डा. सुशीलाको संघर्ष : रसियामा डाक्टर पढेर फर्किएपछि छोरीले नै नचिन्दा...

डा. सुशीलाको संघर्ष : रसियामा डाक्टर पढेर फर्किएपछि छोरीले नै नचिन्दा...

काठमाडौंः डा.सुशीला वैद्य स्त्री क्यान्सररोग विशेषज्ञ तथा लेजर थेरापी विशेषज्ञ हुन्।

उनले लेजर थेरापी विधिबाट ४० हजारभन्दा बढी बिरामीको उपचार गरिसकेकी छन्। उनले चिकित्सकीय विधाको अध्ययनदेखि यो पेशाको सिलसिलामा धेरै आरोह-अवरोह पार गरेकी छन्। डा. सुशीलाले यस्तै उतारचढाव उकेरासँग साटिन्। 

२०२१ मा ललितपुरको शंखमुल र बंगलामुखीको बीचमा पर्ने बैलाछें टोलमा जन्मिएकी हुन् उनी। ललितपुरकै पुलचोकस्थित मदन मेमोरियल गर्ल्स हाइस्कुलबाट २०३६ सालमा एसएलसी गरिन्। पाटन मल्टिपल कलेजमा आईए र बीए पढिन्। त्यसपछि २०४२ मा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा अर्थशास्त्र विषय अध्ययनका लागि उनी एमएमा भर्ना भइन्।

एमए अध्ययन गरिरहँदा सुशीला (शाक्य) ले २०४७ मा प्रेमराज वैधसँग लगनगाँठो कसिन्। त्यसपछि उनको जीवनको नयाँ मोड सुरु भयो। विवाह भएको केही महिनापछि उनी श्रीमानसँग सन् १९९१ मा रसिया पुगिन्। उनका श्रीमान एमबीबीएस (रसियामा एमडी भनिन्छ) अध्ययनका लागि त्यहाँ पुगेका थिए। सुशीला भने कम्प्युटर इन्जिनियर अध्ययनका लागि पुगिन्। 

सुशीलालाई विद्यावारिधि गरेर डाक्टर लेख्ने सपना थियो। तर, डाक्टर पढ्छु भन्ने कल्पनासम्म नगरेकी सुशीलालाई रसिया पुगेपछि भने डाक्टर पढ्ने रहर जाग्यो। नेपालबाट रसिया पुग्दा उनी पाँच महिनाकी गर्भवती थिइन्। त्यहाँ पुगेको चार महिनामा उनकी छोरी जन्मिइन्। तर, छोरीको मुटुमा प्वालको समस्या देखियो। त्यो बेला करिब एक महिना अस्पताल बस्नुपरेको थियो।

तीन महिनाकी छोरी घरमा छोडेर रसियामा डाक्टरी अध्ययन

आमा बनेपछि कि पढाइ छोड्नुपर्ने कि छोरी स्याहानुपर्ने भयो उनलाई। किनकि रसियामा छोरीको स्याहारसुसार गर्ने कोही थिएनन्। त्यसैले उनले श्रीमानसँग सल्लाह गरेर नेपालमा छोरी छाडेर रसिया फर्कने निर्णय गरिन्, जुन आफैँमा कठिन थियो। सुशीलाले तीन महिनाकी छोरीलाई नेपाल ल्याएर परिवारसँग छोडिन्। त्यसपछि उनी रसिया फर्केर श्रीमानसँग एमबीबीएस अध्ययन गर्न थालिन्। पढाइ राम्रै हुँदै गयो।

आमाको मन न हो। दूधे छोरी नेपालमा। सुशीला रसियामा। दुधे छोरीलाई नेपालमा सम्झँदै सुशीला आँसु खसाल्थिन्। छोरीलाई स्तनपान गराउन नपाउँदा उनलाई पीडा हुन्थ्यो।'दिनभरि जतिसुकै व्यस्त भए पनि बेलुका घरमा बच्चा सम्झेर आँसु बगाउथें,' उनले सुनाइन्।

सुशीलाले आँसु खसाउँदा श्रीमानले उनलाई 'मेरी पनि छोरी हुन् नि। मनाईचाहिँ माया लागेको छैन र ?  खै म त रोएको छैन त'  भन्दै सम्झाउँथे। 

छोरी बिरामी भएको संकेत पाएपछि...

