‘बेग्लै आकाश’ र ‘खटप्वाल’ लोकार्पण

‘बेग्लै आकाश’ र ‘खटप्वाल’ लोकार्पण

काठमाडौं : साहित्यकार तथा पत्रकार घनेन्द्र ओझाद्वारा लिखित ‘बेग्लै आकाश’ र प्रमोद प्याकुरेलद्वारा लिखित उपन्यास ‘खटप्वाल’ लोकार्पण गरिएको छ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा १४ जना विविध क्षेत्रमा स्थापित विशिष्ट व्यक्तित्वहरूको संक्षिप्त जीवनी समेटिएको पुस्तक ‘बेग्लै आकाश’ पुस्तकमा समेटिएका व्यक्तित्वहरूबाटै लोकार्पण गरिएको थियो।

यस्तै ‘खटप्वाल’ भने प्रमुख अतिथि समालोचक रमा शर्मा, गीतकार, चलचित्रकर्मी यादव खरेल, समालेचकहरू महेश पौड्याल, डा. अशोक थापा, लेखक प्याकुरेल लगायतले गरेका थिए।

‘बेग्लै आकाश’माथि संक्षिप्त टिप्पणी गर्दै समालोचक पौड्यालले नेपाली साहित्य, प्राध्यापन, बैंकिङ, राजनीतिलगायत विविध क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाइसकेका व्यक्तित्वहरूका जीवन संघर्ष, साहित्य/संगीतयात्रा, राजनीतिक संघर्ष, सरकारी जागिरका सकस आदिबारे बुझ्न पुस्तक उपयोगी हुने बताए।

पुस्तकमा लोकेन्द्रबहादुर चन्द, यादव खरेल, डा. विमल कोइराला, प्रा.डा. कृष्णहरि बराल, प्रतीक ढकाल, कृष्ण धरावासी, डा. भोजराज घिमिरे, केशव भट्टराई, शंकर कोइराला, डा. घनश्याम न्यौपाने 'परिश्रमी', चूडामणि देवकोटा, डा. रामप्रसाद ज्ञवाली, दिनेश अधिकारी र शक्तिबल्लभका जीवनी समेटिएको छ।

यसरी नै ‘खटप्वाल’भित्र छिर्दै समालोचक डा. अशोक थापाले प्रमोद प्याकुरेलले नेपाली ग्रामीण जीवनका चित्र उपन्यासमा उतारेका बताए। प्रकृतिको मानवीकरण गर्दै दार्शनिक तवरले समकालीन नेपाली समाजका यथार्थ उपन्यासमार्फत प्रकट गरेका उनको भनाइ थियो।

दुवै पुस्तक पेज टर्नर प्रा.लि.ले प्रकाशन गरेको हो। ‘बेग्लै आकाश’को मूल्य ५०० रूपैयाँ तोकिँदा ‘खटप्वाल’ ४५० रूपैयाँमा किन्न सकिन्छ।

२९ चैत, २०७९, १४:४०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।