‘युद्धले परिर्वतन ल्यायो भन्दैमा सर्वश्व गुमाएका निहत्था नागरिकबारे मौन बस्नुपर्ने?’

‘युद्धले परिर्वतन ल्यायो भन्दैमा सर्वश्व गुमाएका निहत्था नागरिकबारे मौन बस्नुपर्ने?’
तस्बिर- कृष्पा श्रेष्ठ

काठमाडौं : नवपुस्तामा खुबै रुचाइएका युवा लेखक हुन् विवेक ओझा। व्यवस्थापनमा स्नातकोत्तर गरेका ओझाले साहित्यमा आफ्नो बलियो पकड जनाइरहेका छन्।

कविता सङ्ग्रहबाट पुस्तक लेखनी सुरू गरेका ओझाको पहिलो उपन्यास ‘ऐलानी’ खुबै चर्चित भयो। पुस्तकमा ओझाले राज्य संरचनाले सदियौंदेखि पछाडि पारेको र स्थानीय ठालूले जबरजस्ती यौन व्यवसाय गर्न बाध्य तुल्याएको वादी समुदायका महिलाहरूको कथा उने।

यद्यपि केही शब्दहरू आपत्तिजनक भएको भन्दै मुद्दासमेत खेप्नुपर्याे। अभिव्यक्ति स्वतन्त्रताका पक्षपाती उनका पुस्तकमा ‘केही आपत्तिजनक र अपमानजनक शब्द भए लेखकको स्वविवेकले बदल्ने विश्वास अदालतले लिएको’ आदेश आयो। यद्यपि पुस्तकमा आपत्तिजनक र अपमानजनक शब्द नभएको भन्दै कुनै पनि शब्द फेरिएन।

दोस्रो पुस्तक ‘ऐँठन’ ल्याए ७९ सालको चैतमा। माओवादीले सुरू गरेको १० वर्ष सशस्त्र संघर्षलाई राज्य र माओवादी दुवैको इतर पक्षको दृष्टिकोणबाट चिहाएका छन् ओझाले।

खास भन्दा दोहोरो बन्दुकको मारमा परेका नागरिकको कथा उपन्यासमार्फत भन्न खोजेका छन् लेखकले। उनैसँग पुस्तक लेखन, सशस्त्र संघर्षलाई उपन्यासमार्फत चियाउने दृष्टिकोणबारे उकेराकर्मीले ‘उकेरा साहित्य सवांद’का लागि गरेको कुराकानीः

पहिलो उपन्यास ‘ऐलानी’ दोस्रो ‘ऐँठन’ प्रकाशन गर्नुभयो। तपाईंलाई ‘ऐ’ शब्द प्रति कति मोह हो।
(हाँस्दै...) संयोग यस्तै पर्याे हेर्नु न! मैले त ‘उप्रान्त’ नाम राखेको थिएँ। प्रकाशक मणि शर्मा दाइले पढ्दै जाँदा ऐँठन भयो यार ऐँठन राख्दा ठीक हुन्छ भन्ने कुरा गर्नुभयो। मैले पाण्डुलीपी पढ्न दिएका अग्रजहरूले पनि नाम फेर्न सुझाव दिनु भएकाले नाम फेरियो। अगामी पुस्तकमा ऐ बाट नाम आउँदैन।

किताब विमोचनकै दिन पाँच वर्ष लगाएर लेखेको भन्नुभयो। लेखकलाई चाहिँ कति पटक ऐँठन भयो त?
यो मेरो कर्म हो। परिवार सबैले यसलाई सहयोग गर्नुभएको थियो। मलाई यस किताबमा लापरबाही गर्ने छुट नै थिएन। हरेक समयमा कथा बुनिरहेको थिएँ। उपन्यासका केही पात्रले मलाई अप्ठ्यारो बनाइरहेको थियो।

मैले मेरी श्रीमती पुष्पालाई भनेको पनि थिएँ, ‘मैले केही अस्वभाविक व्यवहार देखाएँ भने सामान्य लिनु है’ भनेर। किताबको पात्रै यस्ता थिए कि लेखकलाई ऐँठन नहुने कुरै भएन।

प्रारम्भिक प्रतिक्रिया कस्तो पाउनुभयो?
धेरै पाठकहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ। कतिले उपन्यासका पात्रलाई सपनामा देखिएको भन्नुभो भने कतिले पढेपछि विक्षिप्त भएँ पनि भन्नुभयो। सुरुवाती प्रतिक्रियाले सन्तुष्ट छु।