उता सुशीला र उनका श्रीमान् रसियामा अध्ययन गरिरहेको समयमा नेपालमा करिब एक वर्षकी भएपछि छोरी बिरामी परिन्। त्यो कुरा उनले थाहा पाइनन्। मुटुको समस्याका कारण छोरीलाई निमोनिया भएछ। मुटुको समस्याका कारण स्वास्थ्य जटिल भएपछि आईसीयूमा नै भर्ना गर्नुपरेको थियो। केही दिनको औषधि उपचारपछि छोरी ठिक भइन्। 

तर  सुशीला र उनका श्रीमानले भने घरमा छोरी बिरामी भएको खबर पनि पाएनन्। छोरी बिरामी परेको बेलामा सुशीलाको पहिलो वर्षको परीक्षा चलिरहेको थियो।

नेपालमा त्यो बेला कताकता छोरी बिसन्चो भइन् कि भन्ने सुशीलाको मनमा परिरहेको थियो। 'बच्चालाई केही न केही भएको छ भन्ने संकेतचाहिँ थियो,' उनले सुनाइन्।

छोरीको चिना बनाउने ज्योतिषिले समेत १० महिनाको उमेरमा छोरी बिरामी पर्ने बताइदिएका रहेछन्। त्यो कुरा सम्झेर झन् उनको मन पोलिरहेको थियो। त्यसैले कतिखेर परीक्षा सकिन्छ र नेपाल फर्कौँ भन्ने मनमा छटपटी थियो उनलाई। त्यसैले परीक्षा सकेकै भोलिपल्ट सुशीला श्रीमानसँग नेपाल फर्किइन्।

'अघिल्लो दिन परीक्षा सकेर भोलिपल्टै नेपाल फर्क्यौँ,' उनले सुनाइन्।

नेपाल फर्केपछि मात्रै छोरी बिरामी भएको कुरा सुशीलाले थाहा पाइन्। एकातिर त्यो बेला सहज फोन अभावका कारण छोरी बिरामी भएको कुरा उनले थाहा पाइनन्। अर्कोतिर छोरीको चिन्ताले बुवाआमाको परीक्षा बिग्रेला भनेर परिवारले छोरी बिरामी भएको थाहै दिएनन्। 

छोरीले नै नचिनेपछि...

नेपाल फर्केर सुशीलाले १५ महिनाकी छोरीलाई हेरिन्। निकै खुसी भइन्। छोरीलाई काखमा लिन नपाएको एक वर्ष भएको थियो। सुशीलाले छोरीलाई बोलाइन्। तर छोरीले न आमा चिनिन् न बुवालाई नै।

बोलाउँदा छोरी न काखमा बस्न मानिन् न त बोक्न खोज्दा छुन नै मानिन्। टाढा बसिन्। नजिकिन नै खोजिनन्।

एक वर्षपछि काखमा राख्न खोज्दा छोरीले आमा नचिनेर टाढिँदा सुशीलाको मन भने कटक्क भयो। डाक्टरी अध्ययनको रहरका कारण छोरीलाई छोडेर बस्दा छोरीले नै नचिन्दा उनी भावुक बनिन्। उनको आँसु खस्यो। त्यसपछि दिनदिनै फकाउँदै खेल्दै गरेपछि मात्रै छोरी विस्तारै काखमा आउन थालिन्। त्यसपछि सुशीलाको पनि मन शान्त हुँदै गयो।

रसियामा नै छोरीको उपचार गर्दै डाक्टरी अध्ययन

निमोनिया निको भए पनि छोरीको मुटुको समस्याको उपचार गर्नुपर्ने थियो। त्यसैले नेपालमा केही चिकित्सककहाँ छोरी लिएर पुगे सुशीला र उनका श्रीमान्।

तर  नेपालमा कतै पनि मुटुमा यही समस्या भएको हो भन्ने एकिन पहिचान हुन सकेन। त्यसैले उनीहरू छोरी लिएर भारत जाने निर्णयमा पुगे। तर  छोरी अझै बुवाआमासँग घुलमिल भइसकेकी थिइनन्। आमासँग पूरै नजिकिन मानिन्। छोरी हुर्काउने फुपुलाई लिएर उनीहरू छोरीको उपचारका लागि नेपाल फर्केको एक हप्तामा भारत गए।

भारतमा पुगेर स्वास्थ्य परीक्षणपछि छोरीको मुटुको बाहिर फोक्सो र मुटुबीच जोडिने नलीमा प्वाल रहेको थाहा भयो।

