कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रोपटक पनि पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रोपटक पनि पाए विश्वासको मत

सुर्खेतः कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वासको मत पाएका छन् ।

शुक्रबार प्रदेसभाको १४ औँ बैठकबाट उनले माओवादी केन्द्रसहित कांग्रेस, नेकपा एस र स्वतन्त्र सांसदको मत प्राप्त गरे। 

मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए । मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा २९ मत परेको छ भने विपक्षमा १० मात्रै परेको छ ।

उनले नेकपा एमाले र राप्रपा बाहेक सबै दल तथा स्वतन्त्र सांसदको मत प्राप्त गरेका हुन् ।  उनलाई माओवादीको १३, कांग्रेसको १४, समाजवादीको १ र एक जना स्वतन्त्र सांसदको मत प्राप्त भएको हो ।  

यसअघि पहिलो पटक शर्माले ६ माघमा विश्वासको मत लिएका थिए ।

त्यो बेला  एमाले, राप्रपासहितको विश्वासको २५  मत प्राप्त गरेका थिए भने कांग्रेसले विपक्षमा भोट हालेको थियो । यद्यपि राप्रपाले समर्थन फिर्ता लिए पनि १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए ।

त्यो बेला राप्रपाबाहेक सबै दलले समर्थन गरेका थिए । त्यो बेला उनले ३८ मत पाएका थिए । तर, राष्ट्रिय राजनीतिको समीकरणअनुसार कांग्रेस-माओवादीको सरकार बन्ने भएपछि २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएको थियो । 

अहिले माओवादीबाट मुख्यमन्त्रीसहित ५ मन्त्री छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णबहादुर जिसी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा भीमप्रसाद शर्मा, भौतिक पूर्वाधार विकास मन्त्रीमा मंगलबहादुर शाही र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा उर्मिला विश्वकर्मा छन्। 

यही वैशाख ७ गते कांग्रेसबाट सामाजिक विकास मन्त्रीमा खड्कबहादुर पोखरेल, आर्थिक मामिला तथा योजना मन्त्री वेदराजसिंह र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णबहादुर विसी बनेका छन् ।

१५ बैशाख, २०८०, १७:५४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।