सिभिल अस्पतालले २२ करोड ७६ लाखमा किनेको एमआरआई मेसिन पुरानो भएको शङ्का, छानबिन गर्न समिति गठन

सिभिल अस्पतालले २२ करोड ७६ लाखमा किनेको एमआरआई मेसिन पुरानो भएको शङ्का, छानबिन गर्न समिति गठन

काठमाडौँ : निजामती कर्मचारी (सिभिल) अस्पतालले करिब २२ करोड ७६ लाखमा किनेको थ्री टेस्ला एमआरआई मेसिन पुरानो भएको शंकामा अनुसन्धान सुरु भएको छ।

नेपालमा कानुनले स्वास्थ्यमा पुराना (रिफविष्ड) मेसिन, औजार तथा उपकरण खरिद गरेर ल्याउन पाइँदैन। नयाँ भनेर ल्याइएको मेसिन पुरानो भएको भन्दै अस्पतालमा उजुरी परेपछि प्रशासनले यसबारे छानबिन सुरु गरेको छ।

सिभिलमा एमआरआई मेसिन खरिद प्रक्रिया नै विवादमा परेको थियो। पछि सो ठेक्का सिमेन्स कम्पनीको नेपाल एजेन्टले पाएको थियो। उसले अस्पतालमा मेसिन पनि ल्याइसकेको छ। तर यहीबिचमा नयाँ भनेर प्रयोग भइसकेको मेसिन आयात गरेको गम्भीर उजुरी पर्यो।

उकेरालाई प्राप्त तथ्य अनुसार खरिद गरेको एमआरआई नयाँ हो की पुरानो हो भन्ने विषयमा जाँच गरेर उत्पादक कम्पनी र आपूर्तिकर्तालाई कानुनी कारबाही गर्नुपर्ने माग राख्दै फागुन २५ गते अस्पतालमा निवेदन परेको थियो।

प्राप्त तथ्य अनुसार एमआरआई मेसिनको छानबिनको माग गर्दै निजामती अस्पतालका प्रमुख (कार्यकारी निर्देशक) लाई सम्बोधन गरेर पत्र लेखिएको छ।

उजुरी परेपछि अस्पताल प्रशासनले एमआरआई मेसिन उत्पादक (सिमेन्स) कम्पनीलाई मेसिन नयाँ हो वा हैन भन्ने विषयमा एकिन गरिदिन अस्पताल प्रशासनले इमेलमार्फत पत्र पठाएको अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधी पौडेलले नै पुष्टि गरे। तर कम्पनीबाट पत्रको जवाफ आइसकेको छैन।

'के कसो हो भनेर जर्मनीको सम्बन्धित (सिमेन्स) कम्पनीलाई नै चिठी पठाएका छौँ,’कार्यकारी निर्देशक डा. पौडेलले भने।

उजुरीपछि कार्यकारी निर्देशकले डा. पौडेलले अस्पतालमा आन्तरिक रूपमा समेत एमआरआई मेसिनको जाँच, परीक्षण तथा छानबिन गर्न निर्देशक दिएका छन्।

अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले उजुरी पत्रमा तोक लगाउँदै फागुन २८ मा अस्पतालको आर्थिक प्रशासन प्रमुखलाई मूल्याङ्कन कमिटी गठन गरेर तथ्याङ्क सङ्कलन गर्न निर्देशन दिएका छन्।

आर्थिक प्रशासन प्रमुखले तोक लगाएर सो उजुरी पत्र खरिद शाखामा पठाएको देखिन्छ। आर्थिक प्रशासनले खरिद शाखालाई तोक बमोजिम तुरुन्तै काम गर्न र लेखा शाखासँग समेत जानकारी गराएर सूचना सङ्कलन गर्न निर्देशन दिएको देखिन्छ।

एमआरआई मेसिन एक महिनाअघि नै अस्पतालमा आइपुगेको छ। तर जडान भइसकेको छैन। जडानपछि प्राविधिक मूल्याङ्कन समितिले प्राविधिक स्पेशिफिकेशन अनुसार मेसिन ठिक छ भनेर रिपोर्ट दिएपछि मात्रै मेसिन अस्पतालले लिने डा. पौडेलले बताए।

मेसिन जडान भइसकेपछि मेसिन जिम्मा लिनु पूर्व प्राविधिक समिति गठन गरेर सो मेसिनका बारेमा अध्ययन गरिसकेपछि मेसिन ठिक भए मात्रै जिम्मा लिने पौडेलले बताए।