जुन नली बच्चा जन्मिनासाथ रुँदा बन्द हुनुपर्ने थियो। तर  छोरी कम तौललगायतको समस्याका कारण रुन नसक्दा प्वाल बन्द भएनछ। त्यो बेला नै छोरीलाई एक महिना अस्पताल राख्नुपरेको थियो।

त्यो बेला नै चिकित्सकले छोरीलाई मुटुमा समस्या हुनसक्ने संकेत गरेका थिए।

त्यसैले छोरीको मुटुको शल्यक्रिया गर्नुपर्ने भयो। भारतमा शल्यक्रिया गर्न महँगो पर्ने देखियो। नेपालमा त्यो सेवा नै थिएन। त्यसैले रसियामा नै लगेर छोरीको उपचार गर्ने निर्णयमा पुगे उनीहरू। अनि नेपाल फर्किए।

त्यसपछि सुशीला र उनका श्रीमान् छोरी लिएर रसिया पुगे। रसियामा पुगेपछि छोरीको उपचार सुरु भयो। तर  छोरीको तौल कम भएकाले एक वर्षपछि मात्रै शल्यक्रिया गर्न मिल्ने भयो। त्यसैले छोरी अढाई वर्षकी भएपछि मुटुको शल्यक्रिया भयो। शल्यक्रिया सफल भयो। छोरी ठिक भइन्।

रसियामा छोरी हुर्कँदै गइन्। बालबालिका हेर्ने केन्द्र (चाइल्ड केयर) मा छोरीलाई छोडेर डा. सुशीला र उनका श्रीमान् कलेज जान्थे। त्यहाँ छोरीलाई खाने र पढ्नेका साथै निःशुल्क सेवाको व्यवस्था थियो।

सुशीला र उनका श्रीमानको पढाइ बढिरह्यो। परीक्षामा सुशीलाको राम्रो नम्बर आउँथ्यो।

माखाच्काला सिटीको दागेस्तान स्टेट मेडिकल एकेडेमीबाट उनले सन् १९९८ मा रसियाको एमबीबीएस अध्ययन पूरा गरिन्। त्यो संघर्षमय जीवनको चरणमा समेत उनले राम्रो अंकका साथ एमबीबीएस उत्तीर्ण गरिन्। त्यसपछि सुशीला छोरी लिएर नेपाल फर्किइन्। उनका श्रीमान भने रसियाको मस्कोमे थप अध्ययन गर्न थाले। 

फेरि छोरी छोडेर रसियामा लेजर थेरापीको अध्ययन

नेपाल फर्केपछि सुशीलाको अर्को संघर्ष सुरु भयो। छोरीलाई उनले नेपालमा नै पढाउन थालिन्। उनले नेपालका विभिन्न अस्पतालमा करिब डेढ वर्ष इन्टर्नसिप गरिन्। त्यसपछि निजी क्लिनिक,  नेपाल मेडिकल कलेज र भक्तपुर क्यान्सर अस्पतालमा काम थालिन्। 

नेपालमा करिब दुई वर्ष काम गरेपछि छोरी छोडेर डा. सुशीला थप अध्ययनका लागि रसिया नै पुगिन्। जहाँ उनका श्रीमान् अध्ययनरत थिए। रसियाको मस्कोमा पुगेपछि उनले लेजर थेरापी विषय अध्ययन गर्न थालिन्।

त्यहाँ उनले एक वर्षे लेजर थेरापी विषयको अध्ययन गरिन्। त्यहाँ पढ्दा उनले विद्यालयमा चिकित्सकका रुपमा काम गर्ने मौकासमेत पाइन्।

एक वर्षपछि डा. सुशीलाले लेजर थेरापी मेसिन बोकेर नेपाल फकिईन्। उनका श्रीमान् एक वर्षपछि फर्के।

तर  नेपालमा त्यो बेला चिकित्सकहरूकै बीचमा लेजर थेरापी विषय नौलो थियो। बिरामीले त थाहा पाउने कुरै भएन। आफू प्रथम लेजर थेरापी विशेषज्ञसमेत भएको उनको दाबी छ

त्यसपछि निजी अस्पतालमा क्लिनिक खोलेर लेजरथेरापी विधिबाट बिरामीको उपचार गर्न थालिन् उनले। बिस्तारै बिरामीको चाप बढ्दै जान थाल्यो। कहिलेकाहीँ त उनी टेम्पोमा हिँड्दासमेत घुँटा दुखेको बिरामी भेटिए क्लिनिकमा लिएर जान्थिन् र उपचार गरेर पठाउँथिन्। त्यति मात्रै हैन, कयौं चिकित्सकहरूलाई समेत लेजर थेरापी विधि अपनाई उनले उपचार गरेकी छन्।