माओवादी केन्द्रीय सदस्य रेणु चन्दले पुस्तक विमोचनकै दिन ‘माओवादीले लेख्न छाडे, अन्यले लेख्दा युद्धलाई हेर्ने तरिका फरक हुने नै भयो’ भन्नुभयो। माओवादी सशस्त्र संघर्षलाई कसको दृष्टिकोणबाट हेर्नुभएको हो?
सत्ता पक्ष र हतियारधारी दुवै पक्षको दृष्टिकोणबाट लेखिएको होइन यो पुस्तक। यो पुस्तक निहत्था नागरिक, जसलाई युद्धसँग कुनै सरोकार नै थिएन र पनि युद्धबाट प्रताडित भए, उनीहरूको दृष्टिकोणबाट लेखिएको हो।

त्यसैले उपन्यासमै प्रश्न गरेको छु, ‘जुनसुकै युद्धमा पनि बुद्ध जस्तो ज्ञानी बन्ने सम्भावना रहेको मान्छे मारिएन भन्न सकिन्छ? युद्धले कतिपय सम्भावनाहरूलाई मारेन?’

राज्य र तत्कालीन विद्रोही पक्षभन्दा पर रहेर लेखिएको पुस्तक हो यो।

पुस्तकमा युद्धको घनघोर विरोध गर्नुभएको छ। युद्धको विरोध गर्नु आख्यान हो भनेर छाडौँ की तपाईं गान्धीवादी हो भनेर? युद्धले ल्याएको परिर्वतनको पक्षधर हो की होइन?
म चाहिँ खासमा जीवनवादी हो। गान्धीवादी, बुद्धवादी भन्न हतार हुनसक्छ। अहिंसावादी चाहिँ हो।

युद्धले ल्याएको परिर्वतन स्वीकार्नु हुन्छ की हुन्न भन्ने विषय फरक पाटो हो। परिर्वतनको कुरा गर्दा परिर्वतन भइसकेपछि शक्तिको बाँडफाँडमा ध्यान दिनुपर्छ।

राजनीति गर्नेहरूले समय अनुसार आफूलाई ढाल्नुपर्छ। यो उपन्यासमा एउटा युद्ध भएपछि फेरि अर्काे युद्ध आउँछ।

जस्तो कि कुरु क्षेत्रको युद्ध, दोस्रो विश्वयुद्ध, हिरोसीमा नागासाकी भएको युद्धदेखि नेपालमा भएको गृहयुद्ध। जुन प्रसङ्ग समेटे पनि निहत्था नागरिक कसरी प्रताडित हुन्छन् भन्ने नै उल्लेख छ।

यस पुस्तकमा माओवादीले गरेको सर्वसाधरण माथिको ज्यादती र सेनाले गरेको निहत्था नागरिकप्रतिको ज्यादतीलाई जस्ताको तस्तै उतारिएको छ।

धेरैले युद्धमा दिएको बलिदानले परिर्वतन ल्यायो भन्छन्, देश बन्न एक दुई जना शहीद हुन तयार हुनुपर्छ पनि भन्छन्, तपाईं चाहिँ किन युद्धविरोधी?
जुनसुकै राजनीतिक आस्था राखे पनि मानव नै नभएको राज्यमा कसैको राजनीति चल्दैन होला। खरानी भएको राज्यमा कस्ले पो राज्य चलाउँला र? लोकतन्त्रमा त प्रत्येकको जीवनको हिसाब किताब हुन्छ हैन?

विना गल्ती कसैको घाँटी रेटिनु, हत्या गरिनु, जिउँदै पुरिनु न्यायिक हो त? यसको त निर्मम समीक्षा हुनुपर्ला नि! यसको हिसाबकिताब किन नमाग्ने?

युद्धले परिर्वतन ल्यायो भनेर युद्धमा भएको अपराधलाई छोपिरहेका छौँ की? त्यतिखेर भएका मानवजन्य अपराध अपराध नै हो त्यो छोपिनुभएन।

तपाईंले शान्ति प्रक्रियामा गएको १७ वर्ष पूरा भएपछि पुस्तक लेख्नुभएको छ। १७ वर्षे युवाले यो पुस्तक पढ्यो भने युद्धलाई कसरी बुझ्ला?
युद्ध जेका लागि होस् कुरूपै हुन्छ भन्ने नव पुस्ताले बुझ्छ। विना कसुर कसरी नागरिक मारिन्छ भन्ने बुझ्छ।