‘टेक्निकल कमिटीले पास नगरेसम्म हामी चलाउँदैनौँ, भुक्तानी पनि दिँदैनौँ,’डा. पौडेलले भने,‘मेसिन जडानको क्रममा भएकाले (अस्पतालले) बुझिसकेको स्थिति छैन’ सप्लायर्सले करिब एक महिनाभित्रमा मेसिन जडान गरिसक्ने लक्ष रहेको जनाएको छ।

सप्लायर्सको दाबी : मेसिन नयाँ नै हो

सिमेन्स कम्पनीको नेपालस्थित मेसिन सप्लायर्स (इष्टवेष्ट कन्सर्न) भने निजामती कर्मचारी अस्पतालमा ल्याइएको नयाँ मेसिन नै भएको बताएको छ। उसले कम्पनीलाई बदनाम गर्ने उद्देश्यले रिफर्विस्ड मेसिन आएको भन्दै विवाद झिकिएको दाबी गर्यो।

‘नयाँ सामान हो।,’सिमेन्सको सप्लायर्सका एक अधिकारीले नाम उल्लेख नगर्न आग्रह गर्दै भने'मेसिनमा डेट अफ म्यानिफ्याक्चरिङ सबै लेखेको छ। टेस्ट कहिले भएको सबै लेखेको छ। ले बलिङ गरेको छ।’

उजुरीकर्ताको दाबी 'मेसिन नयाँ हैन पुरानो मर्मत गरेको'

उजुरी पत्रमा भने सो मेसिन नयाँ उत्पादन नभई मर्मत गरिएको (रिफर्विष्ड मेसिन) भएको र त्यस्तो प्रकारको मेसिन नेपालमा भित्र्याउने अनुमति नभएको दाबी गरिएको छ।

सो ‘मेसिनको सिरियल नम्बरको विस्तृत अध्याय गर्दा र मेसिनका विभिन्न पाटपूर्जाहरु अध्ययन गर्दा मिति (डेट अफ म्यानुफ्याक्चर) र उत्पादक देश (कन्ट्री अफ ओरिजिन) पनि भिन्न भिन्न हुनसक्ने’ उजुरी पत्रमा उल्लेख छ।

‘कम्पनीले उपलब्ध गराएका कागजात र मेसिनका विभिन्न पार्टपुर्जाहरू, उत्पादन मिति र उत्पादक देश मेल नखान सक्ने भन्दै यसबाट सो मेसिन नयाँ उत्पादन (ब्रान्ड न्यु) नभई मर्मत गरिएको (रिफर्विस्ड मेसिन) हो भन्ने पुष्टि हुने’ उजुरी पत्रमा उल्लेख छ।

यसरी सिमेन्सलाई चिट्ठा परेको थियो

निजामती कर्मचारी (सिभिल) अस्पतालले चाहेर सिमेन्सको एमआरआई किनेको हैन।  चाहेको कम्पनीसँग मेसिन किन्न प्राविधिक स्पेशिफिकेशनमै चलखेल भएको थियो। सोबारे उकेराले निरन्तर समाचार प्रकाशित गरेपछि सेटिङ भत्कियो अनि इष्टवेष्ट कन्सर्नले एमआरआई खरिदको टेन्डर पायो।

निजामती अस्पतालले २२ करोड ७६ लाख २९ हजार पाँच सय ४८ मा मेसिन ल्याइदिने गरी प्रस्ताव गर्ने ‘इष्टवेष्ट कन्सर्न प्राली’ सँग एमआरआई खरिद गर्यो।

अस्पतालले २०७९ जेठ २५ गते सूचना जारी गर्दै ‘एमआरआई ३.० टेस्ला’ खरिदका लागि ‘इष्ट वेस्ट कन्सर्न प्रा ली’ छनोट भएको सूचना जारी गरेको थियो।

अस्पतालले जारी गरेको सूचना अनुसार १७ लाख २२ हजार नौ सय ‘युरो’मा एमआरआई मेसिन ल्याइदिने गरी इष्टवेष्टले टेन्डर पाएको थियो।