विस्तारै चिकित्सकहरूले समेत उनीकहाँ बिरामी पठाउन थाले। बिस्तारै बिरामीको चाप बढ्न थाल्यो।

लेजर थेरापीले पुरुषको खुट्टा ठिक भएपछिको त्यो मोड

नेपालमा लेजर थेरापी विधि सुरु गर्दाको एउटा प्रसंग भने डा. सुशीला कहिल्यै भुल्दिनन्। त्यो बेला वीर अस्पतालमा एक जना दायाँ खुट्टाको माहिली औंला काटिएका पुरुष बिरामी पुगे। 

ती पुरुषको खुट्टाको घाउ केही गरे पनि ठिक भएको थिएन। घाउबाट खुट्टामा संक्रमण फैलने जोखिम बढेकाले ती पुरुषको माथिसम्म खुट्टाको भाग काट्ने तयारी भइरहेको थियो। तर खुट्टा काट्ने भनेपछि बिरामी अस्पतालबाट भाग्दा रहेछन्।

एक दिन उनका श्रीमानले डा. सुशीलालाई ती बिरामीबारे बताउँदै 'निको पार्न सक्छौ ?' भनेर सोधे। 

सुशीलाले सक्ने उत्तर दिइन्। त्यसपछि ती बिरामीलाई वीर अस्पताल नजिकैको एउटा क्लिनिकमा बोलाए उनका श्रीमानले। श्रीमानको अनुरोधपछि सुशीला लेजर थेरापी मेसिन लिएर बिरामी भएको क्लिनिकमा पुगिन्।

त्यसपछि ती पुरुषको खुट्टाको त्यो घाउमा लेजर थेरापी गर्न थालिन् उनले। महिनौं ठिक नभएका ती पुरुषको खुट्टाको घाउ त लेजर थेरापी सुरु गरेपछि एक हप्तामा नै ठिक भयो। त्यसपछि त ती पुरुष हिँडडुल गर्न थाले। उनको खुट्टाको समस्या हट्यो। 'एक हप्तामा घाउ निको भयो, खुट्टा काट्नुपरेन,'उनले सुनाइन्।

ती पुरुषको खुट्टाको घाउ ठिक भएपछि उनका श्रीमान् पनि अच्चममा परे। र सुशीलालाई भने, ओहो! तिम्रो यो टर्चलाइट जस्तो मेसिनले त राम्रो काम गर्दो रहेछ।'  

डा. प्रकाशराज रेग्मी र डा. सुशीलाका श्रीमानले समेत ती बिरामी ठिक भएपछि पत्रिकामा लेख लेख्न प्रोत्साहित गरे। ती पुरुषको उपचार विषयलाई समेटेर लेजर थेरापीका विषयमा सुशीलाले एउटा लेख तयार गरिन्।

एउटा राष्ट्रिय दैनिकमा आफैँले त्यो लेख छाडिन् उनले। त्यो बेला लेजर थेरापीले ती पुरुषको घाउ ठिक भएको त्यो लेख आधा पेज नै छापिएको सुशीला सम्झिन्छिन्।

पत्रिकामा त्यो लेख छापिइसकेपछि लेजर थेरापी गर्न डा. सुशीलाकहाँ पुग्ने बिरामीको चाप ह्वात्तै बढ्यो।

ओछ्यानमा थलापरेका पुरुषले उठेर चिया बनाएर दिँदा चकित

त्यसैगरी लेजर थेरापीका विषयमा पत्रिकामा पुरुषको उपचार गरेको त्यो लेख प्रकाशित भएपछि सन् २००१ तिरै नै एक जना पुरुषलाई लेजर थेरापी विधि अपनाई उपचार गरेको प्रसंग पनि सुशीला कहिल्यै भुल्दिनन्।

एक जना करिब ३५ वर्षका पुरुषको ढाडको नसा च्यापिएको थियो। त्यसपछि ती पुरुषको च्यापिएको नसाको शल्यक्रिया गरियो। तर  शल्यक्रियापछिको जटिलताका कारण ती पुरुषको कम्मरभन्दा तलको भाग नै चलेन। 

