नक्कली शरणार्थी प्रकरणले तात्यो संसद् : एमाले-कांग्रेस रक्षात्मक, अन्य आक्रामक

नक्कली शरणार्थी प्रकरणले तात्यो संसद् : एमाले-कांग्रेस रक्षात्मक, अन्य आक्रामक

काठमाडौं : आइतबारबाट सुरु संघीय संसद्को बजेट अधिवेशनको पहिलो बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणले प्राथमिकता पायो।

यस प्रकरणमा एमाले, नेपाली कांग्रेससँगै गृह प्रशासन नै जोडिएपछि संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा सांसदहरूले पक्ष र विपक्षमा आफ्ना धारण राखे।

संसदमा बोल्ने कांग्रेस र एमालेका केही सांसद बचाउ र स्पष्टीकरणमा केन्द्रित भए। केहीले निष्पक्ष छानबिनको माग गर्दा अन्य दलका सांसदहरूले छानबिनको निष्पक्षतामाथि प्रश्न गरे।

राष्ट्रिय सभामा सदस्य रमेशजंग रायमाझीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगीबारे दबाबमा नपरी छानबिन अगाडि बढाउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरे। उनले ठगी प्रकरणमा जोडिएकाहरूको छानबिन नहुने हो भने समाजले कहिल्यै पनि माफी नदिने बताए।

'आरजु र मञ्जुको नाममा पक्राउ पुर्जी खै?'

राष्ट्रिय सभाका अर्का सदस्य देवेन्द्र दाहालले आरजु देउवा राणा र मञ्जु खाणलाई किन पक्राउ पुर्जी जारी नभएको भन्दै प्रश्न गरे।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा देउवाले अढाई करोड र बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले ६ करोड रुपैयाँ बुझेको अडियो सार्वजनिक भएको आफूले सुनेको भन्दै उनले उनीहरूलाई पक्राउ गर्न पुर्जी जारी किन नगरेको भन्दै प्रश्न गरे।

उनले यस प्रकरणमा एमालेका केही नेताहरूको नाम पनि जोडिँदा पक्राउ पुर्जी जारी भएको तर सत्ताधारी दलका नेताविरुद्ध पक्राउ पुर्जी जारी नभएकोमा प्रश्न उठाएका थिए।

कता हराए टोपबहादुर?

आइतबारको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमालेलाई ‘इमानदारीपूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरमा बुझाउन’ आग्रह गरे।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि एकाएक फरार भएका रायमाझी अझै फेला परेका छैनन्।

संसदमा एमालेका नेताहरूले अनुसन्धानको नियतमाथि प्रश्न उठाएपछि सापकोटाले एमालेका सांसदहरूलाई रायमाझीलाई बुझाउन सुझाव दिए।

सोही बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरण पछिल्लो उदाहरण भएको भन्दै २०६३ सालपछिका सबै भ्रष्टाचार काण्ड हेर्नेगरी छानबिन आयोग गठन गर्न माग गरे।

बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरू को-को हुन् भन्दै सरकारसँग जानकारी मागे।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको भन्दै उनले ८ सय ७५ जनासँग १० देखि ५० लाखसम्म उठाउने को-को हुन् भन्दै छानबिनको माग गरे।

एमाले सांसदको मागः फिल्म कहिले देखाउने?

संसद बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने माग राखे।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शनिबार एक कार्यक्रममा ‘यो त टेलर मात्र हो, फिल्म आउन बाँकी नै छ' भनेपछि सोही भनाइ लक्षित गर्दै उनले भने, ‘फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौं।’

एमाले सचेतक महेश बर्तौलाले नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैमाथि छानबिन गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीमा पूर्वाग्रह राखेर सत्तापक्षसँग जोडिएकालाई उन्मुक्ति दिने र अन्य मान्छेहरुसँग पूर्वाग्रह साँध्ने दूषित मनसाय त छैन भन्दै शंका गरे।

एमालेका अर्का सांसद सूर्य थापाले नक्कली भुटानी शरणार्थीको सट्टा माओवादी क्यान्टोनमेटको खर्चबारे प्रश्न उठाए। 

उनले भने, ‘क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फिल्म हेर्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यू, त्यो फिल्म हेर्ने व्यवस्था अविलम्ब गर्नुस्।’

थापाले नक्कली भुटानी शरणार्थी बनेर जान चाहनेहरू पनि अपराधी भएको भनेपछि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीसँग उनको जुहारी नै चल्यो।

थापाले ‘कोही पनि नक्कली शरणार्थी बनेर जान चाहन्छन् भने उनीहरू पनि अपराधी हुन्। अपराधीबारे रुवावासी नगरौँ’ भने।

राप्रपा सांसद शाहीले त्यसको प्रतिवाद गर्दै नागरिकलाई नक्कली शरणार्थी बन्न बाध्य पार्ने दलहरूले उनीहरूलाई कारबाही गर भन्ने भन्दै प्रश्न उठाए।

कांग्रेसका दुई सांसदको प्रस्टीकरण 

बैठकमा कांग्रेसका सांसद आरजु राणा र रामहरि खतिवडाले भने नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएकोमा स्पष्टीकरण दिँदै संलग्नता प्रमाणित गर्न चुनौती दिए।

राणाले त सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै राजनीतिमा महिला अगाडि बढेको देख्न नसकेर आफूमाथि आक्रमण भएको दाबी गरिन्।

२४ बैशाख, २०८०, २०:०७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।