रिस साँध्ने थलो बने बुटवलका नाइट क्लब : काटाकाट गरेर २० टाँका लगाउँछन् तर प्रहरीमा उजुरी गर्दैनन्

रिस साँध्ने थलो बने बुटवलका नाइट क्लब : काटाकाट गरेर २० टाँका लगाउँछन् तर प्रहरीमा उजुरी गर्दैनन्

बुटवल : बुटवल उपमहानगरपालिका–११ होराइजन चोक नजिकै रहेको ‘लर्ड बुटवल क्लब’मा गत माघ २८ गते ग्राहकको रूपमा पुगेका युवाहरू बाउन्सरबाट कुटिए।

कुटिएका गुल्मीका २७ वर्षीय विनोद गुरुङ र हिमाल भट्टराईले इलाका प्रहरी कार्यालयमा क्लबमा कार्यरत बाउन्सरहरू सुविन श्रेष्ठ, सागर पुन, विपिन पुन मगरलगायत अन्य अपरिचित युवाहरूले रड, खुकुरी तथा अन्य धारिला हतियार प्रयोग गरी घाइते बनाएको भन्दै जाहेरी दिए।

युवायुवतीहरू ठूलो आवाजको बाइकको दौडभागले राती निदाउन पाएका छैनौं। चक्कु र खुकुरीसहितको लडाइँ दिनहुँ देख्नपर्छ।

गत माघ पहिलो साता बुटवलकै ‘द कन्सेप्ट पब’मा रमाइलो गर्न पुगेका एक युवामाथि खुकुरी प्रहार भयो। दुई समूहको मुठभेड हुँदा घाइते भएका उनको टाउकोमा २० टाँका लगाउनुपर्यो। तर, उनी प्रहरीमा उजुरीका लागि गएनन्।

यी दुई प्रतिनिधि घटना हुन्। बुटवलका रात्री क्लबहरू पछिल्लो समय रिस साध्ने थलो बन्ने गरेका छन्। क्लब वरपरका स्थानीयहरू क्लबमा आउने ग्राहक र ‘डन समूह’को व्यवहारले आजित भइसके।

रातभर चल्ने क्लबले स्थानीयहरू सुत्न पाउँदैनन् भने विद्यार्थीको अध्ययनमा नकारात्मक प्रभाव परिरहेको छ। त्यसमाथि क्लब आउने युवायुवतीले अश्लील शब्दको वर्षा गरेर सुनिनसक्नु हुन्छ।

स्थानीयले समस्याबारे टोल विकास संस्थामार्फत सम्बन्धित क्लबहरूलाई जानकारी नगराएका पनि हैनन्। तर अहिलेसम्म समस्या ज्यूँका त्यूँ छ।

बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री सुरक्षा निकायले आवश्यक पहलकदमी नलिँदा गतिलो प्रबन्ध नभएकाले स्थानीयले दुःख पाएको बताउँछन्।

क्लबभित्र हुने हो–हल्ला बाहिर नआए पनि बाहिर निस्कँदा ग्राहकले गर्ने हो–हल्ला, समूह–समूहबीच हुने कुटपिट, बाइकका ठूला आवाज र अश्लील शब्दका कारण स्थानीयहरू आजित भएका छन्।

‘१५ देखि २५ वर्षको युवायुवतीहरू ठूलो आवाजको बाइकको दौडभागले राती निदाउन पाएका छैनौं,’ उनले भने, ‘चक्कु र खुकुरीसहितको लडाइँ दिनहुँ देख्नपर्छ।’

बुटवलमा लर्ड बुटवल, दारु क्लब, द कन्सेप्ट पब, हिमचुली रोधी साँझ, मिरमिरे दोहरी साँझजस्ता मुख्य ठूला रात्रीकालीन सेवा दिने रेष्टुरेन्टहरू छन्।

बुटवल–९ र ११ मा पर्ने कालिकापथ सडक बसपार्कदेखि होराइजन चोकसम्म पुष १८ गतेबाट रात्रीकालीन बजार सञ्चालनको लागि बुटवल उपमहानगरपालिकाले अनुमति दियो।

अनुमति पाएर रात्रीकालीन बजार सुरु गरे पनि मापदण्ड पालना नगर्दा घटना घटिरहेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका पूर्वअध्यक्ष एवं उपभोत्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले बताए।

‘रात्रीकालीन होटल सञ्चालन गर्ने निर्णय गरे पनि मापदण्डबारे अनुगमन हुन नसक्दा हो–हल्ला हुने, झगडा, कुटपिट हुने घटना घटिरहेको हुन्’, उनले भने।

