महानगरले १० वर्षका लागि भाडामा लियो काठमाडौं प्लाजा, यस्ता छन् शर्तहरू

महानगरले १० वर्षका लागि भाडामा लियो काठमाडौं प्लाजा, यस्ता छन् शर्तहरू

काठमाडौं : काठमाडौं प्लाजा बहालमा लिन काठमाडौं महानगरपालिकाले नेपाल ट्रष्टसँग सम्झौता गरेको छ।

बुधबार नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

हस्ताक्षरपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग तत्काल स्थानान्तरण गर्न निर्देशन दिए।

सेवा अवरोध नगरी आफ्नो जिम्मेवारीमा रहेका विभागहरूलाई सार्दै जाने योजना रहेको उनले बताए।

सम्झौता बमोजिम प्लाजामा झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका, भत्किएका संरचनाको महानगरले मर्मत गर्नेछ।

झ्याल, ढोका र लिफ्ट बनाउँदा लागेको खर्च महानगरले वहाल रकमबाट कटाउनेछ। यसबाहेकका अन्य मर्मत महानगर आफैँले गर्नेछ। बाहिरी संरचनामा कुनै हेरफेर गरिने छैन।

भवन महानगरले कार्यालय प्रयोजनमा ल्याउनेछ। भवन छोड्नु वा छोड्न लगाउनु परेमा १८० दिन अगावै जानकारी गराउनु पर्नेछ। बिजुली पानीलगायत सुविधाको बिल महानगरपालिकाले भुक्तानी गर्नेछ भने काबुवाहिरको परिस्थितिबाहेक अन्य टुटफुट महानगरले व्यहोर्नेछ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार भवनभित्र यसअघि सञ्चालनमा रहेका निरमाया दोहारी र राज घराना भने शिलबन्दी गरिएको छ। ट्रष्टसँगको वहाल लेनदेन नमिलेपछि शिलबन्दी गरिएका यी ठाउँ प्रयोगमा नआएसम्म महानगरले भाडा कटाउनेछ।

यो सम्झौता १० वर्षका लागि हो। ५ वर्षपछि १० प्रतिशतले वहाल वृद्धि हुनेछ।

करिब ५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको साततले भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २ सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्नेछ।

२०७२ को भूकम्पअघि महानगरको कार्यालय बागदरबारमा थियो। भूकम्पको कम्पनले भवन जीर्ण भएर कार्यालय सञ्चालनका लागि कमजोर भएपछि केही समय राष्ट्रिय सभा गृहबाट सेवा सञ्चालन गरियो।

त्यसपछि सुन्धारामा रहेको जेडिए कम्प्लेक्सबाट सेवा सञ्चालन भइरहेको छ। यस स्थानमा सबै विभाग नअट्टाएपछि विभागहरूलाई फरक फरक ठाउँमा राखिएका छन्।

छरिएर रहेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न महानगरले प्लाजा भाडामा लिएको हो।

९ चैत, २०७९, १२:२१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।