तनहुँमा चितुवाको आक्रमण बढ्दो, नियन्त्रणका लागि पासोको प्रयोग

तनहुँमा चितुवाको आक्रमण बढ्दो, नियन्त्रणका लागि पासोको प्रयोग

तनहुँ : चितुवाको आक्रमण बढ्न थालेपछि डिभिजन वन कार्यालय तनहुँले नियन्त्रणका लागि खोर (पासो) को प्रयोग गर्न थालेको छ।

फलाम र परम्परागत रुपमा काठको खोरलाई पासोको रुपमा राख्ने थालिएपछि यो उपाय चितुवा नियन्त्रणमा प्रभावकारी बन्दै गएको बताइएको छ।

चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए।

चितुवाको आक्रमणमा परी ६ वर्षमा तनहुँमा मात्र १४ बालबालिकाको मृत्यु भइसकेको छ भने १७ जना घाइते भएका छन्। जिल्लाको भानु, बन्दीपुर, आबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाले बढी सताउने गरेको छ।

चितुवाले जनमानसमा त्रास बढाएकोले यसको नियन्त्रण गरी सुरक्षित किसिमले वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन पासो थाप्ने काम गरिएको काफ्लेले बताए।

पहिले चितुवाको आक्रमणबाट भानु नगरपालिका धेरै प्रभावित बनेकोमा अहिले बन्दीपुर गाउँपालिकामा त्रास बढेको छ।

एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः पटक/पटक आक्रमण गर्ने सम्भावना बढी हुने भएकाले यसलाई नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको छ।

२३ बैशाख, २०८०, ०८:३५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।