एउटा उदारहण दिन्छु– अमेरिकाले हिरोसिमामा बम खसाल्नुअघि लाखौँ मान्छेले एकैपटक हामी जुनसुकै बेला मर्न सक्छौँ भनेर त सोचेका थिएनन् नि! उनीहरू त आफ्नो जीवन चलाइरहेका थिए।

त्यस्तै, नेपालमा पनि प्रमुख जिल्ला अधिकारीलाई जिउँदै थुतेर जलाइयो, पढाइरहेको शिक्षकको हत्या भयो। यस्तो हत्याको त म व्यक्तिगत रूपमा कहिल्यै समर्थन गर्न सक्दिन नै।

युद्ध नागरिकले चाहेर वा नचाहेर हुने वा नहुने होइन। तर निहत्था नागरिकले कसरी हेर्छन् युद्धलाई भनेर लेख्नैपर्ने थियो, त्यही भएर लेखियो। युद्ध निर्मम हुन्छ यसले अकल्पनीय दृश्य लेराइदिन सक्नेरहेछ भनेर अगामी युवाले बुझ्छन्।

युद्ध र युद्धपछिको परिर्वतनलाई कसरी हेर्नुहुन्छ?
१० वर्षे सशस्त्र संघर्षलाई हेर्ने तरिका फरक हुनसक्छ। युद्धलाई हेर्ने दृष्टिकोण मेरो एकै छैन। उनीहरूको मागलाई हेर्दा केहीमा सहमत छु, केहीमा छैन। युद्ध सुरु गर्दा बन्दुक उठाउनेप्रति पनि फरक दृष्टिकोण छन् मेरा।

झन् त्यसमाथि निहत्था नागरिक मारिएकाप्रति निर्र्मम तरिकाले हेर्छु म। युद्धले परिर्वतन ल्याएको भनेर कोरा तर्क मात्रै गरेर हुन्न। परिर्वतनका खातिर निहत्था नागरिकको घाँटी रेटिएको, टुक्रा पारिएको, ज्यान लिएको र अपाङ्ग बनाइएकाहरूको दृष्टिकोणबाट पनि युद्धलाई हेर्नैपर्छ।

पुस्तकमा प्रवेश गरौँ, किशोर अवथामा देख्नुभएको युद्धलाई युवावस्थामा उतार्दाको अनुभव कस्तो रह्यो?
हाम्रो पुस्ताले गृहयुद्ध देखि भूकम्प र कोरोना कहरसम्म धेरै थोक देख्यो। हामीले लेख्ने कुरा धेरै छ, चाहे आख्यानमा होस् या गैरआख्यानमा। युद्धलाई नजिकबाट चियाएको अनुभव छ।

हामी विद्यालय जाँदा बाआमाका आँखा रसीला हुन्थे भरे फर्कन्छ की फर्कँदैन भनेर। मेरो पुस्तामा युद्धको ऐँठन छ। टायरै पड्किदा पनि हतियार नै पो थियो की भनेर झस्कने पुस्ता अझै छ।

युद्धबारे एक दशकअघि नै कथा लेखिएको भए पनि छापिएन। समय बित्दै जाँदा युद्धमा होमिएकाहरू एकाएक परिर्वतन भए। केही ठालू नेताहरू मात्रै। युद्ध किन गरेका थिए, कसरी उनीहरू स्खलित भए भन्ने देखियो।

पहिलो युद्धमा के कस्तो भएको थियो पनि देखियो, सुनियो, पढियो। दोस्रो परिर्वतनका खातिर युद्धका नेतृत्व गर्नेहरूले जनजीविकाका मुद्दाहरू चटक्कै छाडेको पनि देखियो। युद्ध हेर्दा र अहिले उतार्दा आफूलाई परिपक्व पाएँ।

पात्र कसरी सिर्जना गर्नुभयो?
थप घटनाक्रम सुनेँ। लोकेशन हेरेँ अनि थरीथरीका पात्र भेटेँ।

तपाईंका उपन्यासमा बन्दीहरू कांग्रेस निकट देखिन्छन् दुईजना। यो उपन्यासलाई कांग्रेस समर्थितको नजरबाट हेरिएको भन्न सकियो?
तत्कालीन युद्धको प्रवृत्ति कस्तो थियो भनेर बुझ्न जरुरी छ। राज्यकै तथ्यांकमा पनि कांग्रेस निकट भएकैले धेरैको ज्यान गएको थियो। कांग्रेस हुनु अपराध थियो? पार्टीगत रूपमा बन्दी भएका त होइनन् ती पात्रहरू।

