताललाई नै इमेलमार्फत जवाफ पठाएको डा. पौडेलले बताए। ‘एजेन्टमार्फत पठाएन। मेरै इमेलमा (जवाफ) पठाएको हो,’डा. पौडेलले स्पष्ट पारे।

सिमेन्स कम्पनीले निजामती कर्मचारी अस्पताललाई पठाएको प्रस्टीकरण  पत्रमा भनिएको छ-‘In reference to your letter dated 2nd April 2023, we hereby confirm with this letter that the following new system delivered to your hospital has been manufactured in the year 2023 by Siemens Healthineers in Germany following strict accordance with Siemens' quality standards.’

कम्पनीले अस्पताललाई पठाएको पत्रको यो व्यहोरामा ‘सिस्टमः म्याग्नेटोम भिदा-थ्रि टी (टेल्ला)’ लेखिएको छ भने मेसिनको ‘पार्ट नं. ११०६०८१५’ लेखिएको छ। त्यसैगरी मेसिनको ‘सिरियल नं. १७६७८७’ लेखिएको छ भने मेसिन बनेको मिति ‘म्यानुफ्याक्चरिङ वर्ष २०२३’ लेखिएको छ। 

कम्पनीले पठाएको पत्रमा मेसिको विषयको बारकोड समेत राखिएको छ। कम्पनीले पठाएको पत्रमा भएको सिरियल नम्बरलगायत विषयमा एमआरआई मिसिन हेर्दा कम्पनीले पठाएको पत्रानुसार नै मेसिन रहेको पाइएको डा. पौडेलले बताए। 

सिरियल नम्बर उसैले (कम्पनी) पठायो,’ उनले भने, ‘त्यो (सिरियल) नम्बर र मेसिनको नम्बर हो कि हैन भनेर हामीले चेक गर्यौं, नम्बर त्यही नै रहेछ।’ 

सिभल अस्पतालले मेसिनबारे कम्पनीसँग मागेको जवाफको पत्र

तर, मेसिन जडानका क्रममा नै रहेकाले अझै सो एमआरआई मेसिनको प्राविधिक परीक्षण गर्न बाँकी नै रहेको उनले जानकारी दिएका छन्।

उजुरीपछि छानबिन

नेपालमा कानुनअनुसार स्वास्थ्यमा पुराना (रिफविष्ड) मेसिन, औजार तथा उपकरण खरिद गरेर ल्याउन पाइँदैन। नयाँ भनेर गत फागुन १६ (२८ फेब्रुअरी २०२३) मा ल्याइएको मेसिन पुरानो भएको भन्दै अस्पतालमा उजुरी परेपछि प्रशासनले यसबारे छानबिन सुरु गरेको थियो। 

उकेराले वैशाख ६ गते ‘सिभिल अस्पतालले २२ करोड ७६ लाखमा किनेको एमआरआई मेसिन पुरानो भएको शंका छानबिन गर्न समिति गठन’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो।

निजामती अस्पतालमा सो एमआरआई मेसिनको खरिद प्रक्रिया नै विवादमा परेको थियो। 

पछि सो ठेक्का सिमेन्स कम्पनीको नेपालस्थित एजेन्ट इष्टवेष्ट कन्र्सर्नले पाएको थियो। उसले अस्पतालमा मेसिन पनि ल्याइसकेको छ। तर, यही बीचमा नयाँ भनेर प्रयोग भइसकेको मेसिन आयात गरेको भन्दै गम्भीर उजुरी परेको थियो।

उकेरालाई प्राप्त तथ्यअनुसार खरिद गरेको एमआरआई जाँच गरेर उत्पादक कम्पनी र आपूर्तिकर्तालाई कानुनी कारबाही गर्नुपर्ने माग राख्दै फागुन २५ गते अस्पतालमा निवेदन परेको थियो।

प्राप्त तथ्य अनुसार एमआरआई मेसिनको छानबिन माग गर्दै अस्पताल प्रमुख (कार्यकारी निर्देशक) लाई सम्बोधन गरेर पत्र लेखिएको थियो। 

