धुर्मुस-सुन्तली फाउन्डेसनको पक्षमा उभिए सांसद देवकोटा, रङ्गशालाको स्वामित्व सरकारलाई लिन माग गरे

धुर्मुस-सुन्तली फाउन्डेसनको पक्षमा उभिए सांसद देवकोटा, रङ्गशालाको स्वामित्व सरकारलाई लिन माग गरे

काठमाडौँ : राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा चितवन क्रिकेट रङ्गशालाबारे  धुर्मुस-सुन्तली फाउन्डेसनको पक्षमा उभिएका छन्।

सिताराम कट्टेल र कुञ्जना घिमिरेले १८ करोड ऋण लागेको भन्दै चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकेका थिए।

पछिल्लो समय उनीहरू सो समस्या समाधान गर्न सामाजिक सञ्जालबाट सरकारसँग हारगुहार गरिरहेका छन्।

आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै देवकोटाले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला आवश्यक रहेको भन्दै सो रङ्गशालाको सबै स्वामित्व सरकारले लिनुपर्ने धारणा राखेका थिए।

उनले भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका काममा देखिएका व्यवधानहरूको अन्त्य गर्न आग्रह समेत गरेका थिए।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला आवश्यक छ भन्ने सन्देश हालैको आइसीसी विश्वकप लिगले पनि देखाएको भन्दै उनले निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला गेम चेन्जर परियोजनाको रूपमा रहनसक्ने बताएका थिए।

उनले सो रङ्गशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफैँ वा भरतपुर महानगरपालिका लिने गरी निर्णय गर्न सरकारलाई आग्रह गरेका थिए।

१२ चैत, २०७९, १६:५९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।