त्यसैले ती पुरुषकी श्रीमतीले सुशीलाको त्यै लेख पढेर क्लिनिक पत्ता लगाएर भेट्न पुगिन्।ती महिलाले अनुरोध गर्दै भनिन्, 'डाक्टर साप। मेरो श्रीमानको कम्मरभन्दा तल चल्दैन। ओछ्यानमा हुनुहुन्छ। बोकेर ल्याउन सक्दिनँ। घरैमा गएर उपचार गर्दिनुन।'

ती महिलाको अनुरोधपछि सुशीला लेजर थेरापी मेसिन बोकेर ती महिलाका श्रीमानको उपचारका लागि मैतिदेवीस्थित घरमै पुगिन्।

सुशीला त्यहाँ पुग्दा ती महिलाका श्रीमान ओछ्यानमा पल्टिरहेका थिए। हलचल नै गर्न सक्दैनथे। पिसाप गराउन समेत पाइप लगाइएको थियो। कम्मरमा घाउ हुन सुरु भएको थियो। बिरामीको अवस्था दयनीय थियो।

त्यसपछि ती पुरुषको कम्मरको नसा च्यापिएको भागमा डा. सुशीलाले लेजर थेरापी विधिले उपचार सुरु गरिन्।

थेरापी सुरु गरेको आठौं दिनमा त उनको अवस्थामा मनग्य सुधार आयो। हलचल गर्न सक्न थाले। त्यसैले पिसाप गर्न राखिएको पाइप (क्याथेटर) निकालिदिइन्। पुरुषले पिसाप फेर्न थाले। खुट्टा चलाउन थाले। हिँडडुल गर्न थाले।

थेरापी थालेको दशौं दिनमा बिरामी पुरुषको घरमा पुग्दा त डा. सुशीलासमेत चकित भइन्। चकित हुने कारण थियो-थेरापी थालेको दशौं दिनमा त पुरुषले डा. सुशीलालाई आफैं चिया बनाएर ल्याएर पो दिएछन्।

थेरापी थालेको केही हप्तादेखि पुरुष हिँडेरै फलोअपका लागि सुशीलाको क्लिनिकमा आइपुगे। श्रीमान् हिँडडुल गर्न थालेपछि उनकी श्रीमती पनि दंग परिन्। २२ वर्षअघि डा. सुशीलाले उपचार गरेका ती पुरुष अहिले पनि फलोअपमा नै रहेका र स्वस्थ रहेका उनले सुनाइन्।

युवाले निको पार्न नसके आत्महत्या गर्छु भनेपछि...

त्यसो त भक्तपुर क्यान्सर अस्पतालमा काम गर्दाको एउटा प्रसंग पनि डा. सुशीला कहिल्यै भुल्दिनन्। करिब २२ वर्षका युवा छालाको केलोइड भन्ने समस्याका कारण अनुहारको छाला बिग्रिएर अस्पताल पुगेका थिए। ती युवामा छाला बाक्लिने एक किसिमको समस्या थियो।

जसका कारण कारण ती युवाको गाला तथा अनुहारमा घाउ नै घाउ थियो। ती युवाले शल्यक्रिया गरेर खुट्टाको छाला अनुहारमा टाँस्ने जस्तो उपचार पनि भएको रहेछ। बाटोमा हिँड्दासमेत मान्छेहरूले छिछिदूरदूर गर्थे। विवाहका लागि केटी पाउने त कुरै थिएन। जसका कारण ती युवा विक्षिप्त अवस्थामा पुगेका थिए।

केही गरे पनि ठिक नभएपछि ती युवा भक्तपुर क्यान्सर अस्पताल पुगेका रहेछन्। अस्पतालमा पुगेर उनले भने, 'जे गरेर भए पनि निको बनाइदिनुहोस्। तपाईंहरूले निको बनाउन सक्नुभएन भने म त आत्महत्या गरिदिन्छु।'

त्यसपछि ती युवालाई डा. सुशीलाले लेजर थेरापी विधिबाट उपचार थालिन्। नभन्दै करिब तीन हप्ताको उपचारपछि युवाको अनुहारको घाउ नै ठिक भयो। अनुहारको समस्या ठिक भएपछि ती युवाको विवाह पनि भएछ। सुशीलाले उपचार गरेका ती युवाका छोराछारीले प्ल स टुसमेत उत्तीर्ण गरिकेका उनी बताउँछिन्। अहिले पनि ती व्यक्ति फलोअपमा बेला बेलामा आउने गरेको डा. सुशीलाले सुनाइन्।  उनलाई आफूले भाइ मानेको उनी बताउँछिन्। 