उजुरी परेपछि अस्पताल प्रशासनले एमआरआई मेसिन उत्पादक (सिमेन्स) कम्पनीलाई मेसिन नयाँ हो वा हैन भन्ने विषयमा यकिन गरिदिन अस्पताल प्रशासनले इमेलमार्फत पत्र पठाएको थियो। 

अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले उजुरी पत्रमा तोक लगाउँदै फागुन २८ मा अस्पतालको आर्थिक प्रशासन प्रमुखलाई मूल्यांकन कमिटी गठन गरेर तथ्यांक संकलन गर्न निर्देशन दिएका थिए। 

आर्थिक प्रशासन प्रमुखले तोक लगाएर सो उजुरी पत्र खरिद शाखामा पठाएको थियो। आर्थिक प्रशासनले खरिद शाखालाई तोकबमोजिम तुरुन्तै काम गर्न र लेखा शाखासँग समेत जानकारी गराएर सूचना संकलन गर्न निर्देशन दिएको थियो। 

एमआरआई मेसिन जडानका क्रममा रहेकाले सप्लायर्स कम्पनीले जेठ महिनाभित्र मेसिन जडान भएर सञ्चालनमा आइसक्ने जानकारी दिएको डा. पौडेलले जानकारी दिएका छन्।

एमआरआई मेसिनको जडानपछि प्राविधिक मूल्यांकन समितिले प्राविधिक स्पेशिफिकेसनअनुसार मेसिन ठिक छ भनेर रिपोर्ट दिएपछि मात्रै मेसिन अस्पतालले लिने डा. पौडेलले बताएका छन्। 

मेसिन जडान भइसकेपछि मेसिन जिम्मा लिनुपूर्व प्राविधिक समिति गठन गरेर सो मेसिनबारे अध्ययन गरिसकेपछि मेसिन ठिक भए मात्रै जिम्मा लिने उनले बताएका हुन्। 

सिमेन्स कम्पनीको नेपालस्थित मेसिन सप्लायर्स (इष्टवेष्ट कन्सर्न) भने सिभिल अस्पतालमा ल्याइएको नयाँ मेसिन नै भएको बताएको दाबी गर्दै आएको थियो। 

तर, उजुरी पत्रमा भने सो मेसिन नयाँ उत्पादन नभई मर्मत गरिएको (रिफर्विष्ड मेसिन) भएको र त्यस्तो प्रकारको मेसिन नेपालमा भित्र्याउने अनुमति नभएको दाबी गरिएको थियो। 

सो ‘मेसिनको सिरियल नम्बरको विस्तृत अध्याय गर्दा र मेसिनका विभिन्न पाटपूर्जाहरू अध्ययन गर्दा मिति (डेट अफ म्यानुफ्याक्चर) र उत्पादक देश (कन्ट्री अफ ओरिजिन) पनि भिन्न भिन्न हुनसक्ने’ उजुरी पत्रमा उल्लेख थियो। 

‘कम्पनीले उपलब्ध गराएका कागजात र मेसिनका विभिन्न पार्टपुर्जाहरू, उत्पादन मिति र उत्पादक देश मेल नखान सक्ने भन्दै यसबाट सो मेसिन नयाँ उत्पादन (ब्रान्ड न्यु) नभई मर्मत गरिएको (रिफर्विस्ड मेसिन) हो भन्ने पुष्टि हुने’ उजुरी पत्रमा उल्लेख थियो। 

कम्पनीले सिभिल अस्पताललाई पठाएको जवाफी पत्र

सिमेन्सलाई चिट्ठा

अस्पतालले चाहेर सिमेन्स कम्पनीको एमआरआई किनेको हैन। चाहेको कम्पनीसँग मेसिन किन्न प्राविधिक स्पेसिफिकेसनमै चलखेल भएको थियो। त्यसबारे उकेराले निरन्तर समाचार प्रकाशित गरेको थियो।

