पाँच वर्षपछि ‘ऐँठन’ लिएर आए ओझा

पाँच वर्षपछि ‘ऐँठन’ लिएर आए ओझा

काठमाडौं : चर्चित उपन्यास ‘ऐलानी’का लेखक विवेक ओझा पाँच वर्षपछि नयाँ उपन्यास ‘ऐँठन’ लिएर आएका छन्।

शनिबार एक समारोहबीच द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, लेखक तथा राजनीतिक अभियन्ता केशव दाहाल र माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेणु चन्दले एकसाथ ‘ऐँठन’ सार्वजनिक गरे।

कार्यक्रममा बोल्दै सुमन अधिकारीले पुस्तकले दुई दशकअघिको माओवादी विद्रोहलाई नयाँ पुस्ता माझ चिनाउने गरि लेखक ओझाले सजिव चित्रण गरेका बताए।

साथै उनले राज्यले द्वन्द्वपीडितका भावनालाई राज्यले सम्बोधन नगरेका अवश्थामा यस पुस्तकले समेत घच्घच्याउने आशा राखेको उल्लेख गरे।

राजनीतिक अभियन्ता तथा लेखक केशव दाहालले पुस्तकमा केही दशकअघिको नेपालीले भोगेको द्वन्द्वको अकल्पनीय वर्णनले पाठकलाई बाँधेर राख्ने ताकत भएको बताए।

साथै उनले युद्धमाथि लेखिएको भए पनि पुस्तकले प्रस्तुत गरेको मानवीय पक्षधरताले पुस्तकलाई शसक्त बनाएको बताए। कलात्मक लेखन र कल्पनाको विशाल संसार निर्माणले पाठकलाई अचम्मित पार्ने उनको भनाइ छ।

माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले उपन्यासको शैलीले पाठकलाई ताजगी दिने खालको साथ घटनाक्रमको सिलसिला मिलेको हुँदा पढ्न सहज भएको बताइन्।

उनले लेखकको भाषाको सरलता र आञ्चलिक भाषा समेतको प्रयोग गर्ने कलाले आफूलाई प्रभावित बनाएको बताइन्। लेखकले सृजनशील स्वतन्त्रताको उपयोग गर्दै माओवादी जनयुद्धका बारेमा लेखे पनि माओवादी आन्दोलनप्रति निर्मम भएकामा भने आफ्नो असन्तोष व्यक्त गरिन्।

तर, आफ्ना कथाहरू लेख्न विवेक ओझाका कृतिले प्रेरित गर्ने पनि उनको भनाइ थियो। पुस्तकको शसक्त पक्ष भने युद्ध लेखेर शान्तिको सन्देश दिनु रहेको उनले उल्लेख गरिन्।

११ चैत, २०७९, २१:२६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।