रविका चालक भेन्टिलेटरमै, महामन्त्री मुकुलका चालक प्रहरी नियन्त्रणमुक्त

रविका चालक भेन्टिलेटरमै, महामन्त्री मुकुलका चालक प्रहरी नियन्त्रणमुक्त

चितवन : शंकास्पद रूपमा घरको छतबाट खसेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

अस्पताल स्रोतका अनुसार टाउकोमा गम्भीर चोट लागेका थापाको तत्काल शल्यक्रिया गरिए पनि उनको अझै होस् भने खुलेको छैन।  

भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको भेन्टिलेटरमा उनको उपचार भइरहेको छ। सोमबार उनी रविसँगै बस्दै आएको भरतपुरको घरको तेस्रो तलाबाट खसेका थिए।

घटनाको क्लोज सर्किट क्यामरामा उनी खस्दै गरेको अस्पष्ट र अपुरो फुटेज फेला परेको छ। उनी पार्टीका महामन्त्री मुकुल ढकालको चालकसँगै सुतेकाले प्रहरीले उनलाई नियन्त्रणमा लिइ बयान लिएर छाडेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले घाइतेको स्वास्थ्य अवस्था सोमबार जस्तो थियो उस्तै रहेको जानकारी दिए।

‘चिकित्सकबाट स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी आएको छ। सोमबार जस्तो थियो आज पनि उस्तै छ,’ उनले भने।

अनुसन्धानको पाटोमा सँगै सुतेका भनिएका अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछपछि आवश्यक परेको बेलामा उपस्थित गराउने गरि व्यक्तिगत जमानीमा छाडेको र अनुसन्धान जारी रहेको कार्कीले उकेरालाई जानकारी दिए।

सिन्धुपाल्चोकका शम्भुले लामो समयदेखि लामिछानेको सवारी साधन चलाउँदै आएका थिए। चुनावी प्रचार सकिएर घरमा आराम गर्ने क्रममा तेस्रो तलामा सुतेका उनी हिजो बिहान करिब चार बजे छतबाट खसेका थिए।

वैशाख ५, २०८० मंगलबार १०:२५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।