रक्सीको नशामा ज्यान लिएको अभियोग लागेका पृथ्वी मल्ल उच्च अदालतबाट दोषी ठहर

रक्सीको नशामा ज्यान लिएको अभियोग लागेका पृथ्वी मल्ल उच्च अदालतबाट दोषी ठहर

मदिराको नशामा सवारी चलाएर पैदलयात्री किचेर मारेको अभियोग लागेका पृथ्वी मल्ललाई उच्च अदालत पाटनले दोषी ठहर गरेको छ।  

न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको इजालसले मल्ललाई कसुरदार ठहर गरी सजाय निर्धारणका लागि पेस गर्न भनेको हो। अब सजाय कति हुन्छ भन्ने अर्को पेसी तोकिनेछ। 

उनले चलाएको गाडीले किचेर पैदलयात्री लीला देवकोटाको मृत्यु भएको थियो। 

यसअघि मल्ललाई काठमाडौं जिल्ला अदालतले २०७८ चैत ७ गते जम्मा ६ महिना कैद र एक हजार रुपैयाँ जरिवाना सुनाएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भने उनीविरुद्ध १० वर्ष सजाय माग गर्दै अभियोग पत्र दर्ता गरे पनि फैसला आउँदा ६ महिना मात्रै कैद तोकिएको थियो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीको एकल इजलासले उक्त फैसला सुनाएको थियो। फैसलामा चालकले लापरवाहीपूर्वक सवारी चलाएको मात्र पुष्टि भएको उल्लेख थियो।

त्यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले २०७६ पुस २३ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

त्यसबेला उच्च अदालत पाटनमा पुनरावेदन परे पनि जिल्लाकै आदेश सदर भएको थियो। पछि सर्वोच्च अदालतमा पुनरावेदन पुगेपछि भने न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको संयुक्त इजलासले उनी दम र डिप्रेसनको रोगी देखिएको भन्दै धरौटीमा मुक्त गर्न आदेश दिएको थियो।

उच्च अदालत पाटनमा पृथ्वी मल्लको पनि पुनरावेदन

अभियोग बमोजिमफैसला नआएपछि सरकारी वकिल कार्यालयले २०७९ साउन १७ गते पुनरावेदनका लागि उच्च अदालत पाटनमा प्रस्ताव पठाएको थियो। पत्रमा 'अभियोगबमोजिम प्रतिवादी पृथ्वी मल्ललाई सजाय पाऊँ' भनी उल्लेख छ।

सोही पत्रबमोजिम उच्च अदालत पाटनले असोज ७ गते पुनरावेदन पत्र दर्ता गरेको थियो।

जसअनुसार पहिलो पेसी माघ १७ लाई तोकिए पनि 'हेर्न नमिल्ने'मा राखियो र आगामी पेसी २४ गते तोकियो।

उता पृथ्वी मल्लले पनि आफू निर्दोष रहेको भन्दै काठमाडौं जिल्ला अदालतले गत चैत ७ गते सुनाएको फैसला खारेज गरी पूर्ण सफाइ पाउनुपर्ने माग गरी अर्को पुनरावेदन पत्र उच्च अदालत पाटनमा पेस गरेका हुन्। 

कात्तिक १७ गते मल्लले आफू निर्दोष रहेको दाबी गर्दै पूर्ण सफाइ पाउनुपर्ने तर्कसहित पुनरावेदन पत्र दर्ता गरेका थिए। 

ड्रिङ्क एन्ड ड्राइभका दोषी पृथ्वी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रका पारिवारिक सदस्य

मदिरामा मस्त भएर पैदल यात्री किचेर मार्नेलाई जम्मा ६ महिना कैद, १ हजार जरिवाना

सवारी ज्यानबारे सर्वोच्चको सजाय मार्गदर्शन अनुसार पृथ्वीलाई हुन सक्थ्यो ४ वर्ष कैद

पृथ्वी मल्ल विरुद्धका पाँच प्रमाण जसले देखाउँछ झुक्किएर मारिएकी होइनन् लिला

बयान बदल्ने खेल : सरकारी वकिलसँग झ्याप थिएँ भनेका पृथ्वीले अदालतमा भने- मैले रक्सी खाने गरेकै छैन (दुवै बयानसहित)

मल्ल प्रकरणको चिरफार : तीन प्रत्यक्षदर्शी तर एक जनाको मात्र बयान, घटनास्थलबाट भाग्ने अभिनेत्री पारमितालाई छुट

 

१९ बैशाख, २०८०, २०:५९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।