प्रधानमन्त्री र गृहमन्त्रीलाई रविले भने- ‘चुनावमा कुनै गढबढी नहोस्’

प्रधानमन्त्री र गृहमन्त्रीलाई रविले भने- ‘चुनावमा कुनै गढबढी नहोस्’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वैशाख १० गते हुने उपनिर्वाचनमा  कुनै गढबढ नहोस् भनेर प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

दमौलीमा भएको पार्टीको बृहद् चुनावी सभामा बोल्दै सभापति लामिछानेले तनहुँ, बारा र चितवनमा हुने निर्वाचनमा गढबढ नगर्न सरकारसँग आग्रह गरेका हुन्।

‘केही निर्वाचनमा भएका अराजकताहरूलाईै हेरेको, देखेको र सञ्चारकर्मी हुँदा रिपोर्टिङ गरेको हुनाले यो चुनावमा कुनै गढबढी नहोस्,’ उनले भने, ‘म सरकार, प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।’

लोकतन्त्रमा जनताले भोट दिएकाले जित्ने भन्दै त्यसमा कैफियत नहोस् भन्नका लागि आफूले सरकारको ध्यानाकर्षण गराएको समेत उनले बताए।

‘हाम्रो पार्टी कार्यकर्ता बोक्ने पार्टी होइन, समर्थक र आम जनताहरुको साथले अघि बढेको पार्टी हो,’ उनले थपे, ‘हामीसँग हाम्रो बुथ र मतलाई जोगाउने धेरै घण्टीवाहकहरू नहुन सक्लान्, त्यतिखेर तपाईंले आफ्नो मतको सुरक्षाका लाग पहरेदारी गरिदिनुहोला।’

फरक प्रसङ्गमा सभापति लामिछानेले भ्रष्टाचारका फाइल खोल्न दरो खुट्टा टेकेपछि त्यसले भूकम्प ल्याएको र त्यसको पराकम्प चुनावको अघिल्लो रातसम्म आउनसक्नेतर्फ सचेत हुन आग्रह गरे।

वैशाख ३, २०८० आइतबार १७:५१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।