डेढ महिनापछि किन भाइरल भयो वडाध्यक्षले उपसचिवलाई मुक्का हानेको भिडियो?

डेढ महिनापछि किन भाइरल भयो वडाध्यक्षले उपसचिवलाई मुक्का हानेको भिडियो?

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सुर्खेतमा कार्यरत उपसचिव नेत्र बहादुर कार्कीमाथि मुक्का प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

करिब ४५ दिनअघि सडक विस्तारको विषयमा भएको विवादमा वडाअध्यक्ष विष्टले उपसचिव कार्कीमाथि मुक्का प्रहार गरेका थिए।

सार्वजनिक भएको भिडियोमा पहिला उपसचिव कार्कीले वडाअध्यक्ष विष्टलाई हातले धकेलेको र पछि कार्कीले कुराकानी गरिरहेका बेला विष्टले उनीमाथि मुक्का प्रहार गरेको देखिन्छ।

उक्त घटनामा त्यति बेला नै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगी दुवै पक्षले मिलापत्रसमेत गरेका थिए।

तर एकाएक घटना भएको डेढ महिनापछि यो भिडियो कसले र किन सार्वजनिक गर्यो भन्ने विषयमा भने पीडक र पीडित दुवै पक्ष अनभिज्ञ छन्।

वडाअध्यक्ष र उपसचिवबीच भएको विवादको उजुरी जिल्ला प्रहरी कार्यालयमा आएर मिलापत्र गरी दुवै पक्ष फर्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी लक्ष्मण बहादुर शाहीले बताए।

‘करिब डेढ महिनाअघि सडकको विषयमा भएको विवादका कारण उहाँहरुबीच त्यस्तो घटना भएको रहेछ। प्रहरीमा उजुरी आएपछि हामीले दुवै पक्षलाई बोलाएर छलफल गरायौं,’ डीएसपी शाहीले भने, ‘दुवै पक्षले मिलापत्र गरी घर फर्किएको र अहिले कसले, किन भिडियो सार्वजनिक गरेको हो भन्ने हामीलाई जानकारी भएन।’

वीरेन्द्रनगर–३ स्थित आफ्नो घर अगाडि वडा अध्यक्ष एक्कासि आएर सडक नापजाँच गर्दा आफूले नचिनेको आधारमा किन यसो गरेको, मापदण्ड सबै पुगेको छ भनेर कुराकानी गर्दा आफूमाथि मुक्का प्रहार भएको उपसचिव नेत्र बहादुर कार्कीले बताए।

उनले भने, ‘वीरेन्द्रनगर–३ मा केही समय अघि मात्रै मैले घर बनाएको छु। मेरो घर अगाडि नीति सम्मत आठ मिटर सडक छोडेको छु। उहाँलाई मैले चिनेको पनि थिइनँ। कोही अमिन नल्याएर उहाँ र दुई/चार जना फित्ता समाती मेरोतिर च्यापिरहेका थिए। मैले किन यसो गरेको मापदण्डअनुसार त हामीले छोडेकै छौं भनेर उहाँलाई सोधपुछ गरेको थिएँ।’ उनले थपे, ‘त्यसपछि म त्यही विषयमा स्थानीयसँग कुरा गरिरहेका बेला उहाँले मलाई एक्कासि मुक्का हान्नुभयो। पछि अरुसँग बुझ्दा मात्रै मैले उहाँ वडाअध्यक्ष भनेर चिनेको,’ उपसचिव कार्कीले भने।

घटना भएको दिनमा नै प्रहरीमा निवेदन दिई छलफल गर्दा वडाअध्यक्ष विष्टले माफी मागेपछि मिलापत्र गरेको उपसचिव कार्कीले बताए।

मिलापत्र भइसकेको कुरा अहिले किन र कसरी बाहिर आयो भन्ने विषयमा आफूलाई जानकारी नभएको उनको भनाइ छ। यस विषयमा बुझ्न वडाअध्यक्ष विष्टसँग सम्पर्क हुन सकेन। 

विवाद जे भए पनि कानुनी बाटो लिन अरुलाई सिकाउनु पर्ने अध्यक्षले नै कानुनलाई हातमा लिएको भन्दै हाल यस घटनाको आलोचना भइरहेको छ। 

१४ बैशाख, २०८०, ११:४१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।