डा. कविताको उपचार अनुभव : बच्चाको अवस्था भन्दा महिला आत्तिएर डाँको छोडेर रुन पो थालिन्

डा. कविताको उपचार अनुभव : बच्चाको अवस्था भन्दा महिला आत्तिएर डाँको छोडेर रुन पो थालिन्

डा. कविता क्याल बालरोग विशेषज्ञ हुन्। बालबालिकाको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्नु उनको दैनिकी हो। 
उनले हजारौं बालबालिका उपचार गरेर बचाएकी छन्।

अनुभव, अनुसन्धान र अध्यनन नै उनको चिकित्सकीय पेसाका मूल मन्त्र हुन्। तर चिकित्सकीय पेसामा रहिरहँदा भएका केही घटना भने उनी कहिल्यै भुल्दिनन्।

एक जना बच्चाको स्वास्थ्य परीक्षण गरेपछिको घटना डा. कविताको मानसपटलमा अझै छ।

प्रसंग करिब १२ वर्षअघिको हो। एक जना महिलाले करिब २ वर्षको आफ्नो बच्चा बिरामी भएपछि उपचारका लागि उनको क्लिनिक ल्याइन्। बच्चालाई श्वास फेर्न गाह्रो भइरहेको थियो।

कतिपय बिरामीका अभिभावकले त बच्चा लिएर ओपीडीमा आउँदा समेत एकछिन पनि कुर्न नसकी मेरो बच्चालाई चाँडै जाँचिदिनू न भन्दै सोर्सफोर्स लगाउँछन्

स्वास्थ्य परीक्षणपछि थाहा भयो- बच्चालाई निमोनिया भएको रहेछ। अवस्था जटिल थियो। बच्चालाई अस्पताल नै भर्ना गर्नुपर्ने कविताले सुझाइन्। बच्चाको अवस्थाबारे उनकी आमालाई बताउनु कविताको कर्तव्य थियो। तर कविताको कुरा सुनेपछि ती महिला आत्तिइन्, डाको छोडेर रुन थालिन्।

‘तपाईंको बच्चालाई सिरियस निमोनिया छ, भर्ना गरेर उपचार गर्नुपर्छ भनेपछि उनी त रुन थालिन्’, कविता सम्झिन्छिन्।

बच्चाकी आमा रुन थालेपछि डा. कविताले कोही आफन्त बोलाउन भनिन्। ती महिलाले घरमा फोन गरिन्। केहीबेरमै उनका एक आफन्त क्लिनिकमा आइपुगे।

क्लिनिकमा पुगेका ती पुरुषले रिसाउँदै ठूलो स्वरमा डा. कवितालाई गाली पो गर्न थाले। टेबुलमा ओपीडी बुक थियो। त्यो फाल्दै उनले प्रश्न गरे, ‘तपाईंले के भन्दिनुभयो ?’

डा. कविताले ती पुरुषलाई नरिसाउन अनुरोध गर्दै बच्चालाई निमोनिया भएको र तुरुन्त अस्पताल भर्ना गर्नुपर्ने बताइन्।

बच्चालाई उपचारका लागि ढिला गर्न नहुने अवस्था थियो। तर ती पुरुष रिसाएपछि कविताले ओपीडी शुल्क फिर्ता गरिदिने र अरू चिकित्सककहाँ जान चाहे जान सक्नुहुन्छ भनेर सल्लाह दिइन्। तर बच्चालाई जतिसक्दो चाँडै अस्पताल भर्ना गर्न उनले अनुरोध नै गरिन्।

ती पुरुष केही गरी पनि मानेनन्। कविताले ओपीडी शुल्क नै फिर्ता गरिदिइन्। किनकि बच्चाको उपचार पहिलो प्राथमिकता थियो।

‘मेरा लागि ती बच्चाको जीवन नै सर्वोपरि हो, शुल्क हैन,’ उनी भन्छिन्।

ओपीडी शुल्क फिर्ता लिएर ती पुरुषले रिसाउँदै बच्चा लिएर क्लिनिकबाट गए।

त्यो घटना सम्झँदा अझै पनि कविताको मन कटक्क खान्छ। अझै उनको मनमा यो प्रश्न खट्किरहन्छन्।

‘ती व्यक्ति विनाकारण किन रिसाए?’