डिस्को, डान्स रेस्टुरेन्ट एन्ड बार, लाइभ ब्यान्ड, पब, बार क्लबलगायतमा १८ वर्षभन्दा मुनिका बालबालिकाको प्रवेश निषेध गरेको छ। तर, यी कुनै पनि मापदण्ड व्यवसायीले पालना गरेका छैनन्।

जिसीले संघीय सरकार मातहतको जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच सहकार्य नभएसम्म रात्रीकालीन व्यवसाय मापदण्ड अनुसार चल्न नसक्ने बताए।

पर्यटक लक्षित रात्रीकालीन व्यवसाय सञ्चालन गरे पनि ग्राहक भने बुटवल, तिलोत्तमा, सैनामैना क्षेत्रका भएकाले रिस साँध्ने थलो नै क्लब बन्ने गरेको जिसीको भनाइ छ। उनले पुर्वाधारविना रात्रीकालीन व्यवसाय सञ्चालन सम्भव नरहेको समेत बताए।

‘प्रहरीले मोबाइल गस्ती गर्नुपर्छ’
क्लबभित्र हुने हो–हल्ला बाहिर नआए पनि बाहिर निस्कँदा ग्राहकले गर्ने हो–हल्ला, समूह–समूहबीच हुने कुटपिट, बाइकका ठूला आवाज र अश्लील शब्दका कारण स्थानीयहरू आजित भएका छन्। त्यसका लागि स्थानीयले प्रहरीको मोबाइल भ्यानको माग गरेका छन्।

‘बाहिर निस्कने बेला कम्तीमा प्रहरीको मोबाइल भ्यान सडकमा ओहोर–दोहोर भए हो–हल्ला कम हुन्थ्यो कि,’ स्थानीय हरि अर्यालले भने, ‘कुटपिट पनि हुन पाउँदैन। तर, प्रहरी देखै पर्दैन।’

प्रशासनले ‘रात्रीकालीन होटेल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड, २०७९’ तयार गरेको छ। रात्रीकालीन व्यवसाय सञ्चालन गर्दा सदाचार र नैतिकताको आधारभूत मूल्यमान्यता प्रतिकूल नहुने गरी सञ्चालन गर्नुपर्ने प्रशासनको शर्त छ।

यसका लागि प्रशासनले डिस्को, डान्स रेस्टुरेन्ट एन्ड बार, लाइभ ब्यान्ड, पब, बार क्लबलगायतमा १८ वर्षभन्दा मुनिका बालबालिकाको प्रवेश निषेध गरेको छ। तर, यी कुनै पनि मापदण्ड व्यवसायीले पालना गरेका छैनन्।

‘तोकिएको समयमा बन्द नगर्ने अनि प्रहरीलाई औँला तेर्स्याएर हुन्छ?’
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले स्रोत–साधनले भ्याएसम्म कालिकानगरको शान्ति सुरक्षालाई ख्याल राखेको बताए।

कालिकानगरको रात्रीकालीन बजारबारे अवगत रहेको भन्दै जनगुनासाका आधारमा राती गस्ती बढाइएको उनको भनाइ छ।

होटल समयमा बन्द नगर्ने, अनि प्रहरी पुग्दा होटल चलाउन प्रहरीले दिएन भनेर भन्ने परिपाटी छ।

‘क्लब के हो? दोहोरी साँझ के हो? भन्ने ग्राहकले बुझ्नुपर्छ। सामान्य हेरेकै भरमा किन हेरिस् भनेर झगडासमेत भएका छन्,’ उनले भने, ‘रात्रीकालीन बजार भन्ने तर सामाजिक परिवेश के भन्नेमा कसले ध्यान पुर्याउने?’

स्थानीयको गुनासोपछि दोहोरी राति ११ बजे र क्लबहरू १ बजे बन्द गर्ने गरिएको उनको भनाइ छ।

‘होटल समयमा बन्द नगर्ने, अनि प्रहरी पुग्दा होटल चलाउन प्रहरीले दिएन भनेर भन्ने परिपाटी छ,’ उनले थपे, ‘तर समाजलाई नकारात्मक प्रभाव पार्ने गतिविधि रोक्न व्यवसायीले भूमिका खेल्न जरुरी छ।’

साथै उनले कतिपय क्लबमा भएका घटनाबारे निवेदन दर्ता भएकोमा त्यसउपर अनुसन्धान गरी केहीलाई पक्राउसमेत गरिएको बताए।

१० चैत, २०७९, २०:०९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।