रविविरुद्ध कानूनी लडाइँमा रहेका युवराज सफल यूट्युबरबाट प्रहरी कार्यालय अगाडि कुटिए

रविविरुद्ध कानूनी लडाइँमा रहेका युवराज सफल यूट्युबरबाट प्रहरी कार्यालय अगाडि कुटिए

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो नागरिकता र दोहोरो राहदानीबारे न्यायिक लडाइमा संलग्न युवराज पौडेल सफल प्रहरी कार्यालयको गेटै नजिक कुटिएका छन्।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको गेटमा युट्युबर र आफूलाई सामाजिक अभियन्ता भन्ने समूहले कुटपिट गरेको हो।

आइतबार दिउँसो सफल परिसरमा पुगेका थिए। उनी प्रहरी कार्यालय पुगेको सूचना पाएपछि केही युट्युबर र सामाजिक अभियन्ता दाबी गर्नेहरू पनि त्यहीँ पुगे। उनी प्रहरी कार्यालय प्रवेश गर्नु अगाडि नै उनीहरूले घेरे।

उनीहरूले लामिछानेविरुद्ध मुद्दा हालेको, आफूहरूलाई लामिछानेबाट पैसा लिएको आरोप लगाएको लगायतका आरोप लगाउँदै हातपात गरेका थिए। उनी भिडको आक्रमणबाट जोगिन प्रहरी कार्यालयभित्र छिर्न खोज्दा गेटमा रहेका प्रहरीले रोकेका थिए।

युट्युबर र आफूलाई अभियन्ता भन्नेहरूले उनलाई हातपात गर्दा प्रहरी रमिते बनेका थिए।

परिसरका सूचना अधिकारी सिताराम रिजालले प्रहरी कार्यालयमा आउने क्रममा केही व्यक्तिले युवराज पौडेल सफललाई घेरेको जानकारी पाएपछि प्रहरीले समूहलाई तितरबितर बनाएको दाबी गरे।

सफलले एक जाहेरीको कामको सिलसिलामा प्रहरी कार्यालय जाँदा पहिल्यैबाट योजनाबद्ध रूपमा भेला भएका रविका समर्थकहरूले हातपात गरेको बताए।

'एउटा जाहेरीकै सिलसिलामा प्रहरी कार्यालय गएको थिएँ। पहिल्यै योजना बनाएर बसेको समूहले हातपात गरे। पछि तल्ला तहका प्रहरीले आएर सुरक्षा दिए।'

सफलले लामिछानेविरुद्ध गृह मन्त्रालयमा दर्ता गरेको उजुरीका आधारमा उनीमाथि अनुसन्धान शुरु भएको थियो। प्रहरी अनुसन्धान प्रभावकारी नभएपछि उनीसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उनीसहितको रिटमा बहस हुँदा उनको उपप्रधान तथा गृहमन्त्री पदसँगै पार्टी अध्यक्ष र सांसद पद समेत गुमेको थियो।

अमेरिकी नागरिक हुँदा-हुँदै नेपाली पासपोर्ट बनाएर राहदानी दुरूपयोग गरेको आरोपमा प्रहरी र महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउनु नपर्ने निर्णय गरेपछि उनले सो निर्णय विरुद्द समेत रिट हालेका थिए।

रिटबारे सर्वोच्चमा बहस जारी छ। उता लामिछाने चितवन-२ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन्।

वैशाख ३, २०८० आइतबार २०:१८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।