त्यो बच्चाको अवस्था कस्तो भयो होला? डा. कवितालाई यो चिन्ता लागिरह्यो। 

एक दिन रेकर्डमा रहेको ती बच्चाको अभिभावकको फोन नम्बर हेरेर डा. कविताले नर्सलाई फोन गर्न लगाइन्। ती बच्चा कान्ति बाल अस्पतालमा बच्चा भर्ना भएका उनले जानकारी पाइन्।

जब शिथिल बच्चा ठिक भए

केही वर्षअघि सर्लाहीतिरबाट झाडापखाला लागेर ल्याइएको बच्चाको उपचारको प्रसंग पनि डा. कविता कहिल्यै भुल्दिनन्। 
करिब १६ महिनाका बच्चालाई झाडापखाला लागेछ। बुवाआमाले भने दाँत पलाउन लागेको भन्दै उतिसारो चासो दिएका रहेनछन्। तर बच्चा गल्दै गएपछि काठमाडौं लिएर आएका रहेछन्।

बच्चाको अवस्था जटिल भइसकेको रहेछ। डा. कविताले उनको तुरुन्तै उपचार थालिन्। एक हप्ता जस्तोमा बच्चा ठीक भयो।

निजी क्लिनिकमा ओपीडीबापत ८ सय रूपैयाँ शुल्क हुँदा कतिपय डाक्टरले नै धेरै शुल्क लियो भन्छन्। हाम्रो मात्रै यस्तो पेसा हो, जहाँ सात दिनसम्म फलोअप फ्री हुन्छ। हामीले पनि त काम गरेरै बसेको हो। 

ती बच्चा ठीक भएपछि उनका बुवाआमाको फर्केको खुसी देखेर कविता दङ्ग परिन्। बच्चा लिएर ती दम्पती फर्किए, उनीहरूको आर्थिक अवस्था निकै कमजोर रहेछ।

उनी भन्छिन्, ‘त्यसपछि उनीहरूले गाउँमा कोही बच्चा बिरामी भए मकहाँ पठाउन भन्ने गरेका रहेछन्।’

बाल चिकित्सकका चुनौती, शुल्कमा बखेडा
डा. कविता बालबालिका चिकित्सकले धेरै चुनौती खेप्नुपर्ने बताउँछिन्।

‘वयस्क व्यक्तिले त कहाँ, के समस्या भएको छ भनेर बताउन सक्छ। सानाले सक्दैनन्,’ उनी भन्छिन्, ‘त्यसैले चिकित्सकले नै कयौँ पटक संकेतका आधारमा समस्या पत्ता लगाउनुपर्ने हुन्छ।’

त्यति मात्रै हैन, बिरामी बच्चाको उपचारका लागि परिवारका एकभन्दा बढी सदस्य आउने गर्छन्। यस्तोमा पनि सबैलाई परामर्श दिनुपर्ने हुन्छ। बच्चा बिरामी भएपछि उनका अभिभावक चिन्तित हुन्छन्। परिवारलाई नै सम्झाउनुपर्ने अवस्था त छँदैछ।

पहिलो पटक उपचार गर्दा ठीक नभएकाहरू दोस्रो पटक रिसाएर आउँदा खेप्नुपर्ने समस्या पनि बाल चिकित्सकहरूलाई हुने डा. कविता अनुभव सुनाउँछिन्। 

सिफारिस गरिएको औषधि पूर्ण रूपमा नखुवाउँदा/प्रयोग नगरिँदा बच्चा फेरि बिरामी भएर ल्याउने अभिभावकहरू उनले धेरै भेटेकी छन्। त्यति मात्रै हैन, चिकित्सकको सल्लाहबमोजिम नगर्दा कतिपय बालबालिकामा समस्या बल्झिने गरेको बताउँछिन् उनी।

शुल्कमा पनि अभिभावकहरूले हैरानी पार्ने गरेका डा. कविता सम्झिन्छिन्। बच्चा जाँचेबापत दिनुपर्ने शुल्क जोगाउन जथाभावी औषधि प्रयोगले अवस्था जटिल बनेर आउने अभिभावकहरू पनि भेटेकी छन् उनले।

चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि थोरै खर्चमा बच्चाको उपचार हुने अवस्थामा समेत कतिपयले जथाभावी रूपमा किनेर बच्चालाई खुवाउने गरेका देखिएका उनी बताउँछिन्।

त्यतिमात्रै कहाँ हो र ? कतिपयले त चिकित्सकले लेखिदिएको औषधि महँगो भयो भनेर बच्चालाई पूर्ण रूपमा समेत नखुवाउने गरेका भेटिएका उनको अनुभव छ।

तर आर्थिक अवस्था, स्वास्थ्य संस्थाको पहुँचको अभाव र शिक्षाको कमीले यस्तो हुनुलाई उनी सामान्य मान्छिन्।

