दरबार हत्याकाण्डबारे लेखिएको ‘खण्डहर दरबार’ प्रकाशित, पुस्तकले दीपेद्रमाथि न्याय गर्ने दाबी

दरबार हत्याकाण्डबारे लेखिएको ‘खण्डहर दरबार’ प्रकाशित, पुस्तकले दीपेद्रमाथि न्याय गर्ने दाबी

काठमाडौं : लेखक नगेन्द्र न्यौपानेको नयाँ उपन्यास ‘खण्डहर दरबार’ प्रकाशित भएको छ।

बिएन पुस्तक संसार प्रालिले लेखक न्यौपानेको उपन्यास बजारमा ल्याएको हो। पुस्तकमा दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गरिएको लेखकको दाबी छ।

‘दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक बजारमा आए’ लेखक न्यौपानले भने, ‘तर यो पुस्तकले दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याएको छ।’

पुस्तकले दरबार हत्याकाण्डमा नखुलेका रहस्य उजागर गर्दै घटनालाई विस्तृत रूपमा बाहिर ल्याएको न्यौपानेको तर्क छ।

‘ठूलो षड्यन्त्र भयो दरबारमा। राजा वीरेन्द्रको वंशनाश गरियो तर दोष चाहिँ युवराज दीपेन्द्रमाथि थोपरियो। जुन् कुरा जनताले पत्याउन सकेका थिएनन्। उपन्यासमा दरबार हत्याकाण्डमा नखुलेका रहस्य उजागर गरिएको छ।’

पुस्तकले तत्कालीन युवराज दीपेन्द्रमाथि न्याय गर्ने प्रकाशन गृह बिएन पुस्तकका प्रमुख सूर्य बिसीको दाबी छ।

‘खण्डहर दरबार नेपाली जनताले खोजेको पुस्तक हो। यसले आम जनतामाथि न्याय त गर्ने नै छ, तत्कालीन युवराज दीपेन्द्रमाथि समेत न्याय गर्नेछ।’

लेखक न्यौपानेको यो दशौँ कृति हो। यसअघि उनको ‘दरबारबाहिरकी महारानी’ निकै रुचाइएको कृति हो।
उपन्यासको बजार मुल्य ५२५ रुपैयाँ तोकिएको छ। 

३० चैत, २०७९, १६:४७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।