किर्गिस्तानमा पुगेर एमडी

त्यो बेलासम्ममा नेपाल मेडिकल कलेजमा डा. सुशीला मेडिकल अधिकृतको रुपमा जागिरे थिइन् भने मेडिसिटी अस्पताल र पाटनको गाबहालस्थित घरमा उनको क्लिनिक थियो। तीनै ठाउँमा बिरामीको उपचार गर्न उनलाई भ्याइनभ्याइ हुन थाल्यो।

बिहान उठेदेखि बेलुकी अबेरसम्म उनी बिरामीको औषधि उपचारमा नै व्यस्त हुन्थिन्। कहिलेकाहीँ त उठ्न नपाउँदै बिहानै घरको क्लिनिकमा बिरामी पुगिसकेका हुन्थे।

डा. सुशीला नेपाल मेडिकल कलेजमा काम गरेपछि भक्तपुर क्यान्सर अस्पतालमा काम गर्न थालिन्। केही समय त्यहाँ कम गरेपछि अस्पतालको आर्थिक सहयोगमा डा. सुशीला प्रसूति तथा स्त्री क्यान्सर रोग (गाइने अंकोलोजी) विषयमा एमडी अध्ययनका लागि किर्गिस्तान पुगिन्।

त्यसपछि फेरि स्त्री क्यान्सर रोग विषयमा थप ६ महिना तालिम लिइन्। साढे तीन वर्षपछि नेपाल फर्किइन्। र भक्तपुरम नै केही समय काम गरिन्।

आफैंलाई जोर्नीको समस्या

डा. सुशीलाले विभिन्न क्लिनिकमा काम गरिन्। उनले अल्का अस्पतालमा पनि लेजर क्लिनिक चलाइन्। हाल उनी जावलाखेलको लेजर थेरापी क्लिनिक र जावलाखेलमा नै नेशनल क्यासर अस्पतालमा कार्यरत छिन्।

उनी यति व्यस्त भइन् कि कुनै दिन एक घण्टा आनन्दले बस्न नपाएको बताउँछिन्। 'यसो सम्झियो भने एक घण्टा चुपो लागेर बसेको दिन छैन होलाजस्तो लाग्छ,' उनले सुनाइन्।

सुशीला लेजर थेरापी विधिबाट ढाड दुखेको, घुँडा दुखेको, हड्डी खिएको,  नसा च्यापिएको, मेरुदण्ड खिएको पक्षघात,  छालाको समस्याजस्ता विभिन्न रोगको उपचार गर्छिन्। 

त्यसैगरी गर्धन र ढाडको हड्डी खिएका धेरै बिरामीको उनले उपचार गरिसकिन्। लेजरथेरापी विधिले उपचार गर्दा बिरामीलाई नकारात्मक असर भने नगर्ने उनी बताउँछिन्। 

लेजर थेरापी विधिले उपचार गर्दा लेजरको विकिरणले सुन्निएको भाग बसाउने,  संक्रमण हुन नदिने,  रक्तसञ्चालन गराउने,  कोषिका पुनउत्पादन गर्ने जस्ता काम गर्ने भएकाले समस्या ठिक हुने उनले सुनाइन्।

तर सुशीला आफैं पनि १० वर्षदेखि रक्तचापको औषधि सेवन गर्छिन्। स्कुटर चलाउँदा धेरैपटक लडिन्। गत वर्ष वर्षको तिहारको लक्ष्मीपूजाका दिन उनी रंगोली बनाउने क्रममा चिप्लिएर लडिन्। जसले गर्दा उनको बायाँतर्फको हिपको जोर्नी खुस्कियो। त्यसैले उनले जोर्नी प्रत्यारोपण नै गर्नुपर्यो। बायाँतर्फको खुट्टा ठिक भयो। त्यपछि फेरि दायाँ तर्फको हिपको पनि जोर्नी खुस्किएकाले करिब दुई हप्ताअघि दायाँतर्फको हिपको जोर्नी पनि प्रत्यारोपण गरिन्।

अहिले उनी आराम गरिरहेकी छन्। सानो बेला मुटुको समस्या भएकी उनकी छोरी अहिले ३० वर्षकी भइन्। छोरीले रसियामा मुटुरोग विषयमा नै अध्ययन गरिरहेका सुशीलाले सुनाइन्।

१६ बैशाख, २०८०, १३:०४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।