पछि इष्टवेष्ट कन्सर्नले एमआरआई खरिदको टेन्डर पाएको थियो। 

निजामती अस्पतालले २२ करोड ७६ लाख २९ हजार पाँच सय ४८ मा मेसिन ल्याइदिने गरी प्रस्ताव गर्ने इष्टवेष्ट कन्सर्न प्रालीसँग एमआरआई खरिद गरेको हो। 

अस्पतालले २०७९ जेठ २५ गते सूचना जारी गर्दै 'एमआरआई ३.० टेस्ला’ खरिदका लागि ‘इष्ट वेस्ट' छनोट भएको सूचना जारी गरेको थियो। अस्पतालले जारी गरेको सूचना अनुसार १७ लाख २२ हजार नौ सय युरोमा एमआरआई मेसिन ल्याइदिने गरी इष्टवेष्टले टेन्डर पाएको थियो।

इष्टवेष्टसँगै आरबी मर्चेन्ट र हस्पिटेकले समेत मेसिन ल्याइदिने गरी प्रस्ताव पेस गरेका थिए। ७० सेन्टिमिटर बोर साइजको एमआरआई मेसिन किन्न अस्पतालले टेन्डर आह्वान गरेको थियो। 

सो मेसिन खरिदका लागि तीन वटा सप्लायर्स कम्पनीले प्रस्ताव पेस गरेका थिए। ‘हस्पिटेक’, ‘आरबी मर्चेन्ट’ र इष्टवेष्ट कन्सर्न’ले पेस गरेको प्रस्तावमध्ये हस्पिटेकले फिलिप्स कम्पनीको एमआरआई मेसिन दिने प्रस्ताव पेस गरेको थियो।

अस्पतालले मेसिन खरिदका लागि २३ करोडको बजेट सिलिङ तोके पनि हस्पिटेकले भने बजेटको सिलिङभन्दा बढी रकम पेस गरेको थियो। 

आरबी मर्चेन्टले युनाइटेड इमेजिङ कम्पनीको एमआरआई मेसिन दिने गरी प्रस्ताव पेस गरेको थियो। इष्टवेष्ट कन्सर्नले सिमेन्स कम्पनीको एमआरआई मेसिन खरिद गरेर दिने गरी प्रस्ताव पेस गरेको थियो। 

हस्पिटेकले अस्पतालको सिलिङभन्दा बढी रकम प्रस्ताव गरेकाले आरबी मर्चेन्ट र इष्टवेष्टमध्ये एउटाले टेन्डर पाउने सम्भावना थियो।

यी दुई सप्लायर्सले अस्पतालको बजेटको सिलिङ (करिब २३ करोड) भित्र नै एमआरआई मेसिन खरिद गरिदिने गरी प्रस्ताव पेस गरेका थिए। 

इष्टवेष्टले आरबीभन्दा करिब दुई लाख रुपैयाँ सस्तोमा एमआरआई ल्याइदिने गरी प्रस्ताव पेस गरेको थियो।

इष्टवेष्टले ल्याउने जर्मन कम्पनीको मेसिन हो भने आरबीले ल्याउने भनिएको चिनियाँ (युनाइटेड इमेजिङ) कम्पनीको एमआरआई मेसिन थियो। सेटिङमा आरबी मर्चेन्टलाई नै टेन्डर दिन खोजिएको देखिएको थियो। 

अस्पतालको एमआरआई खरिदबारे उकेराले २०७९ जेठ ४ गते ‘एमआरआई मेसिन किन्न सप्लायर्ससँग बार्गेनिङ गर्दै सिभिल अस्पतालका निर्देशक, १५ करोडको मेसिनलाई २३ करोड दिने तयारी’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो।

उकेराले निरन्तर यस विषयमा समाचार सम्प्रेषण गरेपछि सिमेन्सको नेपाली सप्लायर्स (एजेन्ट) इष्टवेष्टले एमआरआई टेण्डरको चिट्ठा परेको थियो।

९ जेठ, २०८०, २३:४४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।