बिहानै पूर्व गृहमन्त्री खाँणको डेरा घेरिएपछि....

बिहानै पूर्व गृहमन्त्री खाँणको डेरा घेरिएपछि....

काठमाडौं : मैजुबहालको मुख्य सडकमै रहेको सेतो घरको कम्पाउन्ड बाहिर बुधबार बिहान ९ बजेतिर तीनवटा गाडी आयो।

गाडीबाट ह्वारह्वार केही व्यक्तिहरु निस्किए। घर अगाडिको आइसक्रिम अनि किराना पसलमा केही व्यक्तिहरु थिए।

पूर्व गृहमन्त्री बालकृष्ण खाण डेरामा बस्ने घर भएकाले प्रायः भीडभाड भइरहन्थ्यो। तर बुधबार बिहानको दृष्य अलि फरक थियो। गाडीबाट झरेका सीमित व्यक्ति घर भित्र गए। अधिकांश कम्पाउन्ड बाहिर छरिए।

केही समयमा घरभित्रबाट एक गाडी निस्कियो। गाडीमा खाणसँगै बाहिरबाट गएका व्यक्तिहरु थिए। खाँणको अनुहार मलिलो देखियो।

‘म पसलमा बसिराख्या थिए। तीनवटा गाडी आएर रोकियो,’ प्रत्यक्षदर्शी स्थानीयले भने, ‘पछि खाणलाई लिएर गएछन्।’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सक्रिय गिरोहबारे प्रहरीले अनुसन्धान अगाडि बढाएपछि खाँणको नाम समेत पोलिएको थियो। 

तर उनले विज्ञप्ति निकालेर आफू संलग्न नभएको दाबी गरेका थिए। उनकी श्रीमती मन्जु खाँणले गिरोहबाट ६ करोड लिएको अडियो बाहिरिएपछि खाँण बुटवल गएका थिए। 

काठमाडौं फर्किए लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई बुधबार बिहानै पक्राउ गर्यो।

अनामनगरको हनुमानथानमा घरै भए पनि कांग्रेस नेता खाँण दुई वर्षदेखि चाबहिल मैजुबहालमा रहेको एक घरमा डेरामा बस्दै आएका छन्।

डेरामा उनी परिवारसँगै बस्दै आएका थिए। उनी गृहमन्त्रीमा नियुक्त भएपछि पनि डेरा छाडेका थिएनन्। उनी मन्त्री क्वाटरमा बस्थे भने उनको परिवार सोही डेरामा। मन्त्री पद नरहेपछि उनी मैजुबहालकै डेरामा फर्किएका थिए। 

बुधबार खाँण पक्राउ परेपछि यो प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ। पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी फरारै छन्। उनको छोरा पक्राउ परिसकेका छन्। 

तत्कालीन गृहमन्त्री रामबहादुर थापाको सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन्। थापाको छोरा प्रतीक भने फरार छन्।

२७ बैशाख, २०८०, ११:२५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।