किन स्थगित भयो पोखराका ६ वटै क्याम्पसमा स्ववियुको निर्वाचन?

किन स्थगित भयो पोखराका ६ वटै क्याम्पसमा स्ववियुको निर्वाचन?

पोखरा : विद्यार्थी संगठनबीचको विवादले उग्र रुप लिएपछि पोखराका ६ वटै क्याम्पसमा स्ववियुको निर्वाचन रोकिएको छ।

विद्यार्थी संगठनहरुले मतदाता झुक्किने गरी डमी संगठन दर्ता गराएपछि संगठनबीचको विवादले उग्र रुप लिँदै अदालतसम्म पुगेकाले निर्वाचन स्थगित भएको हो।

डमी संगठन, निर्वाचन प्रक्रिया र विद्यार्थीका नामावली लगायतमा विद्यार्थी संगठनबीच विवाद चर्किएसँगै केही विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका थिए। साथै यसै विषयको मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन हुन सकेन।

पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस र विन्ध्यवासिनी संस्कृत विद्यापीठमा निर्वाचन स्थगित हुन पुगेको हो।

सबैभन्दा बढी विद्यार्थी रहेको पीएन क्याम्पसमा मतदाता झुक्किने गरी अनेरास्ववियु, नेविसंघ लगायतले स्वतन्त्र विद्यार्थी समूह बनाएर डमी संगठन दर्ता गराएका थिए।

यसपछि निर्वाचन अधिकृतको कार्यालयले नाम परिवर्तन गरिदिएको विषयमा विवाद बढेपछि उच्च अदालत पोखरामा रिट दर्ता भएको थियो।

विद्यार्थीहरूले निर्वाचन रोक्न माग गर्दै रिट दर्ता गरेपछि चैत्र २ गते स्ववियु निर्वाचनको काम कारबाही अगाडि नबढाउन उच्च अदालतले आदेश दिएको थियो।

त्यस्तै पोखरा नर्सिङ क्याम्पसमा उम्मेदवार सरकारी कर्मचारी भएको भन्दै मुद्दा दर्ता भएपछि अदालतले अन्तिम आदेश नआउँदासम्म निर्वाचनका कुनै गतिविधि नगर्न आदेश दिएकाले चुनाव रोकिएको हो।

अन्य क्याम्पसहरूमा विद्यार्थी संगठनबीचको विवादका कारण तालाबन्दी गरिएकाले आपसी समझदारी जुट्न नसक्दा आज हुने भनिएको निर्वाचन स्थगित भएको हो।

इन्जिनियरिङ अध्ययन संस्थानमा उम्मेदवारी दर्ता भएर प्रक्रिया अगाडि बढेपछि नेविसंघको एउटा पक्षले उम्मेदवारी दर्ता प्रति असन्तुष्ट जनाउँदै क्याम्पस प्रशासन तथा स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दीसहित अनसन सुरु गरेपछि निर्वाचन रोकिन पुगेको छ। 

विन्दावासिनी संस्कृत विद्यापीठमा पनि अनेरास्ववियु र अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनको निर्देशिकाको विषयमा आपत्ति जनाउँदै तालाबन्दी गरेकाले उम्मेदवारी दर्ता नै हुन सकेको थिएन। 

वन विज्ञान क्याम्पसमा पनि विद्यार्थी, नेविसंघ र अखिल क्रान्तिकारीको भर्ना सम्बन्धी विवादले उग्र रुप लिएसंगै तालाबन्दी गरेकाले स्ववियु निर्वाचनको प्रक्रिया नै अगाडि बड्न सकेन।

त्यस्तै निजी क्षेत्रको पोखरा क्षेत्रको ठूलो क्याम्पस जनप्रिय बहुमुखी क्याम्पसमा पनि गत फागुनमा  विद्यार्थीहरूले तालाबन्दी गरेपछि डाकिएको सर्वदलीय बैठकमा कुनै सहमति जुट्न नसकेपछि निर्वाचनको प्रक्रिया नै अगाडि बढ्न सकेन। 

यता क्याम्पसहरूमा तालाबन्दी गर्ने ३ वटा विद्यार्थी संगठनले भने क्याम्पस प्रशासनले नै चुनाव गराउन नचाहेको आरोप लगाएका छन्। अखिल (छैठौं)का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले निर्वाचन समिति राजीनामा दिएर निर्वाचन गराउनबाट भागेको आरोप लगाएका छन्। 

५ चैत, २०७९, १८:४४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।