इष्टवेष्टसँगै आरबी मर्चेन्ट र हस्पिटेकले समेत मेसिन ल्याइदिने गरी प्रस्ताव पेस गरेका थिए। अस्पतालले ७० सेन्टिमिटर बोर साइजको एमआरआई मेसिन किन्न निजामती अस्पतालले टेन्डर आह्वान गरेको थियो।

सो मेसिन खरिदका लागि तीन वटा सप्लायर्स कम्पनीले प्रस्ताव पेस गरेका थिए। ‘हस्पिटेक’, ‘आरबी मर्चेन्ट’ र इष्टवेष्ट कन्सर्न’ले पेस गरेको प्रस्तावमध्ये हस्पिटेकले फिलिप्स कम्पनीको एमआरआई मेसिन दिने प्रस्ताव पेस गरेको थियो।

अस्पतालले मेसिन खरिदको लागि २३ करोडको बजेट सिलिङ तोके पनि हस्पिटेकले भने बजेटको सिलिङ भन्दा बढी रकम पेस गरेको थियो।

आरबी मर्चेन्टले युनाईटेड इमेजिङ कम्पनीको एमआरआई मेसिन दिने गरी प्रस्ताव पेस गरेको थियो। इष्टवेष्ट कन्सर्नले सिमेन्स कम्पनीको एमआरआई मेसिन खरिद गरेर दिने गरी प्रस्ताव पेस गरेको थियो।

हस्पिटेकले अस्पतालको सिलिङ भन्दा बढी रकम प्रस्ताव गरेकाले आरबी मर्चेन्ट र इष्टवेष्टमध्ये एउटाले टेन्डर पाउने सम्भावना थियो। यी दुई सप्लायर्सले अस्पतालको बजेटको सिलिङ (करिब २३ करोड) भित्र नै एमआरआई मेसिन खरिद गरिदिनेगरी प्रस्ताव पेस गरेका थिए।

इष्टवेष्टले आरबीकोभन्दा करिब दुई लाख सस्तोमा एमआरआई ल्याइदिने गरी प्रस्ताव पेस गरेको थियो। इष्टवेष्टले ल्याउने जर्मन कम्पनीको मेसिन हो भने आरबीले ल्याउने भनिएको चिनिया (युनाइटेड इमेजिङ) कम्पनीको एमआरआई मेसिन थियो। सेटिङमा आरबी मर्चेन्टलाई नै टेन्डर दिन खोजिएको देखिएको थियो।

निजामती अस्पतालको एमआरआई खरिदबारे उकेराले २०७९ जेठ चार गते ‘एमआरआई मेसिन किन्न सप्लायर्ससँग बार्गेनिङ गर्दै सिभिल अस्पतालका निर्देशक, १५ करोडको मेसिनलाई २३ करोड दिने तयारी’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो। उकेराले निरन्तर यस विषयमा समाचार सम्प्रेषण गरेपछि डा. पौडेलेको सेटिङ फेल भयो।

समाचारमा मेसिन खरिद गर्दा हुनसक्ने कमिसनको खेल बाहिरिएपछि पनि उनले आफू अनुकूल सप्लायर्स (आरबी मर्चेन्ट) लाई टेन्डर पार्ने प्रयास जारी नराखेको हैनन्।

तर, मेसिन खरिदका लागि बनेका दुई वटा स्पेशीफिकेशन समिति र मूल्यांकल समितिका सदस्यहरूले आफू भ्रष्टाचारको मुद्दामा तानिन तयार नभएको भन्दै डा. पौडेलको निर्देशन अस्वीकार गरेका थिए।

त्यसपछि डा. पौडेलले २२ करोड ७६ लाख प्रस्ताव गर्ने इष्टवेष्टसँग समेत कमिसन लिने प्रयास गरेका थिए। तर, इष्टवेष्टले आफूले टेन्डर आव्हान गरे अनुसार सबै मापदण्ड पुरा गरेर प्रस्ताव गरेकाले कमिसन नदिने बताएपछि टेन्डरै रद्द गर्ने प्रयास समेत भएको थियो।

टेन्डर रद्द गर्ने बलियो आधार नदेखिएपछि प्रस्तावकमध्ये तोकिएको मापदण्ड अनुसारको सबैभन्दा कम मूल्यमा मेसिन दिन प्रस्ताव गर्ने प्रस्तावक इष्टवेष्टकै प्रस्ताव स्वीकृत गर्न डा. पौडेल बाध्य भएका थिए।

६ बैशाख, २०८०, २३:०३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।