द्वन्द्वको प्रकृति जस्तो छ, त्यस्तै सर्लक्कै देखाउन खोज्दा दुई बन्दी पात्र र मूल पात्र कांग्रेसनिकट परे। तर, उनीहरूलाई कांग्रेससँग लिनुदिनु केही देखिँदैन। साधारण मतदातामात्रै हुन्। उनीहरू आफ्नै सुखदुःखले कर्म गरिरहेका निहत्था नागरिक नै हुन्।

‘चन्द्रकला राम्री थिइ सेनाले लुछ्नु लुछे।’ अनि उपन्यासकारले विम्बमार्फत कुरूप बनाइदिनुभयो। सेनाको अत्याचार देखाउन चन्द्रकला पात्र सिर्जना भएको हो?
सेनाले किशोरी बालिका देख्नै हुँदैनथ्यो युद्धको बेला। कति पीडितहरू अहिले पनि हुनुहुन्छ। सेनाको अत्याचार नाजायज नै थियो, निर्मम थियो। त्यसैको समीक्षा गर्दा चन्द्रकला पात्र जन्मिई।

संघर्ष ताका सेनाले बलात्कार गरेको त बाहिरिन्थ्यो, पछि पनि बाहिरियो। तर आम रूपमा माओवादीले निहत्था नागरिकलाई बलात्कार चाहिँ गर्दैनन् भन्ने थियो। तपाईंको उपन्यासमा त देखियो नि!
एकजना ठूलै माओवादी नेतालाई एक जना नेतृले ब्वाँसोको संज्ञा दिनुभएको छ। माओवादीबाट महिलाहरू बलात्कार नभएका होइनन्। त्यसैले त माओवादीमा अनुशासन गुमाएका भनेर कारबाही भइरहन्थ्यो।

तपाईंको प्रमुख पात्र बबनकुमार युद्धले गर्दा परिवार पूरै गुमाएको, माओवादी र सेनाबाट बन्दी भएको र पछि युद्ध सकिएपछि पनि मानसिक रोगी भएको देखाउनुभएको छ, किन?
आफ्नो व्यवहार चलाएर खाइरहेका निहत्था नागरिक मारिए। उनीहरूको मानसिक अवस्था अहिले कस्तो होला? राज्यले सोच्यो? परिवार गुमाएका अपाङ्ग भएकाहरूबारे कहिल्यै राज्यले काउन्सिलिङ्ग गर्याे?

अहिले पनि बन्दुकको दोहोरो मारमा परेकाहरू आन्दोलन गरिरहेका छन्। उनीहरूलाई राज्यले अनदेखा गर्याे भन्दैमा एउटा साहित्यकारले कसरी अनदेखा गर्न सक्छ र?

युद्धले परिर्वतन ल्यायो भन्दैमा युद्धको कुनै सरोकार नै नभएका तर सर्वश्व गुमाएकाहरूबारे मेरो साहित्यिक मन मानेन अनि लेखियो।

लोकतान्त्रिक विचार राख्ने लेखकले युद्धलाई फरक दृष्टिकोणबाट लेख्दा डर भएन?
पहिलो किताबमा मुद्दा खेपेको भएर हल्का डर त लाग्थ्यो नै नलेखिरहँदा। जब लेख्न थाल्थेँ मेरा पात्रहरू बलिया भएर आउँथे। मेरो प्रमुख पात्रलाई डर र भय नभएपछि बाहिर मुद्दा लाग्ने अथवा अन्य कुरा गौण हुने रहेछन्।

अहिले आर्थिक मन्दी जस्तै भएको बेला किताब ननिकालौँ भन्ने भएन?
सुरुवातमा भएको पनि थियो। तर ठीक्क पारेको चिज किन राख्ने भनेर निकालियो।

तपाईंको चौथो पुस्तक के आउँछ त?
मेरो चौथो पुस्तक गरिबीबारे आउँछ।

तपाईं आख्यानमा विषयवस्तु उठाइरहनुहुन्छ। पहिलेको वादी समुदायको, यो द्वन्द्वको अब चाहिँ गरिबीबारे भन्नुभयो। कतिपयले इस्यु उठाउने हो भने आख्यान किन गैरआख्यान किन भन्छन् यसमा तपाईंको धारणा?
आख्यानमा इस्यु उठाइन्छ तर कलाका साथ। कलात्मक तरिकाले इस्यु नै उठाउने हो। मलाई यर्थाथ र स्वरैकल्पना गर्न मनपर्छ।

७ बैशाख, २०८०, १०:१७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।