प्रधानन्यायाधीश नियुक्त गर्न बारको १० दिने अल्टिमेटम

प्रधानन्यायाधीश नियुक्त गर्न बारको १० दिने अल्टिमेटम

काठमाडौं : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश नियुक्त गर्न सरकारलाई १० दिनको अल्टिमेटम दिएको छ।

बुधबार पत्रकार सम्मेलन गरेर एसोसिएसनले १० दिनभित्र सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलन सुरू गर्ने चेतावनी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम प्रधानन्यायाधीशबाट सर्वोच्च अदालत सञ्चालन भएको नै १ वर्षभन्दा बढी भइसकेको भन्दै अबको १० दिनभित्रमा प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलन सुरू गर्ने चेतावनी दिए।

उनले भने, ‘यदि ७ देखि १० दिनको बीचमा समस्या समाधान भएन भने, यसमा कुनै जागरूकता देखाइएन भने सर्वोच्च अदालतलाई पनि भन्न चाहन्छु, फुल्ली अटोमेटेड सिस्टम, अटोमेसन लागू गरेर पेशी व्यवस्थापन गर्नेतर्फ ध्यान गएन भने नेपाल बार एसोसिएसनले उचित निर्णय लिन्छ।’

उनले सर्वोच्च अदालतमा पनि अटोमेसन प्रणाली लागू गरेर पेशीको व्यवस्थापन नगरे आन्दोलन गर्ने बताए। उनले कार्यपालिका र व्यवस्थापिकाले सर्वोच्च अदालतलगायत न्यायालयलाई नै हेपेको आरोप लगाए।

‘हाम्रो आजको मूल मुद्दा भनेको सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति सम्बन्धमा हो। सर्वोच्च अदालतको प्रधानन्यायाधीश यदी स्थायी हुन सकेन भने यो कार्यपालिका र व्यवस्थापिकाले सर्वोच्च अदालत लगायत न्यायालयलाई हेपेको अवस्था हो भन्ने बुझ्छौं’, उनले भने।

पत्रकार सम्मेलनमा सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष हरिशंकर निरौलाले कानूनबमोजिम अविलम्ब  प्रधानन्यायाधीश नियुक्त गर्न माग गरे। उनले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति नगर्नु भनेको न्यायपालिकाको लागि शुभलक्षण नभएको बताए।

२९ चैत, २०७९, १६:३८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।