माधव नेपालले भने, 'कर्णाली सरकारमा माओवादीले हामीलाई बाइपास गर्‍यो'

माधव नेपालले भने, 'कर्णाली सरकारमा माओवादीले हामीलाई बाइपास गर्‍यो'

सुर्खेतः नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री  माधव कुमार नेपालले आफ्नो पार्टीलाई कर्णालीमा बेवास्ता गरिकोप्रति आपत्ति जनाएका छन् ।

उनले सरकारमा एकलौटी गर्न खोजिएको कुरा राम्रो नभएको भन्दै गठबन्धन टिकाउने कुरामा ध्यान दिनुको साटो बाइपास गरेको आरोप लगाए । 

यस्तो व्यवहारले  गठबन्धन नै धरापमा पर्न सक्ने उनले बताए । पार्टी संगठन र सुदृढीकरण कार्यक्रमा बुधबार  सुर्खेत आएका उनले पत्रकार सम्मेलनमा आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको कुनै दुरुपयोग नगरेको बताए।

देश विकासका निमित्त आफ्नो कार्यकालमा महत्त्वपूर्ण काम भएको उनको दाबी थियो। उनले २०५१ सालमा गरेका कामहरूले अहिले नेपाली जनताले सुविधा पाएको समेत उल्लेख गरे । 

अप्ठ्यारो बेलाको र पार्टीभित्रबाट चुनौती आउँदा पनि आफूले निकै काम गरेको भए पनि त्यसको चर्चा नभएको उनको दुःखेसो थियो ।

०७४ कै निर्वाचनमा पार्टीले झन्डै दुई तिहाइ मत ल्याए पनि नेतृत्वबाट त्यसको कदर हुन नसक्दा कम्युनिस्ट शक्ति तित्तरवित्तर हुन पुगेको उनले उल्लेख गरे । 

उनले भ्रष्टाचार, सबै खालका विकृतिबाट टाढा रहने र अरूभन्दा भिन्न देखिन पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिइएको बताए ।

समाज समृद्ध भए मात्र जनता खुसी हुने बताउँदै उनले आफ्नो पार्टी समृद्धिको अभियानमा सहभागी हुन आग्रह गरे । आफूहरूले पाएको भौतिक मन्त्रालयमा ६० अर्ब घटाएको भन्दै उनले नामको मात्र मन्त्रालय भएको बताए ।

२० बैशाख, २०८०, १२:२५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।