तर, शिक्षित र आर्थिक रूपमा पनि सबल परिवारले समेत डाक्टरको शुल्क जोगाउने नाममा जथाभावी औषधि किनेर बच्चालाई सेवन गराएको देख्दा भने उनलाई खल्लो लाग्छ।

‘कतिपय बिरामीका अभिभावकले त बच्चा लिएर ओपीडीमा आउँदा समेत एकछिन पनि कुर्न नसकी मेरो बच्चालाई चाँडै जाँचिदिनू न भन्दै सोर्सफोर्स लगाउँछन्,’ कविता भन्छिन्, ‘घरमा हुँदा पनि आजकाल धेरै अभिभावकले फोन गरेर औषधि के खुवाउने भनेर सोध्छन्।’

चिकित्सकले बिरामी जाँचेबापत बढेको शुल्कलाई लिएर धेरै नकारात्मक अर्थ लगाउन थालेकोप्रति भने डा. कविता निको मान्दिनन्।

‘निजी क्लिनिकमा ओपीडीबापत ८ सय रूपैयाँ शुल्क हुँदा कतिपय डाक्टरले नै धेरै शुल्क लियो भन्छन्,’ कविता भन्छिन्, ‘हाम्रो मात्रै यस्तो पेसा हो, जहाँ सात दिनसम्म फलोअप फ्री हुन्छ। हामीले पनि त काम गरेरै बसेको हो।’ 

एमबीबीएसमा घर छोड्दाको त्यो सकस
वीरगञ्जमा जन्मिएकी कविताले स्थानीय गौतम इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलबाट एसएलसी गरिन्। त्यसपछि उनी काठमाडौं आएर ताहाचलको होलिभिजन कलेजमा प्लस टु पढिन्। 

कवितामा डाक्टर बन्ने सपना थियो। त्यसैले उनी प्लसटुपछि काठमाडौं विश्वविद्यालयअन्तर्गत पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा एमबीबीएस अध्ययनका लागि सन् १९९९ मा भर्ना भइन्। 

एमबीबीएस अध्ययनका लागि पहिलोपटक बुवाआमाबाट टाढा भएकी उनलाई कतिखेर घर पुगौंजस्तो हुन्थ्यो। पहिलो वर्षको अध्ययनमा त उनलाई निक्कै कठिन भयो।

‘सबैभन्दा धेरै त अति नै होम सिक हुन्थ्यो’, विगत सम्झँदै उनी भन्छिन्।

सन् २००४ मा उनले एमबीबीएस पूरा गरिन्। त्यसपछि मणिपालमा नै उनले एक वर्ष इन्टर्नसिप गरिन्। इन्टर्नसिपपछि कविताले मणिपालमा नै एक वर्ष करार जागिरे भएर मेडिकल अधिकृतका रूपमा काम गरिन्। 

त्यहाँ उनले बालरोग (पेडियाट्रिक) विभागमा काम गरिन्। त्यहाँ काम गर्दा नै उनलाई बालबालिकाप्रति लगाव बढ्दै गयो। त्यसैले उनले बालरोग विषयमा नै एमडी अध्ययन गर्ने विचार गरिन्। 

बच्चामा झुकाव, एमडीमा गोल्डमेडल
डा. कविता काठमाडौं विश्वविद्यालयकै छात्रवृत्ति कोटामा सन् २००६ मा भारतको बेंग्लोरस्थित मणिपाल अस्पतालमा एमडी अध्ययनका लागि पुगिन्।

त्यहाँ उनले स्नातकोत्तर तहको पेडियाट्रिक विषयमा एमडी अध्ययन थालिन्। सन् २००९ मा उनले बालरोग विषयको एमडी सकिन्। उनले गोल्ड मेडल नै हात पार्न सफल भइन्। अध्ययन सकेपछि भने उनी नेपाल फर्किइन्। 

बालरोग विषयमा एमडी गरेर फर्केपछि डा. कविताले निजामती कर्मचारी (सिभिल) अस्पतालमा काम गर्न थालिन्। 

त्यतिबेला निजामती कर्मचारी अस्पताल भर्खर सञ्चालनमा आएको थियो। उनले नर्भिक अस्पतालमा पनि पार्ट टाइमरका रूपमा काम गर्न थालिन्।

सिभिल अस्पतालमा उनले बालरोग विभाग प्रमुखको भूमिकामा समेत काम गरिन्। 

करिब पाँच वर्ष काम गरेपछि उनले सिभिल अस्पतालको काम छाडिन्। त्यसपछि उनले सुमेरु सिटी अस्पतालमा काम गर्न थालिन्। हाल उनी त्यहीँ र बयोधा अस्पतालमा कार्यरत छिन्।

२३ बैशाख, २०८०, १७:४७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।